जीवनको जीवन्तता र खुसीका लागि योग

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

नेपाली संस्कृतिको आत्मा योग हो । यो हाम्रा ऋषिमुनिहरूको सर्वोत्कृष्ट जनकल्याणकारी खोज तथा विरासत पनि हो । योग हामी मानव समुदायका लागि सकारात्मक रूपान्तरणको एक ईश्वरीय शक्तिको संवाहक हो अनि व्याधिमुक्त र समाधियुक्त जीवनको संकल्पना पनि । योगमा हामी मानव जीवनको सुवास छ अनि सौन्दर्य र लालित्य पनि ।

स्वस्थ रहँदै सदा मुस्कुराऊ, निर्मल बन, अरूलाई सम्मान गर, सबैबाट सम्मान लेऊ, मान्यजन, दीनदुःखीको सेवा गरी सुख देऊ अनि आफूभित्र सुखप्राप्तिको बोध गर अनि सुखी, स्वस्थ र सदाचारयुक्त जीवन जिउने प्रण गर, यही नै हो योगको भित्री मर्म ।

धर्मको अनुष्ठान, अर्थोपार्जन, दिव्य कामना (शिवसंकल्प)बाट सन्तति उत्पत्ति तथा मोक्षको सिद्धि यी चार काम पूर्ण गर्न स्वस्थ हुन परम आवश्यक हुन्छ । भलै धन, वैभव, ऐश्वर्य, इष्ट, कुटुम्ब तथा नाम यश आदि सबै प्राप्त होऊन्, तर शरीरमा रक्तसञ्चार ठिक छैन, स्नायुमा दुर्बलता छ, अंगप्रत्यंग सुदृढ छैनन्, नकारात्मक चिन्तनबाट मनमा पीडा छ, मुटुका धमनीहरू अनियन्त्रित छन् अनि शरीर असन्तुलित छ भने हामी मुर्दासरह हुन्छौँ । यही शरीरलाई स्वस्थ एवं रोगमुक्त गराउनु छ, मन पवित्र र आत्मालाई निर्मल बनाउनु छ भने योग (विशेष गरी प्राणायाम)मा दृढतापूर्वक लाग्नु अपरिहार्य छ ।

योग मानव समुदायका लागि सकारात्मक रूपान्तरणको एक ईश्वरीय शक्तिको संवाहक अनि व्याधिमुक्त र समाधियुक्त जीवनको संकल्प पनि हो

पतञ्जली योगपीठ, हरिद्वार भारतका संस्थापक अध्यक्ष योगऋषि स्वामी रामदेवजी तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी २०६४ सालयता योगको मानव समुदायमा गुणकारी महत्व प्रवाह गर्ने क्रममा हाम्रो देशको राजधानी काठमाडौंलगायत अन्य स्थानमा योग प्रशिक्षण शिविर व्यापक रूपमा सञ्चालनमा आए । फलस्वरूप ऋषिमुनिहरूको तपोभूमि नेपालको राजधानी काठमाडौंदेखि सबै प्रदेश, जिल्ला, सहर, गाउँ, बस्ती, सार्वजनिकस्थल, चोक, नदी, किनार आदिमा योग अनुरागीहरूको घुइँचोसँगै सबै खुसीले हाँसेको देख्न पाइन्छ ।

किनभने योग अनुशीलनबाट हामी आफ्नो मनमा परम शान्ति, सन्तोष र सुखको अनुभव गरिरहेका हुन्छौँ । यसै तथ्यलाई आत्मसात् गर्दै स्वामी रामदेवजी तथा बालकृष्णजीबाट निर्धारित योगाभ्यास तालिकाअनुसार मन्त्रोच्चारण, योगिक जगिङ, सूर्य नमस्कार, व्यायाम, आसन, योग निद्रा, प्राणायाम र प्रणव ध्यान योग गरी ६२ प्रकारका क्रियालाई योगिक योग प्याकेजका रूपमा विश्वसमक्ष प्रस्तुत गरिएको छ । जसमा योग र व्यायामलाई सुन्दर तरिकाले संयोजन गरिएको छ ।

योगाभ्यास तालिकाअनुसार ६२ प्रकारका क्रियालाई अहिलेको व्यस्त परिवेशमा प्रायले दुई घण्टाभन्दा बढी समय दिन सक्दैनन्, अतः स्वस्थ शरीरको मूल अनि सुखी रहने, शान्त रहने, लोभ, पाप, मोह र अहंकारबाट मुक्ति पाइने विधिका रूपमा प्राणायाम योग (प्राणायामको नियन्त्रण)लाई प्राथमिकतामा राखिएको छ । किनभने मानवका जति पनि चेष्टा तथा प्रतिक्षण जीवनमृत्युको सम्बन्ध प्रत्यक्ष–परोक्ष रूपमा प्राणसँग सम्बन्धित हुन्छन् । अनि इन्द्रीयहरू एवं मनका दोष पनि प्राणायामका अभ्यासबाटै नष्ट हुन्छन् ।

कहाँ लुकेको छ सुख, आनन्द र ऐश्वर्य भनेर दौड्दादौड्दा हामीभित्रै सो भाव लुकेको छ, जुन पतञ्जली योगपीठ, हरिद्वारद्वारा प्रतिपादित प्राणायाम पक्ष– भस्त्रिका १० मिनेट, कपालभाति १५ मिनेट, बाह्य र उज्जायी पाँच–पाँचपटक, अनुलोम–विलोम १५ मिनेट, भ्रामरी ५–११ पटक, उद्गीथ र प्रणव (ध्यान सुरु) पाँच मिनेट गरी आठ प्रकारका प्राणयोग क्रियालाई प्रशिक्षणपछि भक्तिभावसाथ समर्पित भई जोडिनेले स्वस्थताको चामत्कारिक अनुभव लिन सक्नेछ । हाम्रो देश अहिले नयाँ परिवेशमा फड्को मार्ने क्रममा छ । यसै सिलसिलामा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, पारिवारिक मूल्य–मान्यता, संस्कार आदि हाम्रा धरोहरको रक्षाकवच भनेको योग नीतिमा चल्नु नै हो । जसअनुसार नागरिक सचेत हुँदै अनुशासित रूपमा अगाडि बढ्न सक्छन् ।

अतः हाम्रो देशमा पनि प्राथमिक शिक्षादेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा योग शिक्षा, सरकारी, गैरसरकारी संघसंस्थालगायत सबै निकायमा योग सन्देश प्रवाह गर्ने संयन्त्रको निर्माण गर्न वर्तमान नेपाल सरकारसँग विशेष अनुरोध छ । अन्त्यमा, आइतबार मनाइएको १२औँ अन्तर्राष्ट्रिय योग दिवसको पावन अवसरमा विभिन्न योगसँग सम्बन्धित उत्साहजनक कार्यक्रम चलिरहेको सन्दर्भमा हाम्रो देश नेपालमा पनि सबै प्रदेश, जिल्ला, पालिकादेखि वडास्तरसम्म योग शिविरहरू चलिरहेका छन् । ती शिविरमा लाखौँको सहभागिता छ । भविष्यमा थप जनसहभागिता वृद्धि हुन सके यस्ता शिविरको सफलता देखिनेछ । 

(महत पतञ्जली योग समिति नेपालका संरक्षक हुन्)

सुझावित समाचार