सन्दीपको विश्वकीर्तिमानमा नेपाल पाँचौँ स्थानमा उक्लियो

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण
  • अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कले ७७ एकदिवसीय खेलमा १५० विकेट लिएका थिए । नेपालका सन्दीप ७३ खेलमै उनको रेकर्ड भंग गर्न सफल रहे । 

लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीयमा कम खेलमा एक सय ५० विकेट लिने विश्वकीर्तिमान राखेका दिन नेपालले सोमबार आइसिसी विश्वकप लिग–२ मा शीर्ष स्थानको स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित निकालेको छ । सन्दीपले ७३ खेलमै विश्वकीर्तिमान रचेका हुन् । उनकै नाममा एकदिवसीय फर्म्याटमा कम खेलमा सय विकेट रेकर्ड छ । सय विकेट लिन उनले केवल ४२ खेल खेलेका थिए ।

स्कटल्यान्डमाथिको जितसँगै नेपाल २२ अंकका साथ शीर्ष पाँचमा उक्लिएको छ । नेपालले एकैपटक दुई स्थान सुधार गरेको हो । नेपालले घरेलु मैदानमा भएको पछिल्लो सातमध्ये पाँच खेल जित्दै अंकतालिकामा सुधार गरेको हो । नेपालको २७ खेलबाट २२ अंक छ । स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ । अब, नेपालले शुक्रबार अमेरिकासँग अन्तिम खेल खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा चलिरहेको विश्वकप लिग–२ मा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालका लागि बलिङद्वय स्पिनर ललित राजवंशीले चार र सन्दीपले तीन विकेट लिएका थिए ।

ब्याटिङका क्रममा कप्तान रोहितकुमार पौडेल र ईशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्दा नेपालले खेल सकिन ७१ बलअघि जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ३८.१ ओभरमा चार विकेट गुमाउँदै सानदार जित हात पारेको थियो । लक्ष्य पछ्याएको इनिङ्समा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६.४ ओभरमा ५८ रन जोडेका थिए ।

नेपालले दुवै ओपनर केवल पाँच बलको अन्तरमा गुमाएको थियो । शेख ६.४ र कुशल ७.२ ओभरमा आउट भएका थिए । कुशलले २७ बलमा २८ रन तथा शेखले १७ बलमा २९ रनको योगदान दिए । कप्तान रोहित र ईशानले तेस्रो विकेटका लागि एक सय ३६ बलमा एक सय चार रनको साझेदारी गर्दै नेपालको जित सहज बनाए । ईशानले पहिलोपटक एकदिवसीय खेलमा अर्धशतकीय रूपमा ६१ बलमा ५५ रन बनाए । नेपालको जितमा महत्वपूर्ण योगदान दिएका रोहितले ९८ बलमा ७४ रन जोडे । २८ वर्षीय बायाँहाते ईशानले अमेरिकाविरुद्ध अघिल्लो खेलमा डेब्यु गर्दा २० रन बनाएका थिए ।

नेपाल स्पिनरका घातक बलिङ
त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ रोजेको स्कटल्यान्डले नेपालका स्पिनरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन । विशेष गरी स्कटल्यान्डका ब्याट्सम्यानले स्पिनरद्वय सन्दीप र ललितका धारिला बलिङ सामना गर्न सकेनन् । दुवैले समग्रमा सात विकेट लिए । ललितले आठ ओभरमा ३२ रन खर्चेर चार विकेट हात पारेका थिए र दीपेन्द्रसिंह ऐरीले आफ्नो नाममा एक विकेट लेखाए । स्कटल्यान्डको इनिङ्समा ब्रान्डन म्याकमुलन र माइकल इंग्लिसले अर्धशतक बनाए । म्याकमुलनले ४४ बलमा समान ६ चौका र छक्काको सहयोगमा सर्वाधिक ७३ रन बनाए । उनले ओपनर जर्ज मुन्सेसँग ४९ रनको साझेदारी गरे । मुन्से ३१ बलमा २१ रनमा आउट भए । माइकल इंग्लिसले ७२ बलमा ५१ रनको योगदान दिए । उनले चार चौका र एक छक्का हिर्काए ।

अझै राम्रो गर्न सकूँ : सन्दीप लामिछाने, लेग स्पिनर, नेपाल
विश्व कीर्तिमान बनाउँदा खुसी लागेको छ । त्रिवि मैदानमा पहिलोपटक पाइला टेक्दा देशका लागि राम्रो सपना देखेको थिएँ । यो क्षणलाई कसरी बयान गरूँ ? राम्रो लाग्छ । कसैले पहिलो दिन त्रिवि मैदानमा पाइला टेक्दा देशका लागि केही गर्ने एउटा सपना देखेको थियो । तपाईं राम्रो सोचले अगाडि बढ्नुहुन्छ भने राम्रो हुँदै जान्छ । यो सफलतामा धेरैजनाको साथ–सहयोग छ । टिमवर्क उत्कृष्ट भएकाले नै पछिल्ला खेलमा राम्रो नतिजा आइरहेका छन्, अझै आगामी दिनमा राम्रो गर्न सकूँ ।

सन्दीपले तोडे अस्ट्रेलियन स्टार्कको रेकर्ड
सात वर्षअघि अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले ७७ खेलमा एकदिवसीय खेलमा छिटो एक सय ५० विकेट लिएका थिए । सन्दीपले ७३ खेलमै स्टार्कको रेकर्डलाई पाखा लगाए । स्टार्कको तुलनामा सन्दीपले पाँच खेल कम खेलेका छन् । स्कटल्यान्डको ब्याटिङ इनिङ्सको १९.६ ओभरमा सन्दीपले ब्रान्डन म्याकमुलेन इरानबाट क्याच आउट गराउँदै एक सय ५० विकेट पूरा गरे । यसअघि सन्दीपले ११.३ ओभरमा मुन्सीको विकेट लिँदै एक सय ४९ विकेट संख्या बनाएका थिए ।

उनले २१.४ ओभरमा क्रोसलाई आउट पारे । सन्दीपले आठ ओभरमा ३२ रन दिए । एकदिवसीय फर्म्याटमा सन्दीप, स्टार्कपछि कम खेलमा एक सय ५० विकेट लिने बलर पाकिस्तानका सक्लिन मुस्ताक हुन् । उनले ७८ खेलमा, अफगानिस्तानका रसिद खानले ८० तथा भारतका मोहमद सामीले ८० खेलमै एक सय ५० विकेट लिएका थिए । विश्व न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ८२ तथा अस्ट्रेलियाका ब्रेट लीले ८४ खेलमा एक सय ५० विकेट हात पारेका थिए । 

See More On

सुझावित समाचार