सन् १८२९ : बेलायतका गृहमन्त्री रोबर्ट पिलले औद्योगीकरणपछि फैलिरहेको लन्डन सहरमा बढेको अपराध नियन्त्रण गर्न संसद्मा प्रस्ताव गरेको महानगरीय प्रहरी विधेयक पारित भयो । यसले विश्वभर पहिलो आधुनिक नगर प्रहरीको जग बसायो ।
सन् १७४१ : रुसमा काम गरिरहेका गणितज्ञ लियोन्हार्ड युलरलाई प्रुसियाका राजा फ्रेडरिक द्वितीय स्वयंले प्रस्ताव गरेका ‘बर्लिन एकाडेमी’को पद सम्हाल्न सेन्ट पिटर्सबर्ग बर्लिनतर्फ हिँडे । बर्लिनको २५ वर्षे बसाइँमा युलरले गणित, भौतिकशास्त्र र खगोलशास्त्रमा ठुलो योगदान पुर्याए ।
सन् १७९० : तत्कालीन फ्रेन्च संसद् ‘नेसनल एसेम्ब्ली’ले कुलीन परिवारले स्वत पाउने मान, पद, पदवी सबै खारेज गर्यो, जुन कदम समाजमा बलियो जरा गाडेको उँचनिचको भावना हटाउन चालिएको थियो ।
सन् १९१३ : दक्षिण अफ्रिकाको रंगभेदी सरकारले त्यहाँका मूलवासीलाई देशका सात प्रतिशत जमिन छुट्याएको ‘नेटिभ्स ल्यान्ड एक्ट’ पारित गर्यो ।
सन् १९१९ : पहिलो विश्वयुद्धमा टर्कीको हारपछि मित्रशक्तिले मुलुकलाई विभाजित गर्ने योजानामा छलफल सुरु भएपछि मुस्तफा केमलको नेतृत्वमा अंकरामा राष्ट्रवादी भेला बस्यो । भेलाले मित्रशक्तिसँग वार्ता गरिरहेको कन्ट्यान्टी नोपल (हालको इस्तानबुल)स्थित शाही सरकारलाई अमान्य घोषणा गर्यो ।
सन् १९६१ : कुवेतले बेलायती शासनबाट स्वतन्त्रता हासिल गर्यो ।
सन् १९७६ : पृथ्वीबाहिर जीवनको अध्ययन गर्न अमेरिकाले प्रक्षेपण गरेको दश महिनापछि ‘भाइकिङ प्रथम’ अन्तरिक्षयान मंगल ग्रहको कक्षमा प्रवेश गर्यो ।
सन् २०१४ : पिता हुँवा कार्लोसले राजगद्दी त्यागेपछि फिलिप चतुर्थले स्पेनको राज्यारोहण गरे
सन् २०२२ : कोलम्बियामा आज भएको राष्ट्रपतीय निर्वाचनबाट पहिलोपटक वामपन्थी उम्मेदवारी गुस्ताभ पेट्रो निर्वाचित भए ।