वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठलाई ३ प्रश्न

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

पछिल्लो समय नेपालमा सुर्तीजन्य पदार्थ सेवनको अवस्था कस्तो देखिन्छ ?
नेपालमा प्रत्यक्ष रूपमा चुरोट, खैनी सेवन गर्नेहरूको संख्या केही घटेको पनि देखिन सक्छ । तर, युवामा भेप, सिसा, हुक्कालगायत सेवन गर्ने क्रम ‘फेसन’कै रूपमा बढेको छ । यसमा पनि निकोटिनको ‘सर्टेन डोज’ हुने भएकाले यो पटक्कै सुरक्षित छैन । यसले टिन एजदेखिकै किशोर, किशोरी र युवालाई आकर्षित गरेको देखिन्छ । फरक–फरक फ्लेवरले गर्दा सेवनकर्तालाई निकोटिनको एडिक्ट बनाउन सजिलो हुन्छ । यसले युवालाई बिस्तारै कुलतमा फसाउँदै छ । 

यसले कस्ता–कस्ता समस्या निम्त्याएको देखिन्छ ?
सुर्तीजन्य पदार्थको सेवनले मुख, घाँटी, फोक्सो, पिसाबको ब्लाडरलगायतमा क्यान्सरको जोखिम उच्च हुन्छ । महिलाको बे्रस्ट क्यान्सरको ‘रिस्क’समेत यसले बढाउन सक्छ । प्रोस्टेट क्यान्सरमा पनि यो कारण बन्न सक्छ । यसले ‘कार्डियो भास्कुलर सिस्टम’मा समस्या ल्याउँछ । मुटु र धमनीमा असर गर्छ । जसले गर्दा रक्तसञ्चारमा समस्या आउँछ । मस्तिष्कमा जाने धमनीमा असर पर्दा ‘स्ट्रोक’को रिस्क उच्च हुन्छ । श्वासप्रश्वास र दमको समस्या बढ्छ । गर्भवतीले धूम्रपान गरेमा गर्भको शिशुमा समेत असर पर्छ । शिशुको वृद्धिमै समस्या आउन सक्छ । गर्भपतन पनि हुन सक्छ । जन्मिसकेपछि शिशुमा श्वासप्रश्वासको समस्या देखिन सक्छ । सुर्तीजन्य पदार्थले असर नगर्ने शरीरको कुनै अंग नै छैन । 

सुर्तीजन्य पदार्थको सेवन घटाउन के गर्नुपर्ला ?
डब्लुएचओले ‘रिस्क’ घटाउन बनाएको स्ट्राटेजीलाई ‘एम पावर’ भनिन्छ । नेपालले पनि त्यसैलाई आधार बनाएर निकै राम्रो कानुन बनाएको छ । तर, त्यसको कार्यान्वयन भने भएकै छैन भन्दा हुन्छ । यसलाई कार्यान्वयन मात्र गरिदिए पुग्छ । यसमा स्थानीय सरकारहरूले पनि सघाउनुपर्छ । डब्लुएचओले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लिनुपर्छ भन्छ । तर, नेपालमा भने दक्षिण एसियाकै कम छ । 

सुझावित समाचार