सन् १९४४ : पश्चिम युरोपलाई नाजी नियन्त्रणबाट मुक्त गर्ने उद्देश्यका साथ मित्रशक्तिको डेढ लाख फौजले समुद्रतर्फबाट फ्रान्सको नोरम्यान्डीमा सफल अवतरण गर्यो । समुद्रीबाट भूमिमाथि भएको इतिहासकै ठुलो यस सैन्य अभियानपछि नाजी फौज पछि हट्दै अन्तत पराजित भयो ।
सन् १६७४ : छत्रपति शिवाजी महाराजले रायगढ किल्लामा मराठा साम्राज्यको राजाको रूपमा राज्याभिषेक गरे ।
सन् १९१२ : २०औँ शताब्दीको सबैभन्दा ठुलो मानिने ज्वालामुखी यसै दिन अलास्का राज्यमा नोभारुप्तामा विस्फोट भएको थियो ।
सन् १९१६ : चीनका पहिलो राष्ट्रपति युआन सिकाईको निधन भयो । उनको निधनपछि केन्द्र सरकार कमजोर भयो भने देश कैयौँ युद्ध सरदारबिच विभाजित भयो ।
सन् १९६१ : आधुनिक मनोविज्ञानका संस्थापकमध्ये एक स्विस मनोवैज्ञानिक कार्ल जुङको निधन भयो ।
सन् १९६७ : ‘६ दिने युद्ध’को दोस्रो दिन इजरायली फौजले गाजा कब्जामा लियो । सन् १९४८ को अरब–इजरायल युद्धदेखि इजिप्टको नियन्त्रणमा रहेको यसपछि इजरायली निगरानीमा पर्यो ।