- मानिस धनी अहंकारीलाई त सहन सक्छन्, तर पैसा नभएका अहंकारीलाई कसैले मन पराउँदैनन्
‘कुरूप भारतीय (पर्यटक)’बारे छलफल गर्नुअघि थोरै इतिहासतर्फ फर्कौं । सन् १९५० को दशकमा ‘कुरूप’ शब्द अमेरिकी पर्यटकका लागि प्रयोग गरिन्थ्यो । देशबाहिर घुम्न निस्किएका अमेरिकीको छवि अहंकारी, धनको प्रदर्शन गर्ने र भ्रमणमा गएका देशका मानिसलाई नराम्रो व्यवहार गर्ने भन्ने बनेको थियो ।
पछि, अरू देशका मानिसले पनि यस्तै आलोचनाको सामना गर्नुपर्यो । जस्तो, सन् १९७० को दशकमा एसियाको यात्रा गर्ने ‘अस्ट्रेलियाली’ले आफैँलाई विशेष सम्झिने र नश्लवादी व्यवहार गर्ने आरोप सामना गर्न थाले । तथापि, पछि ‘ह्वाइट अस्ट्रेलिया’ नीति अन्त्य भई बहुसांस्कृतिक देश बनेपछि नश्लवादी छवि बदलिँदै गयो । युरोपमा पनि, केही देशको छवि राम्रो थिएन । उदाहरणका लागि, ‘ब्रिटिस फ्यान’को उपद्रवी व्यवहारले गर्दा अन्य देश ब्रिटिस फ्यान सहभागी हुन सक्ने खेल आयोजना गर्न डराउन थाले ।
त्यस्तै गत दशक चिनियाँ पर्यटकको ‘अभद्र’ व्यवहारले एसियाका विभिन्न भागमा चिनियाँविरोधी भावना नै बढ्न गयो । निश्चित रूपमा कुनै देशका सबै नागरिकलाई एउटै धारणामा बाँध्ने शैली पूर्ण रूपमा सही होइन । तथापि, ती देशका केही नागरिकका व्यवहारले त्यस्तो छवि बन्न पुगेको भने सत्य हो ।
कैयौँ देशले विदेशी भूमिमा बिग्रिएको आफ्नो छवि सुधारेका पनि छन् । सन् १९६० र १९७० को दशकको ‘काउन्टर–कल्चर’ लहरसँगै स्थानीय संवेदनशीलताप्रति सम्मान गर्ने नयाँ अमेरिकी पर्यटकको जन्म भयो । बेलायत आफैँले आफ्ना झगडालु फुटबल ‘फ्यान’माथि कारबाही गर्न थालेपछि तिनको छवि केही सुध्रियो । त्यसैले, देशको छवि परिवर्तन हुन सक्छ । यसैले, हालैका वर्षमा विश्वव्यापी रूपमा देखा परेको भारतीहरूको ‘कुरूप’ नयाँ छविमा पनि परिवर्तन आउन सक्छ । ‘कुरूप भारतीय’को छवि ‘कुरूप अमेरिकी’ वा अन्य सम्पन्न देशका पर्यटकको बद्नामीभन्दा केही भिन्न छ । भारतीय पर्यटकको बद्नामी मुख्यतः असभ्य, कन्जुस र अन्य देशको सभ्य मापदण्ड ख्याल नगर्ने नागरिकका रूपमा हेर्न थालिएको छ । जस्तो– कन्जुसको हकमा भारतीय पर्यटक दुईजनाका लागि होटेलको कोठा ‘बुक’ गर्छन् र दुई कोठामा सातजना बस्छन् भन्ने आरोप छ । त्यस्तै, रेस्टुराँभित्र पसेर आफैँले बोकेर हिँडेको खाना खान्छन् । अझ पकाउने भाँडासमेत लिएर हिँड्छन् र कुनै खुला स्थानमा पकाएर खान्छन् भन्ने आरोप पनि छ । र, आफूले गरेको फोहोर नउठाउने भारतीयमाथिको अर्को आरोप हो ।
त्यस्तै भारतीयमाथि लाइनमा कुर्न नसक्ने र बिचमा नबस्ने, अरू शान्त रहेको रेलयात्रामा चर्को आवाजमा लामो भिडियो कल गर्ने आरोप पनि छन् । भारतीय अभिभावकले आफूसँग यात्रामा रहेका बालबच्चाले हल्ला र चकचक गर्दा चुप लगाउन खोज्दैनन् भन्ने पनि आरोप छ । गत साता भारतीय सामाजिक सञ्जालमै विदेश घुम्न गएका भारतीयले विमानस्थलको धावनमार्गमै ‘गर्वा नाच’ गरेको भिडियो भाइरल भएको थियो । त्यसपछि कतिपय भारतीयले नै आफ्ना देशवासीले विदेशमा लज्जित महसुस गराउने कुराको विरोध गरे । आखिर यस्तो अवस्था कसरी आयो ?
गत एक दशकको अवधिमा भारतीयहरूले आफैँप्रति अतिरञ्जित धारणा राख्न थालेको सत्य हो । धेरै भारतीयलाई आफ्नो देश विश्वव्यापी महाशक्ति बनिसक्यो भन्ने लाग्छ । यही गलत सोचका कारण विदेशमा रहँदा जे चाह्यो, त्यो गर्न सक्छौँ भन्ने अहंकार बढेको छ । जबकि, यथार्थ भने भारत अहिले एउटा संघर्षरत अर्थतन्त्र हो र आमभारतीयले हरेक साता अवमूल्यन भइरहेको मुद्राका कारण कठिनाइ भोगिरहेका छन् । त्यसकारण, भारतीयको एक हिस्साले केही वर्षपहिले हासिल गरेको विदेशमा बिदा मनाउने आर्थिक क्षमता गुमाउँदै गएका छन् ।
अहिलेसम्म हामी भारतीयले विदेश भ्रमण त गरिरहेका छौँ, तर खर्च बचाउन विभिन्न चतुर्याइँको सहारा लिन थालेका छौँ । भ्रमणमा निस्कने हामी भारतीयले खर्च घटाउन बाटामा आफूलाई चाहिने आवश्यक सामग्री बढाएर हिँड्न थालेका छौँ । त्यस्तै, विदेशमा सामान किन्नैपरे बढीभन्दा बढी छुटका लागि ‘बार्गेनिङ’ गर्न थालेका छौँ ।
सन् १९५० को दशकमा अमेरिकीको छवि अहंकारी हुँदा उनीहरू आफू घुम्न गएका देशका नागरिकको संवेदनशीलतालाई बेवास्ता गर्थे भनिन्थ्यो । उनीहरू धनी थिए र त्यसैको अहंकार देखाउँछन् भनिन्थ्यो । तर, भारतीय यात्रीमध्ये धेरै त्यसवेलाका अमेरिकीजत्ति सम्पन्न छैनौँ, तर अहंकारी भने उत्तिकै छौँ । त्यसैले हिजोआज भारतीयहरू संसारमै सबैभन्दा कम रुचाइने पर्यटक बनेका छौँ । मानिसहरू धनी अहंकारीलाई सहन सक्छन्, तर कम पैसा भएका अहंकारीलाई कसैले मन पराउँदैन ।
द प्रिन्टबाट
(छापा र टेलिभिजन पत्रकार संघवी टक सो पनि चलाउँछन्)