सन् १८७१ : पेरिस कम्युनविरुद्ध फ्रेन्च सेनाले मे २१ देखि सुरु गरेको दमन यसै दिन टुंगियो । मार्सल म्याकमोहनको नेतृत्वमा मार्च १८ देखि पेरिसमा स्थापना भएको कम्युनविरुद्ध फौज परिचालन गरिको थियो । झन्डै तीस हजार कम्युनार्ड (कम्युन पक्षधर)को हत्या भएको घटनामा करिब ७५० जति फ्रेन्च फौज मारिए ।
सन् १४३१ : अघिल्लो सुनुवाइमा महिलाको कपडा लगाउन स्वीकार गरेकी फ्रान्सेली वीरंगना जोन अफ आर्क पुनः पुरुष पहिरन (सैन्य पहिरन)मा देखिएपछि धर्मविरोधी आरोप पुनः ब्युँत्याइयो । यस घटनालाई आधार बनाएर उनलाई मृत्युदण्ड दिइयो ।
सन् १७३१ : पोपको शासन रहेका भेग (आजको इटलीका अधिकांश भागमा) यहुदी घरको खानतलासी गरेर सबै हिब्रु पुस्तक जफत गरियो ।
सन् १८३० : अमेरिकी कंग्रेसले सबै आदिवासीलाई मिसिसिपी नदीभन्दा पश्चिमतर्फ जान निर्देशन दिने विधेयकमा राष्ट्रपति एन्ड्रु ज्याकसनले हस्ताक्षर गरे ।
सन् १९०० : बेलायतले स्वतन्त्र ‘अरेन्ज फ्री स्टेट’लाई कब्जामा लिएर आफ्नो शासन रहेको दक्षिण अफ्रिकी उपनिवेशमा गाभ्यो ।
सन् १९२३ : अमेरिकी महान्याधिवक्ताले महिलाहरूले पाइन्ट लगाउँदा अपराध नहुने घोषणा गरे ।
सन् १९३६ : गणितज्ञ एलान टुरिङले ‘अन कम्प्युटेबल नम्बर्स’ प्रकाशनका लागि पेस गरे, जहाँ उनले आधुनिक कम्प्युटरको सैद्धान्तिक आधार तय गरेका थिए ।
सन् १९६१ : मानव अधिकार क्षेत्रमा काम गर्ने गैरसरकारी संगठन ‘एम्नेस्टी इन्टरनेसनल’ (सन् १९७७ को नोबेल शान्ति पुरस्कार विजेता) लन्डनमा स्थापना भयो ।
सन् २०२३ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीको बिहिष्कारबिच (जसले उद्घाटन राष्ट्रपतिले गर्नुपर्ने माग राखेका थिए) देशको नयाँ संसद् भवन उद्घाटन गरे ।