एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुले के संकेत गर्छ ?
यसले एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच पार्टी एकता हुने सम्भावनाबारे चलिरहेको बजार हल्लालाई थप बल दिएको छ । तर, यसले राष्ट्रपति संस्थाको गरिमा र तटस्थतालाई भने गम्भीर क्षति पुर्याएको छ । राष्ट्रकै अभिभावक बनिसकेको व्यक्ति दलीय राजनीतिमा पुनः फर्किनुहुन्नथ्यो । त्यसैले, पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणबाट दुई पार्टीबिच एकता त होला, तर एउटा सम्मानित संस्थाको तटस्थता र सम्मानमाथि भने गम्भीर प्रश्न बाँकी नै रहनेछ ।
सदस्यता दिनु एमाले अध्यक्ष केपी ओलीको दाउपेच मात्र हो कि नेतृत्व हस्तान्तरणको संकेत पनि हो ?
यसबाट नेतृत्व हस्तान्तरण भए पनि पुस्तान्तरण हुन सक्दैन । विगतमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले ‘डेलिभरी’ दिन नसक्नुमा केपी ओलीसँगसँगै तत्कालीन राष्ट्रपति भण्डारीको पनि समान भूमिका थियो । त्यसैले, यो सदस्यता नवीकरण स्वार्थको गठजोड मात्र हो । प्रचण्डको नेतृत्व ओलीले नस्विकार्ने र ओलीको नेतृत्व प्रचण्डले नस्विकार्ने स्थितिमा भण्डारीको नेतृत्व दुवैले स्विकार्ने सम्भावना देखिन्छ । यसले पुस्तान्तरणमा भने कत्ति पनि योगदान गर्दैन ।
यसबाट उल्टै तत्कालका लागि पार्टीमा रूपान्तरण र नेतृत्वमा पुस्तान्तरणको ढोका बन्द हुने त होइन ?
‘कम्युनिस्ट आइडियोलोजी’ बोकेका पार्टीहरूमा रूपान्तरण र पुस्तान्तरणको माग भइरहेको समयमा भण्डारीको सदस्यता नवीकरणले अझै पनि पुरानै पुस्तामा नेतृत्व अल्झिरहने संकेत गरेको छ । नयाँ पुस्ताको नेतृत्वमा दुई पार्टी एक हुन सकेको भए त्यसले पार्टीलाई नयाँ बाटोमा लगेर फरक सन्देश दिन सक्थ्यो । तर, यस्तो सम्भावनालाई यो सदस्यता नवीकरणले झनै पर धकेलिदिएको छ । यसबाट पार्टीमा सामान्य ‘डेन्टिङ पेन्टिङ’ त होला, तर रूपान्तरण र पुस्तान्तरणसहितको ‘भाइब्रेसन’को सम्भावना भने केही समयका लागि टरेको छ ।