- मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेसँगै जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले राखेको सर्वाधिक १६ गोलको रेकर्ड बराबरी गरेका छन्
अर्जेन्टिनी कप्तान लियोनल मेसीले २३औँ फिफा विश्वकपमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेसँगै जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले राखेको सर्वाधिक १६ गोलको रेकर्ड बराबरी गरेका छन् । क्लोजले सन् २०१४ को विश्वकपमा सो रेकर्ड राखेका थिए । मेसीले आफ्नो ६ विश्वकप यात्रा पूरा गर्दै क्लोजको रेकर्ड बराबरी गर्न सफल भए । मेसीलाई सो रेकर्ड तोड्ने अवसर पनि छ । तर, यी दुवै खेलाडीलाई फ्रान्सका कप्तान केलियन एम्बाप्पेले चुनौती दिइरहेका छन् । एम्बाप्पेले बुधबारै सेनेगलविरुद्धको खेलम दुई गोल गरेका थिए । यससँगै उनको नाममा पनि १४ गोल संख्या पुगेको छ । चालू विश्वकपमा मेसी र एम्बाप्पेबिच सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा पुग्ने होडबाजी चल्ने सम्भावना बढेको छ । समग्रमा विश्वकपमा धेरै गोल गर्ने खेलाडीहरू यस्ता छन्:
मिरोस्लाभ क्लोज, जर्मनी (१६ गोल)
जर्मनीका स्ट्राइकर क्लोजले चार संस्करणमा गरी १६ गोल गर्दा २४ खेल खेलेका थिए । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा उनले पाँच गोल गरेका थिए । त्यसपछि घरमै आयोजना भएको विश्वकपमा उनले पाँच गोल नै गरेका थिए । लगातार दुई विश्वकपमा समान पाँच गोल गरेका क्लोजले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा चार गोल गरे । उनले २०१४ मा दुई गोल थप्दै ब्राजिलका रोनाल्डोको १५ गोलको कीर्तिमान तोडेका थिए ।
लियोनल मेसी, अर्जेन्टिना (१६ गोल)
मेसी फुटबल इतिहासका सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् । छैटौँ विश्वकप खेलिरहेका मेसीका नाममा धेरै रेकर्ड छन् । लगातार ६ विश्वकप खेल्दै उनले कीर्तिमान राखेका छन् । मेसीले सन् २००६ को विश्वकपबाट आफ्नो यात्रा सुरु गरेका हुन् । डेब्यु विश्वकपमा उनले एक गोल गरे । ब्राजिलले सन् २०१४ मा आयोजना गरेको विश्वकपमा उनले गोल गरे । अर्जेन्टिना सो विश्वकपको फाइनलमा जर्मनीबाट पराजित भएको थियो । सन् २०१८ मा रसियामा भएको विश्वकपमा उनले एक मात्र गोल गरे । मेसीको उत्कृष्ट प्रदर्शन चार वर्षअघि कतारले आयोजना गरेको विश्वकपमा रह्यो । जहाँ उनले अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउँदा सात गोल गरेका थिए । चालू विश्वकपमा उनले एकै खेलमा तीन गोल गरिसकेका छन् । उनले विश्वकपमा २७ खेल खेलिसकेका छन् । उनले २०१० को संस्करणमा भने गोल गर्न सकेनन् ।
रोनाल्डो, ब्राजिल (१५ गोल)
सन् २००२ को विश्वकप जिताउन ब्राजिललाई मुख्य भूमिका निर्वाह गरेका रोनाल्डो आफ्नो समयकै सर्वोत्कृष्ट स्ट्राइकरमध्ये थिए । एसियामा पहिलो भएको विश्वकपमा उनले आठ गोल गरेका थिए । रोनाल्डोले चारपटक विश्वकप खेल्दै १९ खेलमा १५ गोल गरे । रोनाल्डोको नाममा सर्वाधिक १५ गोलको रेकर्ड १२ वर्षपछि क्लोजले तोडेका थिए । रोनाल्डो सन् १९९४ को विश्वकपमा ब्राजिलियन टोलीमा भए पनि उनले एक खेल पनि खेल्न पाएनन् । रोनाल्डोले १९९८ को विश्वकपमा चार गोल र जर्मनीमा २००६ को संस्करणमा तीन गोल गरेका थिए ।
गर्ड मुलर, पश्चिम जर्मनी (१४ गोल)
विश्वकपमा कम खेलमा धेरै गोल गर्ने खेलाडीमा पश्चिम जर्मनीका मुलर पर्छन् । उनले दुई विश्वकप यात्रामा १४ गोल गरेका थिए । यसक्रममा उनले १३ खेल खेलेका थिए । मुलरले सन् १९७० को मेक्सिको विश्वकपको एकै संस्करणमा १० गोल गरेका थिए । सन् १९७८ मा पश्चिम जर्मनीले नै आयोजना गरेको विश्वकपमा उनी चार गोल गर्न सफल भए ।
केलियन एम्बाप्पे, फ्रान्स (१४ गोल)
मेसी र क्रिस्टियानो रोनाल्डोपछि फ्रान्सका युवा कप्तान एम्बाप्पे उत्कृष्ट खेलाडी पर्छन् । केवल तीन विश्वकप सहभागितामै उनले १४ गोल गरेका छन् । विश्वकप इतिहासमा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी अग्रसर भइरहेका छन् । समग्रमा १५ खेल खेलेका उनले चालू विश्वकपमा दुई गोल गरेका छन् । उनी जारी विश्वकपको गोल्डेन बुटका दाबेदार पनि हुन् । उनले २०१८ विश्वकपमा चार गोल र कतारले आयोजना गरेको विश्वकपमा आठ गोल गरेका थिए ।
जस्ट फोन्टेन, फ्रान्स (१३ गोल)
विश्वकप इतिहासमै फोन्टेन यस्ता खेलाडी हुन्, जसको गोलऔसत प्रतिखेल दुईभन्दा पनि बढी छ । उनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकप खेलेका थिए । करिअरकै एक मात्र विश्वकप यात्रामा उनले रेकर्ड नै बनाए । उनले फ्रान्सका लागि त्यसवेला ६ खेल खेल्दै १३ गोल गरेका थिए । सर्वाधिक १३ गोल गर्दै प्रतियोगिताको गोल्डेन बुटको उपाधि उनले नै जिते ।
पेले, ब्राजिल (१२ गोल)
विश्व फुटबलले अहिलेसम्म पाएका सबभन्दा उत्कृष्ट खेलाडी पेलेलाई फुटबलको राजा उपनामले सम्मान गरिन्छ । उनकै प्रेरणामा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा गरी तीनपटक विश्वकप उपाधि उचालेको थियो । पेलेले विश्वकपका चार संस्करणमा गरी १४ खेल खेल्दा १२ गोल गरेका छन् । सन् १९५८ मा पहिलोपटक विश्वकप खेल्दा उनले ६ गोल गरेका थिए । १९६२ र १९६६ मा समान एक गोल गरेका उनले १९७० मा चार गोल गरेका थिए ।
जर्गेन क्लिन्सम्यान, जर्मनी (११ गोल)
तत्काल पश्चिम जर्मनीका पूर्वकप्तान क्लिन्सम्यानले तीनपटक विश्वकप खेल्दा १७ खेल खेलेका थिए । त्यसक्रममा उनले ११ गोल आफ्नो नाममा लेखाए । सन् १९९० को विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध उनले नै निर्णायक गोल गरेका थिए । सन् १९९० को विश्वकपमा उनले तीन गोल गरे । त्यसपछि सन् १९९४ मा क्लिन्सम्यानले पाँच गोल गरेका थिए । आफ्नो अन्तिम विश्वकपका रूपमा उनले फ्रान्सले आयोजना गरेको १९९८ को विश्वकपमा तीन गोल गरेका थिए ।