बार्सिलोनाले जित्यो सबै घरेलु १९ खेल

स्पेनिस ला लिगाको इतिहासमा घरेलु मैदानमा सबै खेलमा अपराजित रहने बार्सिलोना ११औँ क्लब

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

बार्सिलोनाले स्पेनिस ला लिगामा नयाँ रेकर्ड स्थापित गरेको छ । बार्सिलोनाले यस सिजनको ला लिगामा घरेलु मैदान क्याम्प नोउमा भएका सबै १९ खेल जितेको छ । ला लिगामा होम एन्ड अवे खेल हुन्छ । लिगमा सहभागी सबै टोलीले एकपटक आफ्नो घरेलु र अर्कोपटक विपक्षीको अवे मैदानमा प्रतिस्पर्धा गर्छन् । बार्सिलोनाले सन् २०२५/०२६ सिजनको ला लिगाअन्तर्गत घरेलु मैदानमा कुनै पनि खेलमा हारको सामना गरेन । यस्तो रेकर्ड बनाउने बार्सिलोना ११औँ स्पेनिस क्लब बनेको छ । 

प्रतिस्पर्धाको आइतबार राति बार्सिलोनाले रियल बेटिसलाई ३–१ ले हरायो । यो खेलमा बार्सिलोनाका लागि राफिन्हाले दुई गोल गरेका थिए । बार्सिलोनले यसअघि नै ला लिगाको उपाधि रक्षा गरिसकेको थियो । गत आइतबार बार्सिलोनाले एल क्लासिकोमा रियल म्याड्रिडलाई हराउँदै उपाधि जितेको थियो । क्याम्प नोउमा ब्राजिलियन स्ट्राइकर राफिन्हाले २८औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । 

उनले ६२औँ मिनेटमा बार्सिलोनालाई २–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा रियल बेटिसका इस्कोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–१ को गोलअन्तरमा ल्याए । खेलको ७४औँ मिनेटमा जाआओ कान्सेलोले बार्सिलोनालाई ३–१ को जित पक्का पारे । सन् १९८५–८६ को सिजन ला लिगामा ३४ खेल हुँदा रियल म्याड्रिडले सान्टिएगो बर्नावेउको घरेलु मैदानमा सबै १७ खेल जितेको थियो । बार्सिलोनाले सन् १९५९–६० मा ला लिगामा ३० खेल हुँदा सबै घरेलु मैदानमा भएका १५ खेल जितेको थियो । यस सिजनमा बार्सिलोनाले पाँच खेलमा मात्र हार सामना गरेको छ । उसले ३७ खेलमा सर्वाधिक ९४ अंक जोडेको छ । पछिल्लो ६ खेलमा बार्सिलोनाले पाँचमा जित निकालेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले ३७ खेलमा ८३ अंक जोडेको छ । रियलले २६ जित, पाँच बराबर तथा ६ खेलमा हार निकालेको छ । तेस्रो स्थानको भिल्ला रियलले ३७ खेलमा ६९ अंक जोडेको छ । 

यस सिजन च्याम्पियन्स लिगमा हार
स्पेनिस ला लिगामा सानदार प्रदर्शन गरेको बार्सिलोनाले युरोपिय च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा मात्र हारको सामना गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत लिग चरणमा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग बार्सिलोना घरेलु मैदानमा पराजित भएको थियो । त्यसपछि क्वार्टरफाइनलअन्तर्गत घरेलु मैदानमा भएको प्रतिस्पर्धामा स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग बार्सिलोना स्तब्ध भयो । अब बार्सिलोनाले यस सिजनको अन्तिम लिग खेल आगामी शनिबार भ्यालेन्सियाको मैदानमा खेल्नेछ ।

बार्सिलोनाबाट लेवान्डोस्कीको बिदाइ
पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले बार्सिलोना छाड्ने भएका छन् । उनले यस सिजनमा मात्र बार्सिलोनामा रहने घोषणा गरिसकेका थिए । सन् २०२२ मा बार्सिलोनासँग आबद्ध भएका लेवान्डोस्कीले सिजनको अन्त्य घरेलु मैदानमा सानदार रूपमा गरेका छन् । उनले बार्सिलोनाबाट एक सय ९१ खेलमा एक सय १९ गोल गरेका छन् । यस सिजनमा उनले बार्सिलोनासँग सम्झौता नवीकरण गरेनन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सम्भवतः उनी साउदी प्रो लिगमा जान सक्छन् । यद्यपि, युरोप, अमेरिका र अन्य शीर्ष डिभिजन लिगबाट उनलाई प्रस्ताव आइरहेको छ । तर, पछिल्लो समयमा राम्रो कमाइ गर्ने थलोका रूपमा साउदी प्रो लिग बनिरहेका छन् । करिअरको उत्तरार्द्धमा पुगेका चर्चित खेलाडीहरू साउदी प्रो लिगमै आबद्ध छन् । 

सुझावित समाचार