विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयसले एमभी होन्डियस नामक जहाजमा भेटिएको हान्टाभाइरस थप अन्यत्र पनि देखा पर्न सक्ने चेतावनी दिएका छन् । यसको नियन्त्रणका लागि विश्वभरका देशलाई तयारी सुरु गर्न उनले आह्वान गरेका छन् ।
अधानोमले सरकारलाई हान्टाभाइरस सम्बन्धमा डब्ल्युएचओले जारी गरेको सल्लाह पालना गर्न आग्रह गरे, जसमा शंकास्पद व्यक्तिलाई ४२ दिन लामो क्वारेन्टाइनलगायत प्रावधान समावेश छ ।
‘अहिले नै ठुलो प्रकोपको सुरुवात हुने कुनै संकेत छैन, तर अवश्य पनि स्थिति परिवर्तन हुन सक्छ । भाइरसको लामो इन्क्युबेसन अवधिलाई ध्यानमा राख्दै आगामी साता थप संक्रमित देखिन सक्छन्,’ अधानोमले मंगलबार म्याड्रिडमा एक पत्रकार सम्मेलनमा भने ।
अर्जेन्टिनाबाट केप भर्डी जाँदै गरेको एमभी होन्डियस जहाजका तीन यात्रुको (एक डच जोडी र एक जर्मन नागरिक) भाइरसबाट मृत्यु भएपछि पछिल्लो समय यस रोगले चिन्ता बढाएको छ । तथापि, सामान्यतया जंगली मुसाबाट फैलिने हान्टाभाइरस दुर्लभ अवस्थामा मात्र व्यक्ति–व्यक्तिमा प्रसारित हुन सक्छ । डब्ल्युएचओका अनुसार जहाजमा यही खालको भाइरसको एन्डिज भेरियन्टका नौ केस पुष्टि भएको छ ।