कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई ३ प्रश्न

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

क्रियाशील सदस्यता अद्यावधिकको क्रम कहाँ पुग्यो ?
संख्यात्मक रूपमा हेर्दा निकै उत्साहजनक र उपलब्धिपूर्ण देखिएको छ । बिहीबार राति १२ बजेभित्र सदस्यता अद्यावधिक गर्न पाइन्छ । त्यसैले, शुक्रवार बिहान केन्द्रीय कार्यसमिति बैठक बसेर मात्र यसको आधिकारिक संख्या सार्वजनिक गरिनेछ । अहिले सर्सर्ती हेर्दा पुरानो सदस्यता अद्यावधिककै हाराहारीमा साथीहरूले उत्साहसाथ अद्यावधिक गराउनुभएको छ । 

क्रियाशील सदस्यता अद्यावधिक नगर्नेले महाधिवेशनमा सहभागी हुन नपाउने नै हो त ?
त्यो त स्वाभाविकै भयो । नवीकरण गरिसकेका सदस्यका हकमा उहाँहरूको विवरण पार्टीको ‘सिस्टम’मा त रहिरहने नै भयो । तर, महाधिवेशनका प्रक्रियामा सहभागी हुन अहिले अद्यावधिक गरेपछि एनसिआइडी नम्बर आउँछ । त्यसैका आधारमा महाधिवेशनका सम्पूर्ण प्रक्रियामा सहभागी हुन पाइन्छ । पार्टी विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले गरेको निर्णय सम्पूर्ण पार्टी सदस्यले मान्नैपर्छ । विधानभन्दा माथि कोही पनि हुन सक्दैन । 

यस्तो विवादले कांग्रेसलाई थप कमजोर बनाउँदैन र ?
एउटा जीवन्त पार्टीभित्र आन्तरिक विवाद हुनु, समूहहरू बन्नु अनौठो होइन । पार्टी निर्णय कसैलाई मन पर्न सक्छ, कसैलाई मन नपर्न पनि सक्छ । हामी अहिले जे गरिरहेका छौँ, त्यो सबै १५औँ महाधिवेशनको गृहकार्य हो । आगामी महाधिवेशन सफल पार्न यी प्रक्रिया समयमै टुंग्याउँदै लानुको विकल्प छैन । विगतमा अदालतको निर्णय मान्छौँ भनिसकेपछि अहिले अदालतको निर्णय आइसकेको अवस्थामा अर्घेल्याइँ गरेर हुँदैन । वैधानिक कार्य समितिले गरेका निर्णयमा अर्घेल्याइँ गर्ने छुट कसैलाई छैन । आफूले आफ्नो सदस्यता अद्यावधिक नगर्न पाइन्छ, तर अरूलाई नगर भनेर भड्काउन पाइन्न । यस्ता सानातिना विवादले पार्टी नै कमजोर हुने भन्ने हुँदैन । वेलावेलामा यस्ता विवाद उठिरहन्छन्, तर समयक्रमसँगै ती सल्टिँदै पनि जान्छन् ।

सुझावित समाचार