फिफा विश्वकपमा होटेल व्यवसायीलाई डर

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण
  • ११ जुनमा अमेरिकामा विश्वकप सुरु हुँदै छ, तर होटेल बुकिङ न्यून रहँदा लगानी धरापमा पर्न सक्नेमा अमेरिकन होटेल एसोसिएसनको चिन्ता

फिफा विश्वकप आगामी जुन–जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप सुरु हुन तीन साता मात्र बाँकी छ । विश्वकप नजिकिँदै जाँदा मुख्य आयोजक राष्ट्र अमेरिकाका होटेल व्यवसायीलाई भने भयले सताइरहेको छ । विश्वकपका लागि तयार पारिएका होटेलमा आशातीत बुकिङ भइरहेको छैन । विश्वकपनजिक आइरहँदा अहिले तीन होटेल खालीजस्तै छन् । अमेरिकन होटेल एन्ड लोडिङ एसोसिएसनको एउटा अध्ययनमा विश्वकप हुने विभिन्न सहरका होटेलमा खासै बुकिङ नआएको देखिएको छ ।

‘अहिलेको अवस्था डरलाग्दो छ । यहाँ अमेरिकाका होटेलहरूको बुकिङ नगन्य मात्रामा छ । यसले विश्वकपबाट राम्रो आम्दानी गर्ने मनसाय बनाएका होटेल व्यवसायीको लगानी खतरामा पर्न सक्छ,’ एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्ययनका क्रममा जहाँ होटेल सोल्डआउट हुनुपर्ने थियो । त्यहीँ नै खाली छन् ।’

फिफाको विज्ञप्तिअनुसार अमेरिकामा फुटबल हेर्न पाँच लाख टिकट सोल्ड आउट भएको छ । तर, टिकट किनेका समर्थकले होटेल बुकिङ गरेका छैनन् । ‘टिकट सेलिङ हेर्दा अचम्म छ, तर उनीहरूको होटेल बुकिङ आश्चर्यजनक छ,’ एसोसिएसनले भनेको छ, ‘यस्तै रह्यो भने मार्केटमा क्र्यास आउन सक्छ ।’ अमेरिकामा सबैजसो होटेल फ्रेन्चाइज बेसमा छन् । समग्र अमेरिकामा अहिले विश्वकपका लागि साना र ठुला गरी ३२ हजार होटेल छन् ।

एसोसिएसनले दुई प्रमुख कारणले होटेल बुकिङ नभएको जनाएको छ । पहिलो फिफा स्वयंले ठुलो संख्यामा होटेल र प्रतिदिनको रकम तोक्ने गर्न अधिकार कसैलाई पनि दिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सहज रूपमा कसैलाई पनि भिसा उपलब्ध गराएको छैन । यही दुई कारण नै होटेल बुकिङ सोचेजस्तो नभएको एसोसिएसनको भनाइ छ । फिफाले भने आफूहरूले होटेल बुकिङ र प्रतिदिन रुमको मूल्यमा हस्तक्षेप नगरेको जनाएको छ ।

१२.२ बिलियन अमेरिकी डलर लगानी
सन् १९९४ पछि अमेरिका दोस्रोपटक विश्वकप आयोजक राष्ट्र बनेको हो । दोस्रोपटकको विश्वकपलाई भव्य बनाउन अमेरिकाले प्रतिस्पर्धा हुने सहरलाई आधुनिक बनाएको छ । यसका साथै होटेलहरू फरक रूपमा निर्माण गरिएका छन् । यसक्रममा होटेल व्यवसायीहरूले एक लाख ८५ हजार कर्मचारीलाई अनौपचारिक रूपमा काम दिइसकेका छन् । अमेरिकाले विश्वकपका लागि भनेर अहिलेसम्म १२ बिलियन अमेरिकी डलर खर्च गरिसकेको छ । विश्वकप हेर्न आउने समर्थकबाट आम्दानी गरी आर्थिक सहयोग मिल्ने अमेरिकाको विश्वास छ । तर, उनीहरूको आशा अहिले निराशामा परिणत भएको होटेल एसोसिएसनले जनाएको छ । 

‘विश्वकपका लागि भनेर अर्बौँ डलर खर्च गरेका छौँ । हामीहरूको मुख्य आम्दानीको स्रोत नै समर्थकहरू हाम्रो होटेलमा आएर बस्ने हो,’ उनीहरूले भनेका छन्, ‘तीन सातापछि विश्वकप सुरु हुनेछ । त्यसवेलासम्म यस्तै अवस्था भइरह्यो भने लगानी धरापमा पर्नेछ ।’ 

फिफाले रद्द गर्यो बुकिङ 
फिफाले आफ्नो एकाधिकार प्रयोग गर्दै बोस्टन, डालास, लस एन्जलस, फिलाडेफिया र सेटल सहरका होटेलहरू सुरुमा बुक गरेको थियो । फिफाले लगभग ७० प्रतिशत होटेल बुकिङ गरेको थियो । तर, उसले सबै बुकिङ रद्द गर्नु नै समस्या बनेको होटेल एसोसिएसनले दाबी गरेको छ । ‘फिफाले ७० प्रतिशत बुकिङ गर्दा सबै खुसी थियौँ, तर एकैपटक सबै बुकिङ रद्द गरेका छन्,’ एसोसिएसनको दाबी छ, ‘अब लाखौँ समर्थकले तीन हप्ताको अवधिमा कसरी बुकिङ गर्न सक्छन् ।’ यसैबिच फिफाले अमेरिकामा आफूहरूले होटेल बुक नगरेको जनाएको छ । ‘हामीले सम्झौताअनुसार काम गरिरहेका छौँ । होटेल बुक गर्नु र रद्द हुनुमा हामीहरूको कुनै हात छैन,’ फिफाले भनेको छ, ‘धेरैजसो अवस्थामा होटेलहरूबाट आएको अनुरोधलाई थप समायोजना गर्न नै अगाडि नै होटेलका कोठा रिलिज गरिएको हो ।’ 

सुझावित समाचार