रोयल च्यालेन्जर्स बेंग्लोर (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि रक्षा गरेको छ । १९औँ आइपिएलको आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै आरसिबीले लगातार दोस्रोपटक उपाधि हात पारेको हो । अहमदाबाद रंगशालामा पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनाएको थियो । प्रत्युत्तरमा आरसिबीले १८ ओभरमा पाँच विकेटको क्षतिमा आवश्यक रन जोड्यो ।
उपाधि दिलाउने क्रममा आरसिबीका लागि पूर्वकप्तान विराट कोहलीले ७५ रनको योगदान दिएका थिए । उनले ४२ बलमा नौ चौका र तीन छक्का प्रहार गरेका थिए । जितेश शर्माले विजयी चौका प्रहार गरेका थिए । उनले १४ बलमा ११ रन बनाए । ओपनर बेंककेश्वर एयरले १६ बलमा चार चौका र दुई छक्का प्रहार गरी ३२ रन जोडेका थिए । आरसिबीले पहिलो विकेटका लागि ४.३ ओभरमा ६२ रन जोडेर उत्कृष्ट सुरुवात गरेका थिए । कप्तान रजत पतिदारले १५, देवदत्त पडिकालले १ तथा कुनाल पान्ड्याले १ रन बनाए ।
१९औँ संस्करणमा राजस्थान रोयल्सका वैभव सूर्यवंशी धेरै रन बनाउने ब्याट्सम्यान बने । उनले १६ खेलमा एक शतक र पाँच अर्धशतकको सहयोगमा ७७६ रन बनाए । उनले अरेन्ज क्याप जिते । यसैगरी, गुजरातका कागिसो राबडाले पर्पल क्याप जित्दा १७ खेलमा सर्वाधिक २९ विकेट लिए ।
गुजरातको कमजोर ब्याटिङ
१९औँ आइपिएलको उपाधि भिडन्तमा गुजरातले कमजोर ब्याटिङ प्रदर्शन गर्यो । शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा गुजरातले आरसिबीविरुद्ध चुनौतीपूर्ण योगफल खडा गर्न नसकेको हो । सो इनिङ्समा वासिङटन सुन्दरले सर्वाधिक ५० रनको योगदान दिएका थिए ।
उनले ३७ बलमा पाँच चौका प्रहार गरेका थिए । यसअघि गुजरातको जितमा ओपनरहरूले साथ दिँदै आएका थिए । तर, उपाधि भिडन्तमा ओपनर चुकेका छन् । साई सुदर्शन र कप्तान शुभम गिलले पहिलो विकेटका लागि २.२ ओभरमा २२ रन जोडेका थिए ।
अघिल्लो खेलमा राजस्थान रोयल्सविरुद्ध शतकीय इनिङ्स खेलेका कप्तान गिल यसपटक २२ रनमा आउट भए । उनले १८ बलमा तीन चौका प्रहार गरे । जोस बलटरले २३ बलमा १९ रन जोडे । अर्सद खानले ६ बलमा दुई छक्काको सहयोगमा १५ रन बनाए । गुजरातको ब्याटिङमा तीन छक्का प्रहार भएको थियो । रसिद खानले तीन बलमा एक छक्का प्रहार गरी सात रन जोडे । बलिङमा बेंग्लोरले कसिलो प्रदर्शन गर्यो ।
