चर्चित अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ले छापेको एक खोज समाचारअनुसार अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्दा खामेनीलाई हटाएर पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई पदस्थापना गर्ने उद्देश्य लिएको उल्लेख छ ।
यस ‘दुस्साहसी योजना’बारे जानकारी भएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले समाचार लेखेको बताएको छ । तर, युद्ध सुरु भएपछि योजना ‘सोचेअनुसार नभएको’ अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ । हाल अहमदिनेजादको अवस्था र अवस्थिति अज्ञात छ ।
आयतोल्लाह अली खामेनीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्रैका नेतालाई सत्ता सुम्पनु उपयुक्त हुने सोचेका थिए, टाइम्सले समाचारमा उल्लेख गरेको छ । ‘तथापि, अहमदिनेजादको छनोट असामान्य मान्नुपर्छ,’ पत्रिकाले लेखेको छ । किनकि, सन् २००५ देखि २०१३ बिच इरानको राष्ट्रपति रहँदा उनले ‘इजरायललाई विश्वको नक्साबाट मेटाउने’ चेतावनी दिएका थिए ।
त्यस्तै, अहमदिनेजाद इरानको आणविक कार्यक्रमका कट्टर समर्थक थिए भने अमेरिकाका कटु आलोचक । तथापि, सन् २०१९ देखि उनी अमेरिकासँग नरम देखिन थालेका थिए । त्यसै समयको एक अन्तर्वार्तामा अहमदिनेजादले राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका थिए । साथै, उनले इरान र अमेरिकाबिच घनिष्टताको वकालत गरेका थिए ।
टाइम्सका अनुसार ट्रम्प भर्खरै भेनेजुएलाका नेता निकोलस मादुरोलाई सफलतापूर्वक अपहरण गरेपछि उत्साहित भएकाले इरानमा पनि उही मोडल दोहोर्याउने प्रयास गरेका हुन सक्थे । युद्धको पहिलो दिन नै अहमदिनेजादको तेहरानस्थित घरमा इजरायलले बमबारी गरेको थियो । सो आक्रमण खासमा उनलाई घरमै गरिएको नजरबन्दबाट मुक्त गर्ने उद्देश्यले भएको अमेरिकी अधिकारीले पत्रिकालाई बताए । तथापि, उनी आक्रमणमा सामान्य घाइते भएका थिए । अहमदिनेजाद हमलाबाट बचेका भए पनि उनको अवस्था अज्ञात रहेको छ ।
द एसोसियट प्रेसका अनुसार यी पूर्वराष्ट्रपतिले खामेनीको अवसानपछि ‘इरानको राजनीतिक, सामाजिक र सैन्य अवस्था’ व्यवस्थापन गर्न र देशलाई कुशलतापूर्वक संकटबाट बाहिर ल्याउन सक्ने अमेरिकीले विश्वास गरेका थिए । तथापि, अहमदिनेजादनजिकका सहयोगीले भने उनी नजरबन्द मुक्त भएपछि शासन परिवर्तनको उद्देश्यमा सकारात्मक नभएको र अमेरिका–इजरायलसँग सहकार्य गर्न अनिच्छुक भएको बताएका छन् । सन् २००३ देखि २०१३ सम्म राष्ट्रपति रहेका अहमदिनेजादको पछिल्लो समय सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसँग मतभेद बढ्दै गएको देखिन्थ्यो ।
‘अहमदिनेजादले खामेनीको शासनमा भ्रष्टाचार बढेको आरोप लगाउन थालेका थिए । यसले गर्दा खामेनीप्रति उनको बफादारीमै प्रश्न उठ्न थालेको थियो,’ द न्युयोर्क टाइम्सले लेखेको छ, ‘यसैले उनलाई पछिल्ला कैयौँ राष्ट्रपतीय चुनावबाट उम्मेद्वार बन्न नै अयोग्य घोषित गरिएको थियो । उनका कैयौँ सहयोगी पक्राउ परिरहेका थिए । उनी स्वयंलाई बढ्दो रूपमा उनको घरमा सीमित गरिएको थियो । खामेनी शासनले अहमदिनेजादका नजिकका मानिसलाई पश्चिमसँग घनिष्ट र इजरायली जासुसीको आरोप लगाउन थालेका थिए ।’