नेपाल ल क्याम्पसकी उपप्राध्यापक डा. विष्णु बस्याललाई ३ प्रश्न

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

हाम्रो समाजमा घरेलु हिंसा बढिरहेको देखिनुमा के कारण हुन सक्छ ?
ठाउँ र समयअनुसार घरेलु हिंसाका स्वरूप फरक–फरक देखिन्छन् । प्रायः पतिपत्नीबिचको हिंसामा विवाहेत्तर सम्बन्ध मुख्य कारण देखिन्छ । अन्य सम्बन्धबिचको हिंसामा सम्पत्ति पनि कारण बन्ने गरेको पाइन्छ । हाम्रो पारिवारिक कानुनमा मेलमिलापलाई प्राथमिकता दिइएको हुनाले प्रहरीदेखि अदालतसम्म जहाँजहाँ पुगे पनि प्रायः सम्बन्ध बचाउन मेलमिलापमा जोड दिने गरिन्छ । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्ने त उखानै छ ।

विगतमा आत्मनिर्भरताको स्थिति कमजोर हुँदा हिंसा सहने प्रवृत्ति बढी थियो । तर, अहिले दुवैजना आत्मनिर्भर हुने, कामकाजमा व्यस्त हुनेजस्ता अवस्थाले गर्दा किन सहने भन्ने इगोले पनि हिंसालाई प्रश्रय दिएको देखिन्छ । समग्रमा हेर्दा घरेलु हिंसा शक्तिको खेल पनि हो । परिवारमा पुरुष या महिला जो आर्थिक–सामाजिक हैसियतमा शक्तिशाली देखिन्छ, उसले अर्कोमाथि हिंसा थोपर्ने प्रवृत्ति पनि देखिन्छ । 

घरेलु हिंसाले घरपरिवार र समाजमा कस्ता प्रभाव पर्छन् ? 
समाजमा यसका बहुआयामिक प्रभाव देखिन्छन् । घरपरिवार विखण्डित हुने, बालबालिका बाबु या आमाबाट अलग हुनेजस्ता प्रभाव देखिन्छन् । पहिलेपहिले व्यक्तिगतभन्दा पनि सामूहिक सोचबाट व्यक्ति बढी ‘गाइडेड’ देखिन्थे भने अहिले सामूहिक सोचभन्दा व्यक्तिगत हित या स्वार्थ हाबी भइरहेको देखिन्छ । परिवार जोगाऊँ भन्ने प्रवृत्ति कमजोर हुँदै गएको छ । 

घरेलु हिंसा न्यूनीकरणका उपाय के–के हुन सक्छन् ?
हाम्रो समाजमा पारिवारिक र नैतिक शिक्षाको अभाव छ । प्रत्येक व्यक्तिलाई सानैदेखि पारिवारिक र नैतिक शिक्षा दिने हो भने यस्ता समस्या न्यूनीकरणमा मद्दत पुग्न सक्छ । साथै, पीडितलाई मात्र होइन, पीडकलाई पनि एकसाथ राखेर सचेतनामूलक कार्यक्रम चलाउनुपर्छ । मुलुकी देवानीसंहिता २०७५ मा परिवारका प्रत्येक व्यक्तिको दायित्वबारे प्रस्ट तोकिएको छ । त्यसलाई सबैले व्यवहारमै आ–आफ्नो घरभित्र कार्यान्वयन गर्नुपर्छ । 

सुझावित समाचार