विश्वकपको नयाँ टोली कुराकाओले आइतबार चारपटकको च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप २०२६ को आभियान सुरु गर्दै छ । अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो जित निकाल्न चाहन्छ । यदि जर्मनीविरुद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ । यता, पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठुलो ‘अपसेट’बाट बच्ने कोसिसमा हुनेछ ।
पछिल्ला दुई संस्करण जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । यद्यपि, जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ । पछिल्ला नौ खेलमा जर्मनीले विपक्षीलाई हराएको छ । यसै वर्ष भएका चार मैत्रीपूर्ण खेलमा जर्मनीले स्विट्जरल्यान्ड, घाना, फिनल्यान्ड र सहआयोजक अमेरिकालाई हराएको थियो । जर्मनीले कुराकाओपछि आइभोरिकोस्ट र इक्वेडरसँग खेल्नेछ । कुराकाओसँग जर्मनीलाई जितबाहेक अन्य विकल्प छैन । बराबरीको नतिजाले पनि टोली आलोचनाको सिकार बन्नेछ ।
यता, समूह ‘इ’को प्रतिस्पर्धामा पहिलो विश्वकप अनुभव लिइरहेको कुराकाओ ऐतिहासिक नतिजाको लक्ष्यमा हुनेछ । कुराकाओ भने विनादबाब मैदानमा प्रस्तुत हुनेछ । गत नोभेम्बरमा कुराकाओले कन्काकाफ छनोट प्रतियोगिताअन्तर्गत पहिलो र दोस्रो चरण दुवैमा शीर्ष स्थानमा रहँदै पहिलोपटक विश्वकपमा स्थान बनाएको थियो । डिक एडभोकाटको नेतृत्वमा रहेको कुराकाओले यो यात्रामा एक खेल पनि हारेन । त्यसैले कुराकाओ जर्मनीसँग डराइहाल्नुपर्ने टोली होइन ।
विश्वकपअघिको वार्मअप खेलमा कुराकाओले स्कटल्यान्डसँग ४–१ को हार व्यहोर्यो । तर, अन्तिम मैत्रीपूर्ण खेलमा टोलीले अरुबालाई ४–० ले हरायो । फिफा वरीयतामा ८२औँ स्थानमा रहेको कुराकाओका लागि जर्मनीविरुद्ध एक अंक खोस्नु पनि जित्नुसरह नै हो ।
प्लेयर्स टु वाच
काई हाभार्ट (जर्मनी)
च्याम्पियन्स लिग फाइनलमा गोल गरेका आर्सनलका फरवार्ड काई हाभार्टले जर्मनको अग्रपंक्ति सम्हाल्नेछन् । २७ वर्षीय ह्याभर्ट्जले राष्ट्रिय टोलीमा कुल २२ गोल गरेका छन् । हाभार्टकै महत्वपूर्ण प्रदर्शनमा आर्सनलले दुई महत्वपूर्ण फाइनल खेल्यो । दुई दशकपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको थियो । यद्यपि, च्याम्पियन्स लिगको फाइनलमा भने पेरिस सेन्ट जर्मेनसँग चुक्नपुग्यो । हाभार्ट{ले सन् २०१८ देखि जर्मनीको टिमबाट खेल्दै ५० भन्दा माथि खेल खेलिसकेका छन् ।
लियान्ड्रो बाकुना (कुराकाओ)
एस्टन भिल्लाका पूर्वमिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानी जिम्मेवारी सम्हाल्दै छन् । ३४ वर्षीय लियान्ड्रोलाई उनका भाइ जुनिन्हो बाकुनाले मिडफिल्डमा साथ दिनेछन् । बाकुनासँग राइट ब्याकमा खेल्न सक्ने क्षमतासमेत छ । उनले प्रिमियर लिगमा एस्टन भिल्लासँगै कार्डिफ सिटी र वाट्फोर्डबाट खेल्दै राम्रो अनुभव बटुलेका छन् । सन् २०१६ देखि कुराकाओका लागि खेल्दै आएका बाकुनाले ७२ खेलमा १६ गोल गरेका छन् । जर्मनीसँग पनि टिमले उनीबाट धेरै ठुलो आशा गरेको छ ।