- पाँच लाख २५ हजार जनसंख्या रहेको केप भार्डेले पूर्वविजेताहरू स्पेन र उरुग्वेलाई बराबरीमा रोक्दै २३औँ संस्करणको फिफा विश्वकपको नकआउट चरण बनायो बलियो सम्भावना
क्यारिबियन राष्ट्र केप भार्डेले २३औँ विश्वकप फुटबल प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको छ । केप भार्डेले लगातार दुई खेलमा पूर्वविजेताविरुद्ध अंक खोस्न सफल भएको छ । समूह ‘एच’को दोस्रो खेलमा केप भार्डेले दुईपटकको विजेता उरुग्वेलाई २–२ को बराबरीमा रोक्दै एक अंक बटुल्दै ऐतिहासिक प्रदर्शन गर्यो । नवप्रवेशी राष्ट्रले विश्वकप इतिहासमा पूर्वविजेताविरुद्ध लगातार खेलमा अंक बटुलेको यो नै पहिलो अवसर हो ।
विश्वकपकै डेब्यु खेलमा केप भार्डेलाई सन् २०१० को विजेतालाई गोलरहित बराबरीमा रोकेको थियो । ४० वर्षीय गोलरक्षक भोजिन्हाले स्पेनविरुद्ध सानदार प्रदर्शन गरेका थिए । उरुग्वेविरुद्ध उनको प्रदर्शन कम थिएन । यद्यपि, उरुग्वेले भोजिन्हाविरुद्ध दुई गोल गरेको थियो । समूह ‘एच’ मा दुई खेलबाट दुई अंक बटुलेको केप भार्डे नकआउट चरणमा पुग्ने सम्भावना बढेको हो । समूह चरणको अन्तिम खेलमा केप भार्डेले साउदी अरेबियाविरुद्ध खेल्नेछ । साउदी अरेबियाको एक अंक छ । यसै समूहमा स्पेनले उरुग्वेको सामना गर्नेछ । केप भार्डेले साउदी अरेबियालाई हराउँदा लगभग अन्तिम ३२ को स्थान पक्का हुनेछ ।
एकै समयमा हुने प्रतिस्पर्धामा स्पेन र उरुग्वेबिचको नतिजामा केप भार्डेको नकआउट चरण भविष्य निर्धारित हुनेछ । फिफा वरीयताको ६३औँ स्थानमा रहेको केप भार्डेले स्पेन र उरुग्वेविरुद्ध डिफेन्समा जबर्जस्त प्रदर्शन गरेको थियो । अनभुवी राष्ट्रविरुद्ध आत्मविश्वासका साथ अगाडि बढ्नु र काउन्टर एट्याक्ट विफल पार्नु अहिले क्यारिबियन टोलीको विशेषता बनेको छ । उरुग्वेसँगको खेलमा दुईपटक मात्र सट लगाउँदा केप भार्डेल गोल गर्न सफल भयो ।
एटलान्टा महासागरमा १० टापुले बनेको राष्ट्र केप भार्डेको जनसंख्या केवल ५ लाख २५ हजार रहेको छ । विश्वकपमा सहभागीमध्ये सबैभन्दा कम जनसंख्या भएको राष्ट्र भार्डे हो । गोलरक्षक भोजिन्हाले असाधारण प्रदर्शनका कारण उसको सोसल मिडियामा फलोअर्स बढी रहेको छ । उनको इन्स्टाग्राममा ४० हजारबाट १५ मिलियन फलोअर्स पुगेको बिबिसीले जनाएको छ ।
‘अहिले केप भार्डेका सबै खेलाडी विश्वकपमा हिरो बनेका छन् । स्टार खेलाडीविनाको राष्ट्रले फुटबलकै सबैभन्दा ठुलो मञ्चमा तहल्का मचाइरहेको छ,’ वेल्सका पूर्व डिफेन्डर आस्ली विलियम्सले भने, ‘उनीहरू फोनमा फलोअर्स हेर्नमा व्यस्त छन् ।’ उरुग्वेसँगको प्रतिस्पर्धामा धेरै खुसी लागेको छ, गोलरक्षक भोजिन्हा बने ।
अघिल्लो प्रतिस्पर्धामा भिसा प्रक्रियामा निश्चित रकम तिर्न नसक्दा उनले आफ्नी आमालाई विश्वकप खेल देखाउन सकेनन् । स्पेनसँगको खेललगत्तै उनले आर्थिक अभावका कारण आमालाई विश्वकप देखाउन नसकेको प्रतिक्रिया दिएका थिए । अमेरिकी प्रशासनले भोजिन्हाको भावनाको सम्मान गर्दै उनकी आमालाई निशुल्क भिसा उपलब्ध गरायो । भोजिन्हाकी आमा इबुले आइतबार बिहान छोराको खेल प्यारापिटमा बसेर उरुग्वेविरुद्ध खेल हेरिन् ।
केभिन पिनाले केप भार्डेका लागि विश्वकपकै पहिलो गोल ठोक्दा मियामी रंगशालामा ६४ हजार दर्शक खुसीले गदगद भएका थिए । खेलको ६१औँ मिनेटमा केप भार्डेका हेलो भारेलाले बराबरी गोल फर्काउँदा दुईपटकको विश्वकप विजेता उरुग्वेको केही सिप लागेन ।
सबैका मन जितिरहेको केप भार्डे
अन्तर्राष्ट्रिय मिडियाहरूले केप भार्डेको दुई खेललाई पछ्याएका छन् । समर्थकहरूले केप भार्डेका खेलाडीदेखि प्रत्येक गतिविधिलाई प्राथमिकतामा राखेका छन् । दुई खेलमा उनीहरूको प्रदर्शनपछि अन्तर्राष्ट्रिय मिडियासमेत केप भार्डेको प्रशंसक बनेको छ । ‘हामी सानो टापुको राष्ट्रले विश्वकप खेलिरहेको आनन्द लिइसकेका छौँ,’ बिबिसीले भनेको छ, ‘जुन प्रदर्शन वास्तवमा उनीहरूले पनि सोचेका थिएनन् ।’ यसैगरी, दक्षिण अफ्रिकाका पूर्वस्ट्राइकर म्याककाथीले नयाँ राष्ट्रको उदय भएको बताएका छन् ।
‘नयाँ शक्ति, शैली र जोशले भरिएको केप भार्डेको खेल नै फरक छ,’ वेल्सका पूर्वडिफेन्डर विलियम्सले भने, ‘यस्तो टोली अगाडि बढ्नुपर्छ ।’ स्पेन र उरुग्वेजस्तो फुटबलकै शक्तिशाली मानिने राष्ट्रलाई बराबरी रोक्नु चानचुने नभएको म्याककाथीले बताए । ‘स्पेन र उरुग्वेको खेल हेर्दा उनीहरू यो विश्वकपकै हिरो हुन्,’ उनले भने, ‘अझ उरुग्वसँग गोलले पछाडि रहँदा पनि हार मानेनन् । बराबरी गोल फर्काउँदै जितका लागि प्रयास गरिरहेका थिए ।’
आयोजक अमेरिकाले मियामी रंगशालाबाहिर फ्यान पार्क जोन बनाएको छ । त्यहाँ उपस्थित भएका हजारौँ दर्शक केप भार्डेकै पक्षमा थिए । ‘त्यो हुलमा कोही पनि भार्डेको विपक्षमा समर्थन गरेको हामीले पाउन सकेनौँ । लगभग उरुग्वेविरुद्ध ऐतिहासिक जित निकालिसकेको थियो,’ बिसिसीले जनाएको छ ।
साउदी अरेबियामाथि नजर
विश्वकपको २२औँ संस्करणको तथ्यांक हेर्दा ६० भन्दामाथि फिफा वरीयता प्राप्त दुई राष्ट्र नकआउट चरणमा पुगेका छन् । सन् १९९८ मा नाइजेरिया समूह चरणमा पुग्दा फिफा वरीयता ७४ थियो । सन् २०१८ को विश्वकप आयोजक राष्ट्रसमेत रहेको रुस नकआउट चरणमा पुगेको थियो । त्यसवेला रुसको वरीयता ७०औँ स्थान थियो । अहिले नाइजेरिया र रुसकै पथमा केप भार्डे अग्रसर देखिन्छ । समूह चरणको अन्तिम खेलमा केप भार्डेले साउदी अरेबियालाई हराउँदा त्यो इतिहास रच्न सक्छ । केप भार्डे अहिले ६३औँ स्थानमा छ । तेस्रो स्थानमा रहने उत्कृष्ट १२ बाट पनि अगाडि बढ्ने मौका छ । ‘मलाई विश्वास छ के भार्डेले नकआउट चरण स्थान बनाउनेछ,’ विलियम्सले भने, ‘शक्तिशाली राष्ट्रलाई बराबरीमा रोकेको राष्ट्रले साउदी अरेबियासँग सजक भएर खेल्नुपर्छ ।’