युक्रेन–रुस युद्धमा १५ हजार ८०० भन्दा बढी सर्वसाधारण मारिए : संयुक्त राष्ट्रसंघ

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

फेब्रुअरी २०२२ मा छिमेकी देश युक्रेनमाथि रुसले पूर्णस्तरीय आक्रमण सुरु गरेपछि युक्रेनमा १५ हजार ८५० जना सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

‘वास्तविक संख्या उल्लेखनीय रूपमा बढी पनि हुन सक्छ,’ संयुक्त राष्ट्र संघको ‘डिपार्टमेन्ट अफ पोलिटिकल एन्ड पिसबिल्डिङ अफेयर्स (डिपिपिए)’ का युरोप तथा मध्य एसिया निर्देशक कायोको गोटोहले गत मंगलबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई जानकारी दिए । यो संख्या सर्वसाधारणको मात्र हो ।

युद्धमोर्चामा मारिएका सेनाको यकिन संख्या भने हालसम्म जारी गरिएको छैन । विभिन्न अनुमानले दुवै पक्षमा लाखभन्दा बढी सेना मारिएका हुन सक्ने प्रक्षेपण गरेका छन् । 

युक्रेन र रुसबिच युद्ध अन्त्य गर्ने उद्देश्यले सुरु भएको वार्ता प्रयास अहिले अवरुद्ध छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक यसै महिनाको सुरुमा दुई पक्षबिच मध्यस्थता गर्ने प्रयास गरेका थिए । दुई पक्षले केही अघि तीनदिने युद्धविरामको घोषणा गरे पनि पछि पुनः लडाइँ सुरु भएको छ । 

सुझावित समाचार