सिजेपीको इन्स्टाग्राम खाता र पेज ह्याक

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

कक्रोच जनता पार्टी (सिजेपी)का संस्थापक अभिजित  दिपकेले शनिबार आफ्नो पार्टीको इन्स्टाग्राम खाता र पेज ह्याक भएको दाबी गरेका छन् । उनले सुरु गरेको व्यंग्य अभियान भाइरल भएको र व्यापक अनलाइन प्रयोगकर्ता आकर्षित गरेको केही दिनपछि पार्टीको इन्स्टाग्राम अकाउन्ट र पार्टीको पेज ह्याक भएको हो ।

आफ्नो व्यक्तिगत इन्स्टाग्राम खाता पनि ह्याक भएको उनले बताएका छन् । बेरोजगार भारतीय युवाहरूका बारेमा प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणीपछि दिपकेले सिजेपीलाई  प्यारोडी पार्टीको रूपमा सिर्जना गरेका थिए । यो छिट्टै युवामाझ लोकप्रिय भयो, यसको एक्स र इन्स्टाग्राम खातामा रातारात अभूतपूर्व संख्यामा फलोअर बढेका थिए । कक्रोच पार्टीको इन्स्टाग्राम खाता एटकक्रोचनेभरडाइज बन्द भएको हो । यसको एक्स खाता पनि निलम्बन भएको छ । सिजेपीको इन्स्टाग्राम पेजमा एक हप्ताभित्र दुई करोड २० लाख  फलोअर भएका थिए । त्यस्तै, एक्समा पनि दुई लाख फलोअर्स रहेका थिए । उनले युवा र सिजेपीका सदस्यलाई ‘सचेत’ रहन आग्रह गरेको केही घण्टापछि, सिजेपीको आधिकारिक पृष्ठ ह्याक गरिएको थियो ।

‘कृपया ध्यान दिनुहोस् कि हामीसँग हाल हाम्रो कुनै पनि प्लेटफर्ममा पहुँच छैन । यसपछि गरिएको कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक बयान मान्नुहुँदैन,’ पेज ह्याक भएपछि दिपकेले  एक्समा पोस्ट गरेका छन् । सिपिजेको आधिकारिक एक्स ह्यान्डल रोकिएपछि दीपकेले ‘कक्रोच इज ब्याक’ नामक अर्को पृष्ठ खडा गरेका छन्, जसमा लगभग दुई लाख फलोअर्स छन् । आइटी मन्त्रालयका अधिकारीले सिजेपीलाई भारतको ‘सार्वभौमिकता’का लागि खतरा भएको बताएको एक दिनपछि ह्याकिङ भएको हो ।

‘मन्त्रालयले गुप्तचर निकायबाट कक्रोच जनता पार्टीको एक्स खाता ब्लक गर्न इनपुट प्राप्त गर्यो, जसमा यसले भारतको सार्वभौमसत्ताको लागि खतरा रहेको उल्लेख गरिएको थियो । आफ्नो खातामार्फत सिजेपीले भड्काउने सामग्री पोस्ट गरेको गुप्तचर निकायले विश्वास गर्यो,’ एक अधिकारीको भनाइ उद्दृत गर्दै द इन्डियन एक्सप्रेसले लेखेको छ, ‘विशेषगरी खाताको सामग्री युवामाझ लोकप्रिय हुँदै गएको तथ्यबाट चिन्ता उत्पन्न भएको थियो ।’ व्यंग्यको रूपमा सुरु भएको अनलाइन राजनीतिक आन्दोलनको वेबसाइटमा अहिले १० लाख सदस्यता दर्ता भइसकेको छ । गत साता सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले भारतका बेरोजगार युवालाई ‘साङ्ला’ र ‘परजीवी’ भनेर सम्बोधन गरेका थिए । पछि उनले स्पष्टीकरण दिँदै आफ्नो भनाइ सञ्चार माध्यमले तोडमोड गरेको बताएका थिए ।

यसैबीच, भारतमा व्यंग्यको रूपमा सुरु भएको भाइरल साङ्ला आन्दोलनले सीमा नाघेर पाकिस्तानी राजनीतिक परिदृश्यमा प्रभाव पारेको देखिन्छ । पाकिस्तानमा ‘कक्रोच अवामी पार्टी’ (सिएपी) र ‘कक्रोच अवामी लिग’ (सिएएल) जस्ता पेज देखा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

See More On

सुझावित समाचार