इरानसँग धेरै विषयमा सहमति भइसक्यो : ट्रम्प

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारेमा धेरै महत्वपूर्ण विषय टुंगिएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल एक्समा अमेरिका, इरान र क्षेत्रीय शक्तिहरूबिच ‘धेरै हदसम्म वार्ता भएको र अन्तिम रूप चाँडै दिइने’ बताएका छन् । हर्मुज जलमार्ग पुनः खोल्ने सम्झौता छिट्टै घोषणा गरिने उनले बताए । उनले यस विषयमा आधिकारिक हस्ताक्षर गर्न र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको बताए ।

त्यस्तै, भारत भ्रमण रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरान वार्तामा ‘महत्वपूर्ण प्रगति’ भएको तर अझै ‘काम गर्न बाँकी’ रहेको बताए । इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताए । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले अमेरिका र इरानबिचको अर्को चरणको वार्ता ‘धेरै चाँडै’ हुने बताएका छन् । पाकिस्तानले शनिबार तेहरानमा इरानी नेताहरूसँग ‘परिणाममुखी वार्ता’पछि यो कुरा आएको हो । वासिङटन डिसीमा रहेको अलजजिराको टोलीका अनुसार अमेरिकी राष्ट्रपतिले अझै पनि सैन्य आक्रमण गर्ने सम्भावना भएकाले इरानसँग नयाँ युद्धको खतरा अझै नटरेको बताए ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेता मोज्ताबा खोमेनेईको अनुमति नलिई कुनै पनि सहमति नहुने बताएका छन् । उनले आफ्नो देश आणविक हतियार खोजिरहेको छैन भनेर ‘विश्वलाई आश्वस्त पार्न तयार’ रहेको बताएका छन् । इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आइआरएनए)ले टेलिग्राममा एक पोस्टमा राष्ट्रपतिलाई उद्धृत गर्दै भनेको छ– ‘इरानका दिवंगत नेता आयतोल्लाह खामेनीको सहादत हुनुभन्दा पहिले हामीले घोषणा गरेका थियौँ र हामी अहिले पनि दोहोर्याउँछौँ कि हामी आणविक हतियार खोज्दैनौँ भन्ने कुरा विश्वलाई आश्वस्त पार्न तयार छौँ ।’ शनिबार, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले सरकारी टेलिभिजनलाई बताएअनुसार गत साता अमेरिका र इरानी अडान सहमतिनजिक पुगेका थिए । 

See More On

सुझावित समाचार