- महिला मुद्दा ममता बनर्जीको नीति–निर्माणको मुख्य अंश भए पनि राज्यमा महिला सुरक्षाका बारेमा शंका हटेको थिएन । सन् २०२४ मा कोलकाताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेकी एक चिकित्सकको बलात्कारपछि हत्याजस्ता घटनाले राज्य सरकारको प्रभावकारिता छायामा पार्यो । आरजी कर प्रकरण चुनावमा सरकारका लागि अन्य कारकसँगै हिमआँधी साबित भयो ।
मे ४ पश्चिम बंगालका लागि पृथक् दिन बन्यो । यो दिन राज्यमा शासन गरेको राजनीतिक पार्टीमा ग्रहण लाग्दै थियो, अर्थात् तृणमूल कांग्रेस (टिएमसी)को १५ वर्षको शासन समाप्त हुँदै थियो । पार्टी नेतृ ममता बनर्जीको राजनीतिक यात्रामा धक्का लागेको थियो । विधान सभाको कुल २९४ सिटमध्ये भाजपाले दुईतिहाइ (२०६) सिट ल्याएर दुनियाँलाई चक्मा दिँदा ‘रैथाने’ तृणमूलले नराम्रो पराजय चाख्यो । पार्टी ८१ सिटमा खुम्चियो । लामो समय एकछत्र शासन गरेकी र पश्चिम बंगालमा ‘दिदी’को उपमा पाएकी ममताको सत्ताको चाबी भाजपाले खोस्यो ।
ममताको योजनाविरुद्ध भाजपाको प्रतियोजना
तृणमूलका लागि चुनाव अभियानका मुख्य विषय महिला सशक्तीकरण, शिक्षा र ग्रामीण विकासमा केन्द्रित कल्याणकारी योजना थिए । प्रमुख पहलमा महिलालाई मासिक आर्थिक सहायता प्रदान गर्ने प्रमुख लक्ष्मी भण्डार योजना र सामाजिक सुरक्षालक्षित कन्याश्री, स्वास्थ्य साथी र कर्मश्रीजस्ता अन्य कार्यक्रम समावेश थिए । तर, यी योजनालाई भारतले टक्कर दियो । भाजपाले अन्य राज्यबाट बंगालमा आफ्ना योजना विस्तार गर्दै विद्यमान योजनामार्फत वितरण गरिएको रकम बढाउने वाचा लिएर आएको थियो । धेरै लाभार्थीहरू नयाँ सरकार आए पनि चलिरहेका योजना रोकिने छैनन् भन्नेमा विश्वस्त देखिए ।
महिला मुद्दा ममता बनर्जीको नीति–निर्माणको मुख्य अंश भए पनि राज्यमा महिला सुरक्षाका बारेमा शंका हटेको थिएन । २०२४ मा कोलकाताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेकी एक चिकित्सकको बलात्कारपछि हत्याजस्ता घटनाले राज्य सरकारको प्रभावकारिता छायाँमा पार्यो । आरजी कर प्रकरण चुनावमा सरकारका लागि अन्य कारकसँगै हिमआँधी साबित भयो ।
ममताले नै बनाइन् भाजपालाई सहज
साम्प्रदायिक राजनीतिको कुरा गर्दा पश्चिम बंगालको राजनीतिक र सामाजिक परिदृश्यमा विगत केही दशकमा ठुलो परिवर्तन आएको छ । चुनावको मुखमा मतदाताको ठुलो हिस्सालाई बंगाल मुसलमानद्वारा कब्जा हुने खतरा छ भनेर विश्वस्त पार्न भाजपा सफल भयो । राज्यका रूढीवादी इस्लामिक नेतासँग आक्रामक रूपमा संलग्न हुँदै उनीहरूका धार्मिक कार्यक्रममा प्रायः हिजाबमा उपस्थित भएर बनर्जी आफैँले भाजपालाई यस्तो सन्देश दिएकी थिइन् ।
मुस्लिम धर्मगुरु इमामहरूका लागि भुक्तानीजस्ता योजनालाई हिन्दुहरूको ठुलो वर्गले अस्वीकृत गर्यो । बनर्जीले जगन्नाथ मन्दिर र कोलकाताको दुर्गा आँगनमा भव्य मन्दिर निर्माण गरेर सन्तुलनमा राख्न खोजे पनि यसले समाजमा प्रतिस्पर्धात्मक साम्प्रदायिकता स्थापित गर्यो ।
निर्माण सामग्रीमा आपूर्ति सिन्डिकेट तृणमूल कांग्रेसको लागि अर्को अभिशाप बने । ठुला वा मध्यम आकारका उद्योगको अभावमा बंगालका युवाहरूको ठुलो हिस्सा जीविकोपार्जनका लागि आपूर्ति सञ्जालको सहारा लिए । यी सञ्जाल प्रायः स्थानीय व्यवसायीबाट पैसा असुल्ने काममा परिणत हुन्थे । यस्ता सिन्डिकेट–नियन्त्रित गतिविधि ग्रामीण क्षेत्रहरूमा सडक निर्माणदेखि अवैध कोइला आपूर्ति र गाईबस्तुको तस्करीसम्म थिए । सिन्डिकेटले राज्य सरकारको ठेक्काका लागि लिलाम लगाउने कामलाई पनि नियन्त्रण गर्थे र त्यस्ता सञ्चालनबाट कमाएको पैसाको केही भाग स्थानीय नेतामार्फत पार्टीमा जान्थ्यो । भाजपाले आफ्नो चुनावी अभियानमा वाचा गरेझैँ यो सिन्डिकेट प्रणालीलाई कसरी भत्काउँछ भनेर हेर्न बाँकी छ ।
मोदी र शाहको नयाँ शैली
भाजपाको सुनामीको ठुलो श्रेय प्रधानमन्त्री मोदी र पार्टी अध्यक्ष अमित शाहको चुनाव व्यवस्थापनलाई मानिएको छ । अप्रिलको अन्त्यमा हुने मतदानको तयारीमा दुवैले कोलकातालाई आफ्नो दोस्रो घर बनाए । मोदीले ठुला मुद्दाहरूका बारेमा बोले पनि समस्या समाधान गर्ने जिम्मा शाहलाई नै दिएका थिए ।
हिन्दुत्वलाई आफ्नो सन्देशको केन्द्रविन्दुमा नराखी भाजपाले परिवर्तनको विचारलाई दोब्बर बनायो । चुनावी अभियानको नारामध्ये एक थियो ‘पलतानो दोरकर, चाई भाजपा सरकार’ (हामीलाई परिवर्तन चाहिन्छ, भाजपा सरकार चाहिन्छ), जुन नाराले तृणमूललाई २०११ मा वाम मोर्चालाई दिएको औषधिको स्वाद दियो । त्यतिवेला बंगालको राजनीतिक परिदृश्य भूकम्पीय रूपमा परिवर्तन भएको थियो ।
चुनाव असाधारण सुरक्षा र प्रशासनिक संरचनाअन्तर्गत सम्पन्न भयो । गृहमन्त्रीसमेत रहेका शाहले करिब दुई लाख ५० हजार अर्धसैनिक बल तैनाथ गरे । फौजलाई बख्तरबन्द कर्मचारी वाहकले सहयोग गरिएको थियो । चुनावमा यस्तो सुरक्षा सामान्यतया जम्मु र कस्मिर, नक्सलवादी–प्रभुत्व भएका क्षेत्र वा मणिपुरजस्ता द्वन्द्व क्षेत्रहरूमा देखापर्दछ । मुख्यसचिवदेखि ब्लक विकास अधिकारीसम्मका राज्य प्रशासनलाई सरुवा गरियो, जसको स्थान भाजपाशासित राज्यहरूबाट छानिएका अधिकारीहरूले लिए ।
राज्यबाहिर सयौँ विशेष निर्वाचन पर्यवेक्षक खटाइएका थिए, जसले स्पष्ट सन्देश दियो कि निर्वाचन आयोग (र केन्द्रीय सरकार) पश्चिम बंगालका अधिकारीलाई विश्वास गर्दैन । विवादित विशेष गहन संशोधन (एसआइआर) अभ्यासमार्फत लगभग २७ लाख मानिसलाई मतदाता सूचीबाट हटाइएपछि यस्तो कदम चालिएको थियो ।
९२ प्रतिशतभन्दा बढी औसत मतदानका साथ यस्तो देखिन्छ कि बंगालका जनता, विशेष गरी युवाले भाजपालाई उनीहरूले खोजेको जनादेश दिएका छन् । राज्य बेरोजगारी र अवसरको अभावले ग्रस्त छ, जसले गर्दा हजारौँ युवा रोजगारीको खोजीमा भारतका अन्य भागमा बसाइँ सरेका छन् । यो स्पष्ट छ कि तृणमूल कांग्रेसको नेतृत्व र बंगालको मिडियाको एक अंशलाई बंगालमा भइरहेको टेक्टोनिक परिवर्तनका बारेमा थोरै मात्र थाहा थियो ।
भाजपाको त्यो कठोर मिहिनेत
अहिलेको परिणाम एउटा पेचिलो चुनावी अंकगणितमा निहित छ । २०२१ को निर्वाचनमा तृणमूल कांग्रेसको प्रभाव समान थिएन । पार्टीको २१५ सिटमध्ये लगभग एकतिहाइ सांसदले २० प्रतिशत अंकको अन्तरले जितेका थिए । यसको अर्थ भाजपाले बंगाललाई सबै ठाउँमा पराजित गर्नु आवश्यक थिएन । पार्टीलाई जित्न नसकिने क्षेत्रमा उम्मेदवार नउठाउने र प्रतिस्पर्धी सिटमा ध्यान केन्द्रित गर्न आवश्यक थियो, जहाँ पाँचदेखि सात प्रतिशत स्विङ मत निर्णायक हुन सक्छ । नतिजाले भाजपाले ठ्याक्कै त्यही गरेको देखाउँछ : पार्टीले महत्वपूर्ण क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्यो ।
त्रिणमूलको भोटबैंक मानिएको क्षेत्र पनि टिकाउ देखिएन । हो, बनर्जीको कल्याणकारी वास्तुकलाले गरिब र निम्नमध्यम वर्गका महिलाहरूमाझ एक टिकाउ समर्थन आधार सिर्जना गरेको थियो । तर, आरजी कर प्रकरण र सन्देशखाली घटना, पार्टी संयन्त्रविरुद्ध स्थानीयस्तरको आक्रोश र तृणमूलको कल्याणकारी योजनाहरूलाई उछिनेर जाने भाजपाको वाचासँगै, प्रश्नलाई अझ जटिल बनायो ।
अर्को प्रमुख परिवर्तन सांस्कृतिक थियो । २०२६ मा यसले सिकेको देखिन्छ कि बंगाललाई धार्मिक एकीकरणले मात्र जित्न सकिँदैन । यसले बंगाली गौरव, सांस्कृतिक स्मृति र दैनिक गुनासोको भाषा बोल्नुपर्छ । मोदी र शाहले बंगाली पहिचानसँग जोडिन स्पष्ट प्रयास गरे, जबकि समिक भट्टाचार्यजस्ता नेताहरूले ‘भद्रलोक’का वर्गहरूमाझ पार्टीको छविलाई नरम बनाउन मद्दत गरे । यसले भाजपाको वैचारिक धारलाई मेटाउन सकेन बरु लामो समयदेखि यसको प्रतिरोध गर्दै आएको राज्यसँग कम अपरिचित बनायो ।
(एनडिटीमा प्रकाशित भारतीय पत्रकार तथा लेखक किदबईको आलेखलाई सुभाष शर्माले भावानुवाद गरेका हुन् ।)