नेपालको इतिहासमा उदयपुर : पत्रकार चेमजोङको नयाँ पुस्तक लोकार्पण हुँदै

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

उदयपुरको राजनीतिक, सामाजिक, प्रशासनिक र सांस्कृतिक इतिहासलाई व्यवस्थित रूपमा दस्ताबेजीकरण गर्ने उद्देश्यसहित वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण हुने भएको छ । 

वि.सं. १९०० देखि २००७ सम्मको करिब १०७ वर्षको ऐतिहासिक कालखण्डलाई केन्द्रमा राखेर तयार गरिएको उक्त पुस्तक आगामी जेठ १ गते शुक्रबार गाईघाटमा औपचारिक रूपमा लोकार्पण हुने भएको हो ।

लामो समयको अध्ययन, अभिलेख संकलन र क्षेत्रीय अनुसन्धानपछि तयार गरिएको यो कृति उदयपुरको ऐतिहासिक पहिचानलाई थप गहिराइका साथ उजागर गर्ने पुस्तक रहेको प्रकाशक उदयपुर अनुसन्धान केन्द्रको दाबी छ । सात अध्यायमा विभाजित ३६८ पृष्ठको यस कृतिले उदयपुरको राजनीतिक विकासक्रम, सामाजिक संरचना, प्रशासनिक परिवर्तन, आर्थिक अवस्था तथा सांस्कृतिक रूपान्तरण विस्तृत र तथ्यपरक रूपमा प्रस्तुत पुस्तकमा पाइन्छ । 

यसअघि ‘उदयपुरको इतिहास’ शीर्षक कृतिमार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको उदयपुरको इतिहासलाई लिपिबद्ध गरिसकेका चेम्जोङले त्यसै अनुसन्धान यात्राको निरन्तरताका रूपमा यो दोस्रो खण्ड सार्वजनिक गर्न लागेका हुन् । नयाँ कृतिमा विशेषगरी राणाकालीन शासन व्यवस्था, स्थानीय प्रशासनिक संरचना, सामाजिक विभाजन, आर्थिक गतिविधि, शिक्षा अवस्था तथा राजनीतिक चेतनाको विकासलाई प्राथमिकताका साथ विश्लेषण गरिएको छ ।

लेखकीयमा लेखक चेम्जोङले उदयपुर नाम भए पनि यसको ऐतिहासिक पक्ष अझै पर्याप्त रूपमा उजागर नभएको अनुभूति भएपछि अनुसन्धानको यात्रा सुरु गरेको उल्लेख गरेका छन् । उनले वि.सं. १९०० देखि २००७ सम्मको समयलाई उदयपुरको ऐतिहासिक विकासक्रम बुझ्न अत्यन्त महत्त्वपूर्ण अवधि भएको बताएका छन् । यही समयमा राणाशासनको प्रभाव, प्रशासनिक नियन्त्रण, सामाजिक संरचनामा परिवर्तन, आर्थिक सम्बन्धहरूको विस्तार र राजनीतिक चेतनाको उदय स्पष्ट रूपमा देखिन्छ । पुस्तकमा यी सबै पक्षलाई ऐतिहासिक प्रमाण, दस्ताबेज र मौखिक स्रोतका आधारमा विश्लेषण गरिएको छ ।

पुस्तक तयार पार्ने क्रममा लेखकले विभिन्न प्रकाशित तथा अप्रकाशित पुस्तक, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, स्थानीय दस्ताबेज, अनलाइन स्रोत तथा पुरातात्त्विक सामग्रीहरूको गहिरो अध्ययन गरेका छन् । साथै, उनले स्थानीय वृद्धवृद्धा, सामाजिक अगुवा, पूर्वकर्मी, क्रान्तिकारी मुक्ति योद्धा तथा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी मौखिक इतिहास संकलन गरेका छन् । 

लेखकका अनुसार अनुसन्धानका क्रममा उनले तत्कालीन समाज र वर्तमान समाजबीचको ठुलो अन्तर अनुभव गरेका छन् । पुरानो प्रशासनिक संरचना, सामाजिक सम्बन्ध, शिक्षा प्रणाली र राजनीतिक चेतनाको स्तर आजको तुलनामा निकै फरक रहेको उनले उल्लेख गरेका छन् । 

पाण्डुलिपि अध्ययन तथा सुधारका लागि त्रिभुवन विश्वविद्यालय इतिहास विभागका सहप्राध्यापक डा. विजय मिश्रले महत्त्वपूर्ण सुझाव र मार्गदर्शन प्रदान गरेको लेखकले बताएका छन् । त्यस्तै, स्थानीय तहको सहयोग पनि पुस्तक प्रकाशन प्रक्रियामा महत्त्वपूर्ण रहेको छ । त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले अध्ययन, अनुसन्धान तथा प्रकाशन प्रक्रियामा निरन्तर सहयोग र प्रोत्साहन दिएको उल्लेख गरिएको छ ।

उदयपुर अनुसन्धान केन्द्रले आफ्नो प्रकाशकीयमा नेपालमा क्षेत्रीय तथा स्थानीय इतिहास लेखन अत्यन्त आवश्यक रहेको स्पष्ट पारेको छ । काठमाडौंकेन्द्रित इतिहासले मात्र देशको समग्र चित्र प्रस्तुत गर्न नसक्ने भन्दै स्थानीय इतिहासको खोज, संरक्षण र अभिलेखीकरणलाई राष्ट्रिय आवश्यकता भएको संस्थाले जनाएको छ ।

केन्द्रका अनुसार वि.सं. १९०० देखि २००७ सम्मको अवधि नेपालको इतिहासमा अत्यन्त उतारचढावपूर्ण र निर्णायक समय हो । जंगबहादुर राणाको उदयदेखि २००७ सालको प्रजातन्त्र स्थापनासम्मको ऐतिहासिक यात्रामा उदयपुरले भोगेका प्रशासनिक संरचना, आर्थिक अवस्था, सामाजिक रूपान्तरण र राजनीतिक चेतनालाई पुस्तकले विस्तृत रूपमा उजागर गरेको छ । विशेषगरी २००७ सालको जनक्रान्तिमा उदयपुरवासीको भूमिका, योगदान र सहभागितालाई ऐतिहासिक तथ्यका आधारमा प्रस्तुत गरिएको दाबी गरिएको छ ।

पुस्तक सात अध्यायमा व्यवस्थित गरिएको छ । पहिलो अध्यायमा अनुसन्धान परिचय, अध्ययन विधि, पूर्वकार्य समीक्षा तथा स्रोतहरूको विश्लेषण गरिएको छ । यसले पुस्तकको वैचारिक र प्राविधिक आधार स्पष्ट पार्ने काम गरेको छ । दोस्रो अध्यायमा नेपालको राष्ट्रिय राजनीतिक इतिहाससँग उदयपुरको सम्बन्ध र प्रभावबारे विस्तृत चर्चा गरिएको छ । यसमा तत्कालीन राष्ट्रिय राजनीतिक घटनाक्रमसँग उदयपुरको अन्तरसम्बन्ध, प्रभाव र स्थानीय प्रतिक्रियालाई ऐतिहासिक रूपमा प्रस्तुत गरिएको छ ।

तेस्रो अध्यायमा उदयपुरको प्रशासनिक, न्यायिक, सैनिक संरचना तथा निर्वाचन प्रणालीको ऐतिहासिक अध्ययन गरिएको छ । राणाकालीन शासन व्यवस्थाले स्थानीय स्तरमा पारेको प्रभाव, प्रशासनिक नियन्त्रणको स्वरूप तथा न्याय प्रणालीको अवस्था यसमा समेटिएको छ । चौथो अध्यायमा सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौतिक अवस्थाको विस्तृत चित्रण गरिएको छ, जसले तत्कालीन जनजीवन, परम्परा, जीवनशैली र आर्थिक गतिविधिलाई स्पष्ट रूपमा देखाउँछ ।

पाँचौँ अध्यायमा वि.सं. १९००–२००७ सम्मका महत्त्वपूर्ण घटनावलीलाई क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ । यसमा २००७ सालको क्रान्ति, मुक्ति सेनाको गतिविधि, स्थानीय विद्रोह, राजनीतिक आन्दोलन र परिवर्तनका घटनाहरूलाई विशेष ऐतिहासिक महत्त्वका साथ समेटिएको छ । छैटौँ अध्यायमा प्राप्ति तथा निष्कर्ष विश्लेषण गरिएको छ, जसमा भीमसेन थापाको पतनदेखि राणा शासनको अन्त्यसम्मको राजनीतिक यात्रा, सामाजिक परिवर्तन र शैक्षिक विकासको विश्लेषण गरिएको छ । सातौँ अध्याय परिशिष्ट खण्डका रूपमा राखिएको छ, जसमा स्रोत–सामग्री, अध्ययन विधि, स्रोतव्यक्ति तथा अनुसन्धान प्रक्रियाको विस्तृत विवरण समावेश गरिएको छ ।

लेखक चेम्जोङका यसअघि ‘भूत लघुकथा संग्रह’, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रंगहरू’, ‘उदयपुरको इतिहास’ तथा ‘उदयपुरको साहित्य’जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । उनी लामो समयदेखि आख्यान र गैर–आख्यान दुवै विधामा सक्रिय रहँदै अनुसन्धानमूलक लेखनमा परिचित नामका रूपमा स्थापित छन् ।

मोफसलमा बसेर अनुसन्धान, लेखन र प्रकाशन गर्नुपर्ने चुनौतीबारे लेखक स्पष्ट छन् । उनका अनुसार स्रोतको अभाव, आर्थिक सहयोगको कमी, अभिलेखीय कठिनाइ तथा प्रकाशन संस्थामाथिको सीमित विश्वासजस्ता कारणले लेखकहरू कठिन अवस्थामा काम गर्न बाध्य छन् । राज्यबाट अपेक्षित सहयोग नपाउनु र अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने संरचना कमजोर हुनु अझै ठुलो समस्या रहेको उनको भनाइ छ ।

यस कृतिलाई केवल एउटा पुस्तक मात्र नभई उदयपुरको ऐतिहासिक पहिचानलाई राष्ट्रिय विमर्शसँग जोड्ने महत्त्वपूर्ण दस्ताबेजका रूपमा हेरिएको छ । यसले उदयपुरको विगतलाई उजागर गर्दै नयाँ पुस्तालाई आफ्नै माटो, इतिहास र पहिचानसँग जोड्ने अपेक्षा गरिएको छ । स्थानीय इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्य बोकेको ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ इतिहास अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि उपयोगी दस्ताबेज बन्नेछ । 

See More On

सुझावित समाचार