स्थानीय चुनावमा हारपछि दबाबमा बेलायती प्रधानमन्त्री स्टारमर

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

स्थानीय चुनावमा लेबर पार्टीको ठुलो हारपछि सो पार्टीका संसद् सदस्यहरूले राजीनामा दिन आह्वान गरेसँगै बेलायतका प्रधानमन्त्री केयर स्टारमर आफ्नो राजनीतिक अस्तित्वका लागि लडिरहेका छन् । सोमबार एक सम्बोधनमार्फत स्टारमरले ‘धेरै कठिन’ नतिजाको जिम्मेवारी लिए र ‘थप ठुलो चुनौतीको सामना गर्ने’ र ‘बलियो र निष्पक्ष बेलायत’ बनाउने वाचा गरे ।

पार्टीले गल्ती गरेको स्वीकार गर्दै प्रधानमन्त्री स्टारमरले आफूहरूले गरेका ठुला राजनीतिक छनोट सही भएको दाबी गरे । तिनमा उनले इरानसँग युद्धमा संलग्न नहुने विकल्पलाई समेत समावेश गरे । आफ्ना समर्थकलाई सम्झाउने प्रयासस्वरूप गरिएजस्तो देखिने सोमबारको सम्बोधनमा प्रधानमन्त्री स्टारमरले आफूले सरकार सम्हालेपछि देशको राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली ‘नेसनल हेल्थ सर्भिस (एनएचएस)’मा बिरामीको प्रतीक्षा समय घटेको, बाल गरिबी र आप्रवासनमा भएका प्रगतिलाई औँल्याउँदै भने, ‘आधारभूत पक्ष पहिलेभन्दा सबल बनाइएको छ । हामी केवल खतरनाक समयको मात्र सामना गरिरहेका छैनौँ, खतरनाक प्रतिद्वन्द्वीको सामना गरिरहेका छौँ । तर, भित्री रूपमा हामी उनीहरूले आफ्नो स्वार्थका लागि उपयोग गर्न खोजेको निराशासँग लडिरहेका छौँ ।’ प्रतिद्वन्द्वी भनेर स्टारमरको लक्ष्य रिफर्म युके पार्टी र ग्रिन्सतर्फ थियो । 

स्टारमरले अहिलेको अवस्थामा रिफर्म युकेका नेता निगेल फारेज र ग्रिन्स पार्टीका नेता ज्याक पोलान्क्सी दुवैले वर्तमान समयले माग गरेको गम्भीर, प्रगतिशील नेतृत्व प्रदान गर्न नसक्ने बताए । स्टारमरले आफू नेतृत्वको लेबरलाई ‘प्रतिरोधको नभई शक्तिको मुख्य धारको पार्टी’का रूपमा व्याख्या गरे । उनले आफ्नो सरकारले हाल चिनियाँ कम्पनीले चलाइरहेको ‘ब्रिटिस स्टिल’ नामक कम्पनी सरकारीकरण गर्ने बताउँदै युरोपसँग बेलायतको सम्बन्ध पुनर्निर्माण गर्ने कानुन ल्याउने पनि बताए ।
स्टारमरले तत्काल कदम चाल्नुपर्छ

गत साता सम्पन्न स्थानीय तहको चुनावमा केन्द्रमा सत्तारुढ लेबर पार्टीले इंग्ल्यान्डमा लगभग एक हजार ५०० काउन्सिलर गुमाउनुपर्यो । लेबरले गुमाएका प्रायः धेरै सिट रिफर्म युके र ग्रिन्सले जितेका छन् । लगत्तै ‘ब्याकबेन्चर’ लेबर सांसद क्याथरिन वेस्टले क्याबिनेट मन्त्रीहरूलाई स्टारमरलाई प्रतिस्थापन गर्ने दिशामा ‘छिटो कदम चाल्न’ आग्रह गरिन् । स्टारमरलाई प्रतिस्थापन गर्न कोही अगाडि नबढे सोमबार बिहानदेखि आवश्यक समर्थनका लागि सहकर्मी सांसदलाई इमेल गर्ने योजना रहेको पनि वेस्टले बताइन् । उनले स्टारमरको सम्बोधनलाई समय गुज्रिएपछि आएको अपूरो सम्बोधन भनिन् । ‘देश र लेबर पार्टीको हितका लागि अब व्यवस्थित संक्रमण सुरु गर्नुपर्छ । म प्रधानमन्त्री कार्यालयलाई सेप्टेम्बरसम्ममा नयाँ नेताको चुनावको समयतालिका सार्वजनिक गरियोस् भन्न चाहन्छु । यस पक्षमा रहेका सांसदको नाम संकलन गरिनेछ,’ वेस्टले भनिन् । 

३० भन्दा बढी लेबर सांसदले स्टारमरले राजीनामा दिनुपर्ने वा आफ्नो प्रस्थानको समयतालिका तय गर्नुपर्ने माग राखेका छन् । यस्तो माग राख्नेमा स्टारमरसँग नजिक रहेका पूर्वसहयोगी जोस साइमन्स पनि समावेश छन् । उनले ‘द टाइम्स’मा एक लेख लेख्दै स्टारमरले ‘देशको विश्वास गुमाएको’ बताएका छन् । 

शुक्रबार ‘द गार्जियन’मा एक लेख लेख्दै स्टारमरले पछिल्लो मतपरिणामको सन्देश ख्याल गर्नुपर्ने भए पनि ‘यसको अर्थ राजनीतिक रूपमा लेफ्ट  वा राईट लाग्नु होइन’ भने । स्टारमरले शनिबार नै लेबर पार्टीका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन र लेबरका पूर्वउपनेता ब्यारोनेस हर्मनलाई प्रमुख सरकारी पदमा नियुक्त गरेका छन् । यसलाई पार्टीभित्रका विभिन्न गुटको समर्थन जुटाउने प्रयासका रूपमा हेरिएको छ । नेतृत्व छनोट प्रक्रिया सुरु गर्न ८१ लेबर सांसदको अनुमोदन आवश्यक पर्छ । पार्टी नेतृत्वका सम्भावित उम्मेद्वारमा स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ, पूर्वउपप्रधानमन्त्री एन्जेला रेनर र ग्रेटर म्यानचेस्टर क्षेत्रका मेयर एन्डी बर्नहम समावेश छन् । सन् २०२४ को चुनाव जितेर १४ वर्ष लामो कन्जर्भेटिभ शासन अन्त्य गर्दै लेबर नेता स्टारमर प्रधानमन्त्री बनेका थिए ।

(अलजजिराका लागि क्रिस्टिन म्यागुइरको रिपोर्ट)

See More On

सुझावित समाचार