फिफा विश्वकप फुटबल प्रतियोगिता जुन–जुलाईमा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकपको २२औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म ८० राष्ट्रले भाग लिएका छन् । यसपटकको २३औँ संस्करणमा फिफाले सर्वाधिक ४८ राष्ट्रलाई सहभागी गराउँदै विश्वकप गर्दै छ । सन् २०३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औँ संस्करण आगामी ११ जुनदेखि हुँदै छ ।
अघिल्लो संस्करणसम्मको तथ्यांकअनुसार आठ राष्ट्रले मात्र विश्वकप उपाधि जितेका छन् । यसपटक चार राष्ट्रहरू केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तान नवप्रवेशी टोली हुन् । उनीहरूले पहिलोपटक विश्वकपको अनुभव लिँदै छन् । ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, फ्रान्स, उरुग्वे, इंग्ल्यान्ड र स्पेनले विश्वकप ट्रफी चुमेका छन् । यसमध्ये ब्राजिल सर्वाधिक पाँचपटकको विजेता राष्ट्र हो । जर्मनी र इटालीले समान चारपटक विश्वकप जितेका छन् ।
साबिक विजेता अर्जेन्टिनाले तीनपटक विश्वकप हात पारेको छ । फ्रान्स र उरुग्वेले समान दुईपटक विश्वकपको ट्रफी चुमेका छन् । इंग्ल्यान्ड र स्पेन एक–एकपटक विजेता बनेका छन् । विश्वकपमा महादेशबिच पनि भिडन्त हुने गर्छ । कुन महादेशले सर्वाधिक विश्वकप जित्ने भन्ने होडबाजी चल्छ । यसमा युरोपियन महादेश अगाडि छ । तथ्यांकअनुसार दक्षिण अमेरिका र युरोपियन राष्ट्रहरूले मात्र विश्वकप जितेका छन् ।
युरोपले १२ र दक्षिण अमेरिकाले दशपटक उपाधि जितेका छन् । एसियाली राष्ट्रमा दक्षिण कोरियाले ऐतिहासिक प्रदर्शन गरी सन् २००२ को विश्वकपमा सेमिफाइनल स्थान बनाएको थियो । एसियाली राष्ट्रमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको १७औँ संस्करण थियो । यसैगरी, १९ राष्ट्रले एकपटक मात्र विश्वकप खेलेका छन् । डिआर कंगो सन् २००२ पछि र हाइटी ५२ वर्षपछि तथा इराक ४० वर्षपछि विश्वकपमा छनोट भएको हो ।
२००२ पछि ब्राजिल उपाधिविहीन
विश्वकपको इतिहासमा अहिलेसम्म सबै संस्करण खेल्ने र सर्वाधिक विजेता ब्राजिल हो । ब्राजिलले कीर्तिमानी रूपमा पाँचपटक विश्वकप जितेको छ । सन् १९५८ मा पहिलोपटक ब्राजिल विश्व च्याम्पियन बनेको थियो । उसले अन्तिमपटक सन् २००२ मा उपाधि हात पारेको थियो । त्यसयता ब्राजिल उपाधिविहीन छ । सन् २०१४ को विश्वकपमा मात्र ब्राजिल सेमिफाइनलसम्म पुगेको थियो ।
ब्राजिलपछि जर्मनी र इटालीले समान चारपटक विश्वकप हात पारेका छन् । इटालीले अन्तिमपटक सन् २००६ र जर्मनीले २०१४ मा ट्रफी हात पारेका थिए । दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र युरोपियन इंग्ल्यान्डले सात दशकमाथि विश्वकप जित्न सकेका छैनन् । उरुग्वेले सन् १९५० र इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप ट्रफी हात पारेका थिए । त्यसयता उनीहरू उपाधिविहीन छन् ।
ब्राजिल र इटालीले मात्र उपाधि रक्षा
विश्वकप इतिहासमा अहिलेसम्म दुई राष्ट्रले मात्र विश्वकपको उपाधि रक्षा गरेका छन् । सन् १९३० मा विश्वकपको पहिलो संस्करण भएको थियो । इटालीले पहिलो तथा दोस्रो संस्करण उपाधि जित्ने रेकर्ड राख्यो । त्यसपछि ब्राजिलले इटालीको रेकर्ड बराबरी गर्यो । ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार उपाधि जित्यो । ब्राजिल र इटालीको यो रेकर्ड अन्य राष्ट्र कसैले पनि तोड्न सकेका छैनन् । ब्राजिल पाँचपटक, जर्मनी चारपटक र अर्जेन्टिनाले तीनपटक विश्वकप जिते पनि उपाधि रक्षा गर्न सकेनन् ।