बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

बार्सिलोनाले एल क्लासिकोको भिडन्तमा आइतबार राति घरेलु मैदानमा रियल म्याड्रिडलाई २–० ले हराउँदै स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाले समग्रमा २९औँ र लगातार दोस्रोपटक ला लिगा उपाधि जितेको हो । बार्सिलोनालाई उपाधि दिलाउने क्रममा मार्कस रासफोर्डले नवौँ मिनेटमा र फेरान टोरेसले १८औँ मिनेटमा गोल गरेका थिए । बार्सिलोनाले ला लिगामा तीन खेलअगाडि नै उपाधि रक्षा गरेको हो । उसले आफ्नो प्रतिद्वन्द्वी रियलमाथि शीर्ष स्थानमा १४ अंकको अग्रता लिएको छ ।

बार्सिलोनाले पछिल्ला चारमध्ये तेस्रो सिजन ला लिगा च्याम्पियन बनेको छ । सर्वाधिक ३६ पटक ला लिगा उपाधि हात पारेको रियल भने लगातार दोस्रो सिजनमा ठुलो उपाधिविहीन बनेको छ । घरेलु मैदानमा ६२ हजार समर्थकमाझ बार्सिलोनाले रियललाई हराउँदै उपाधि जित्दा खुसियाली मनाएको थियो । गत सिजनमा बार्सिलोनाले ला लिगासँगै कोपा डेल रेको उपाधि जितेको थियो । रियलका केलियन एम्बाप्पे, फेडेरिको भाल्भर्डे र रोड्रिगोजस्ता खेलाडीलाई मैदानमा उतारेन । 

ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले सर्वाधिक ९१ अंक जोडेको छ । बार्सिलोनाले ३५ खेलमा ३० जित निकालेको छ ।पछिल्लो ११ खलमा बार्सिलोना अपराजित रहेको छ । उसले चार खेलमा हार एकमा बराबरी खेलेको छ । दोस्रो स्थानको रियलले ७७ अंक जोड्दा २४ खेलमा जित निकाल्यो । रियल ५ खेलबराबर र ६ खेलमा पराजित भएको छ ।

चार युरोपियन राष्ट्रका लिग जित्ने कान्सेलो
बार्सिलोनाले तीन खेलअगाडि नै उपाधि रक्षा गर्दा पोर्चुगलका जोआओ कान्सेलोले व्यक्तिगत कीर्तिमान रचेका छन् । उनले युरोपको शीर्ष चार डिभिजन लिग उपाधि जितेका छन् । यस्तो गर्ने उनी पहिलो खेलाडी बनेका छन् । कान्सेलोले सन् २०१९ मा युभेन्ट्सबाट सिरि ‘ए’ लिग जितेका थिए । त्यसपछि म्यानचेस्टर सिटीमा आबद्ध हुँदै उनले २०२१ र २०२२ मा इंग्लिस प्रिमियर लिग हात पारे ।

अर्को वर्ष उनी जर्मनी क्लब बायर्न म्युनिखमा आबद्ध भए । आबद्ध भएको पहिलो सिजनमै उनले बुन्डेस लिगा जितेका थिए । यस सिजनमा उनले बार्सिलोनाबाट स्पेनिस ला लिगा जित्दै चार युरोपियन राष्ट्रका शीर्ष डिभिजन लिग जित्ने कीर्तिमान रच्न सफल भए । उनले इटाली, इंग्ल्यान्ड, जर्मनी र स्पेनको लिग जित्ने सपना पनि पूरा गरे ।

पिएसजीलाई च्याम्पियन बन्न एक अंक आवश्यक 
पेरिस जेन्ट जर्मेन (पिएसजी)लाई फ्रेन्च लिग वान च्याम्पियन बन्न एक अंक आवश्यक छ । फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति पिएसजीले ब्रेस्टमाथि १–० को जित निकाली उपाधिनजिक पुगेको हो । सो खेलमा पिएसजीका लागि एक मात्र निर्णयक गोल डिजिरे डुएले खेलको अन्तिम समयमा गरेका थिए । जितसँगै पिएसजीले कीर्तिमानी १४औँ लिग १ उपाधि लगभग सुनिश्चित गरेको हो । पिएसजीले दोस्रो स्थानको लेन्सभन्दा ६ अंकको अग्रता लिएको छ । अब बुधबार हुने खेलमा पिएसजीले बराबरी गरे पनि च्याम्पियन बन्नेछ । तर, पिएसजीले बाँकी दुवै खेल गुमाउँदा र लेन्सले आफ्ना दुवै खेल जित निकाल्यो भने समीकरण फरक पर्न सक्छ । यस्तोमा गोलअन्तरको आधारमा लेन्स च्याम्पियन बन्न सक्छ । पार्क दे प्रिन्स रंगशालामा खेलको ८३औँ मिनेटमा डुएले डिबक्सभित्र बल नियन्त्रण लिएर तीन खेलाडीलाई छलाएर उत्कृष्ट गोल गरेका थिए । 

सुझावित समाचार