विश्वभरि फुटबल मन नपराउने विरलै भेटिन्छन् । फुटबल नम्बर एक खेल हो । यसलाई पछ्याउने संख्या अर्बौँमा छ । अहिले अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा २३औँ संस्करणको विश्वकप आयोजना गरिरहेका छन् । ४८ राष्ट्र सहभागी विश्वकपमा आ–आफ्नो टोलीलाई हौस्याउन मैदानमा छन् । तीनवटै आयोजक राष्ट्रमा समूह चरणका खेल भइरहेका छन् । विश्वकप अहिले जहाँ भइरहेको छ, त्यहाँका समर्थकले फुटबललाई ‘सकर’ भन्छन् । क्यानडा र अमेरिकाका समर्थकले फुटबललाई ‘सकर’ भन्छन् । फरक नाम दिइए पनि आखिरमा फुटबल औधि मन पराउँछन् ।
अमेरिकाको मिसिगन विश्वविद्यालयका प्रोफेसर स्टेफन स्जमास्कीले सानै छँदा फुटबललाई सकर नै भनेर सुनेको बताएका छन् । ‘सानोमा म इंग्ल्यान्डमा थिएँ । त्यसवेला फुटबललाई सकर भनेको सुनेको थिएँ । किन सकर भनिएको भनी प्रश्न गर्थेँ,’ प्रोफेसर स्टेफनले बिबिसीलाई भने । उनका अनुसार सन् १९६० र ७० को दशकमा फुटबल र सकर शब्दमा वार नै चलेको थियो । ‘त्यसवेला कसैले यसलाई फुटबल भन्थे र कोही सकर भन्थे,’ उनले भने, ‘इंग्ल्यान्डबाट अमेरिकामा आउँदा पनि यस्तै समस्या भयो । यहाँ फुटबललाई सकर भनेको पाएँ ।’
प्रोफेसर स्टेफनले सकर शब्द अमेरिकनले बनाएको दाबी गर्दै आएका छन् । तर, यसको धरातल खोज्दै जाँदा यसको विकास क्रम इंग्ल्यान्डसम्म पुग्नुपर्छ । ‘वास्तविकता सकर शब्दको उत्पत्ति इंग्ल्यान्डमै भएको हो,’ उनले भने । १९औँ शताब्दीमा इंग्ल्यान्डका महँगो विद्यालय तथा विश्वविद्यालयले कुराकानी गर्न सहज बनाउन शब्दहरू छोट्याउने सुरु गरेका थिए । उनीहरू शब्दको अन्त्यमा ‘इआर’ थपेर नयाँ शब्दहरू विकास गरेको स्टेफानले बताए । इन्साइक्लोपेडिया ब्रिटानियामा एसोसिएसन फुटबलको नियमअनुसार हुने प्रतिस्पर्धालाई एसोसिएसन फुटबल उल्लेख रहेको जोन कनिघमले बताएका छन् ।
‘यसको प्रत्यक्ष असर रग्वीमा देखियो । सुरुमा फुटबल वा रग्वी के भन्ने चासो हुन्थ्यो । जब नियमअनुसार प्रतिस्पर्धा खेलको वर्गीकरण भयो त्यसवेला फुटबल र रग्वी फरक खेल भन्ने हामीले थाहा पायौँ,’ स्टेफनको भनाइ छ ।
बेकर, रुगर र सकर
सन् १८८५ को अन्त्यतिर युरोपमा ‘रग्बी’लाई ‘रगर’ भनिन्थ्यो । ‘एसोसिएसन’ शब्दको बिचको खण्ड ‘सक’ लिएर ‘इआर’ जोड्दा ‘सकर’ शब्द बनेको अर्थशास्त्री जोन मान्छन् । उनका अनुसार यसको पहिलो प्रयोग अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीले गरेका थिए । यस शब्द अक्सफोर्डबाहेक अन्य कहाँबाट सुरु भएको इतिहास छैन ।
खेल इतिहासकार एन्डी मिचेलले १८८५ तिर इंग्ल्यान्डका विद्यालयका पत्रिकाहरूमा ‘सकर’ शब्द प्रयोग भएको प्रमाण प्रस्तुत गरेका छन् । बिस्तारै यो शब्द अन्य देशमा फैलिँदै गयो । विशेषतः इंग्ल्यान्डले उपनिवेश बनाइएका राष्ट्रमा सकर शब्द फैलिएको इतिहासकार एन्डीले बताए । अहिले अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा तथा अमेरिकामा ‘सकर’ शब्द प्रयोग हुन्छ ।
रमाइलो पक्ष के छ भने अमेरिकामा अमेरिकन फुटबल भनेको अर्कै खेल हो । यहाँ सकर भनेपछि मात्र विश्वको नम्बर एक खेल फुटबल भनी चिन्छन् । ‘सन् १८८० र १८९० को समयमा विश्व विद्यालयमा शब्द छोटकरी गर्ने चलन थियो । शब्द छनोट सहज बनाउन यस्तो प्रयोग भएको प्रमाणहरू छन्, उनीहरूले प्रत्येक शब्दको अन्त्यमा इआर थप्ने,’ स्टेफनले भने, ‘जस्तो ब्रेकफास्ट शब्दको अन्तिममा इआर थपेर बेकर बनाए । यसैगरी रग्वीमा यस्तो भएको देखिन्छ । रग्वी शब्दलाई रुगेर भनियो,’ उनले भने, ‘यही क्रममा सक शब्दमा इआर थपेर सकर शब्द बनेको हो ।’ धेरैजसोले यो शब्द अक्सफोर्ड शब्दकोशबाट आएको भन्ने गरेका छन् ।
इंग्ल्यान्डबाट सुरु सकर
अहिले अमेरिका र क्यानडामा फुटबललाई सकर शब्द प्रयोग गरे पनि यसको सर्वाधिक प्रयोग कुनै समयमा इंग्ल्यान्डमा चलेको थियो । सन् १९८० तिर इंग्ल्यान्डमा सकर सामान्य शब्दजस्तै भइसकेको थियो । अनुसन्धानकर्ता मारिया वेनेकले सन् १९८० को दशकमा इंग्ल्यान्ड सकर शब्द प्रयोग भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । यसकारण अहिले इंग्ल्यान्डका समर्थक सकर शब्दप्रति संवेदनशील देखिएका हुन् । ‘यो एउटा अंग्रेजी शब्द हो, पछि अमेरिकनले यसको प्रयोग धेरै गरे । उनीहरूले फुटबल र सकरलाई फरक खेलका रूपमा लिएका छन्,’ वेनेकले भने ।