- विश्वकपमा सहभागी हुने अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकलाई भिसासँग जोडिएको धरौटी रकम तिर्नुनपर्ने
सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी केही राष्ट्रहरूका समर्थकले अमेरिकी भिसासँग जोडिएको धरौटी रकम तिर्नुनपर्ने भएको छ । अमेरिकी प्रशासनले विश्वकपमा सहभागी हुने अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकलाई धरौटी रकम तिर्नुनपर्ने छुट दिएको हो । अमेरिकाले ५० राष्ट्रका यात्रुलाई भिसाको विभिन्न समूहअनुसार पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तिर्नुपर्ने नियम लागू गरेको थियो ।
तर, अहिले विश्वकपका केही खेलाडी र अफिसियललाई पहिले नै छुट दिइएको छ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजना हुने विश्वकप आगामी ११ जुनबाट सुरु हुँदै छ । अमेरिकाले समर्थन गर्नेलाई मात्र भिसा धरौटीमा छुट दिइएको जनाएको छ । यसबाहेक अन्य यात्रुहरूको हकमा भने धरौटी रकम यथावत् नै बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको भिसासँग जोडिएको धरौटी रकम छुट दिएपछि समर्थकले राहतकधो महसुस गरेका छन् ।
अमेरिकाले भिसा अवधि नाघेर बस्ने जोखिम बढी भएका देशका नागरिकका लागि पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्म धरौटी तिर्नुपर्ने नियम लागू गरेको थियो ।
विश्वकपमा टिकट किनेका अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकले धरौटी तिर्नुनपर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यसअघि नै विश्वकपमा सहभागी खेलाडी, प्रशिक्षक र केही अफिसियललाई यो नियमबाट छुट दिइएको थियो ।
फाइनलमा पहिलोपटक ‘हाफटाइम सो’ हुने
विश्वकप फाइनलमा पहिलोपटक ‘सुपर बाउल’ शैलीको भव्य ‘हाफटाइम सो’ आयोजना गर्ने घोषणा गरेको छ । १९ जुलाईमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनलमा म्याडोना, सकिरा र के–पप ब्यान्ड बिटिएस मुख्य आकर्षणका रूपमा प्रस्तुत हुनेछन् । फिफाका अनुसार यो विशेष सांगीतिक कार्यक्रम ‘फिफा ग्लोबल सिटिजन एजुकेसन फन्ड’लाई सहयोग गर्न आयोजना गर्न लागिएको हो । बालबालिकाको शिक्षा र फुटबल पहुँच विस्तारका लागि १० करोड डलर संकलन गर्ने लक्ष्य छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलकुदको सबैभन्दा ठुलो मञ्चमा संगीत र फुटबललाई एकसाथ ल्याएर विशेष उद्देश्य पूरा गर्न लागेको बताए ।
‘हरेक बालबालिकाले सपना देख्ने अवसर पाउनुपर्छ र हामी सबै मिलेर त्यो सम्भव बनाउन सक्छौँ,’ इन्फान्टिनोले भने, ‘हाफटाइम सोको संयोजन चर्चित ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले गर्नेछन् ।’ सुपर बाउल आफ्नो भव्य हाफटाइम सोका लागि विश्वभर चर्चित छ । यसले हरेक वर्ष विश्वका ठुला संगीत कलाकारले प्रस्तुति दिने गर्छन् । यसअघि माइकल ज्याक्सन, पल म्याककाटर्नी, रोलिङ स्टोन्स, म्याडोना, प्रिन्स, ब्रुस स्प्रिङ्स्टिन र रिहानाले सुपर बाउलमा प्रस्तुति दिइसकेका छन् ।
फुटबलमा भने हाफटाइम सो सामान्य मानिँदैन । युरोपियन च्याम्पियन्स लिग फाइनलमा प्रायः खेलअघि सांगीतिक कार्यक्रम आयोजना गरिन्छ । फिफाले विश्वकप फाइनलको हाफटाइम सोलाई खेल, संस्कृति र उद्देश्यको संगमको ऐतिहासिक क्षणका रूपमा वर्णन गरेको छ ।
न्युजिल्यान्डको टोली घोषणा
न्युजिल्यान्डले विश्वकपका लागि अन्तिम टोली घोषणा गरेको छ । न्युजिल्यान्डले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेको हो । न्युजिल्यान्डले तेस्रोपटक विश्वकपमा सहभागिता जनाउँदै छ । यसअघि टोलीले सन् १९८२ र २०१० मा विश्वकप खेलेको थियो । न्युजिल्यान्डले ओसियाना क्षेत्र छनोटको शीर्ष स्थानमा रहँदै १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो । समूह ‘जी’मा न्युजिल्यान्ड, बेल्जियम, इजिप्ट र इरान छन् । न्युजिल्यान्डले १५ जुनमा इरानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । न्युजिल्यान्डले २१ जुनमा इजिप्ट र २६ जुनमा बेल्जियमको सामना गर्नेछ ।