सन् १९६४ : रंगभेद शासनविरुद्ध संघर्षरत दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला र अन्य सातजनालाई आजीवन कारावासको सजाय दिइयो । उनको कारावासले रंगभेदविरुद्धको संघर्षप्रति विश्वव्यापी ध्यान तान्यो ।
सन् १७०१ : ‘एक्ट अफ सेटलमेन्ट’ले शाही अनुमोदन पाएसँगै बेलायतको राजगद्दीका उत्तराधिकारी प्रोटेस्टेन्ट धर्मावलम्बी मात्र हुन पाउने नियम लागू भयो ।
सन् १७७० : कपडा बुन्ने कार्यलाई क्रान्तिकारी परिवर्तन गर्ने ‘स्पिनिङ जेनी’ नामक उपकरणका लागि अंग्रेज आविष्कार जेम्स हारग्रिम्सले प्याटेन्ट पाए ।
सन् १८९७ : तत्कालीन ब्रिटिस इन्डियाको हिस्सा रहेको असममा ८.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प आयो । भूकम्पको तीव्रता उच्च भए पनि तुलनात्मक न्यून मानवीय क्षति भएको प्रकोपमा १५४२ को ज्यान गएको थियो ।
सन् १८९८ : जनरल एमिलियो एगुनाल्डो तथा फिलिपिनो क्रान्तिकारी फौजले औपचिारिक रूपमा स्पेनको औपनिवेशिक शासनबाट स्वतन्त्र गर्यो । अमेरिका–स्पेनबिच विश्वव्यापी रूपमा युद्ध चलिरहँदा भएको घोषणाले तीन सय वर्षको स्पेनिस शासन अन्त्य गर्यो र अमेरिकी शासनको जग बसाल्यो ।
सन् १९०१ : अमेरिकी सेना नफर्किने देखेपछि क्युबाले अमेरिकाले प्रस्ताव गरेको ‘प्ल्याट संशोधन’ स्विकार्दै अमेरिकी संरक्षित राज्य बन्न सहमति जनायो ।
सन् १९३७ : स्टालिनले पार्टीभित्रका विरोधी नेताविरुद्ध सञ्चालन गरेको ‘मस्को ट्रायल (सुनुवाइ)’का क्रममा यो दिन आठजना जनरललाई मृत्युदण्ड सुनाइयो ।
सन् १९९१ : सोभियत संघको सबैभन्दा ठुलो हिस्सा ‘रुसी सोभियत संघीय समाजवादी गणतन्त्र’मा पहिलोपटक सर्वदलीय राष्ट्रपतीय चुनाव भयो । चुनावमा कम्युनिस्ट उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बोरिस एल्तसिन राष्ट्रपति बने ।
सन् २०१८ : उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सिंगापुरको क्यापेला होटेलमा भेटवार्ता भयो । यो कुनै पनि उत्तर कोरियाली नेता र सत्तासीन अमेरिकी राष्ट्रपतिबिचको पहिलो भेटवार्ता थियो ।