राखेपमा उपाध्यक्षसहित १९ सदस्य पदमुक्त

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण
  • एकैपटक १९ सदस्य पदमुक्त हुँदा अब राखेपको बोर्डमा सदस्यसचिव, मन्त्रालयका प्रतिनिधि, सात प्रदेशका सदस्यसचिव र तीन विभागका प्रतिनिधि मात्र बाँकी 

रष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशअनुसार उनीहरू स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १९ वैशाखदेखि नै लागू हुने गरी पदमुक्त भएको मन्त्रालयले मंगलबार निकालेको सूचनामा उल्लेख छ । मन्त्रालयले अध्यादेश कार्यान्वयन गर्नका लागि सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्राचार गरेको थियो । 

त्यसपछि मन्त्रालयले सार्वजनिक सूचना निकालेर राखेप उपाध्यक्ष आचार्यसहित १९ जनाको पद स्वतः मुक्त भएको जनाएको हो । मन्त्रालयले १८ सदस्यको नाममा जिन्सी तथा नगद नदेखिएको र उपाध्यक्षको जिम्मामा देखिएका खप्ने मालसामान र अन्य कुनै दायित्व भए फरफारक गर्न सूचनामा उल्लेख गरिएको छ । उपाध्यक्षबाट आचार्यले यसअघि नै पदबाट राजीनामा दिइसकेका थिए । निवर्तमान उपाध्यक्ष आचार्यले सरकारले अध्यायदेशमातर्फ राजनीतिक नियुक्त खारेज कार्यान्वयन गर्नुअघि नै आफूले राजीनामा दिएको सामाजिक सञ्जालबाट बताएका छन् । 

‘मैले सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ जारी हुनुअघि नै राखेपको उपाध्यक्षबाट राजीनामा दिएको थिएँ,’ आचार्यले भनेका छन् । पदमुक्त हुनेमा नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, डा. मधुसुदन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुंगाना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का, सन्तकुमार मेहता र जगतबहादुर टमाटा छन् । 

अहिले राखेपका सदस्यसचिव रहेका रामचरित्र मेहता सरकारी कर्मचारी हुन् । सरकारले अर्को सदस्यसचिव नियुक्त नभएसम्मका लागि उनलाई सदस्यसचिवको जिम्मेवारी दिएको छ । टंकलाल घिसिङको कार्यकाल सकिएपछि सरकारले मेहतालाई सो जिम्मेवारी दिइएको हो । पदमुक्त हुनेमा गत पुसमा नियुक्त भएका पाँचजनासमेत छन् । तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा पाँचजनालाई नियुक्त गरेका थिए । 

तत्काल गुप्ताले क्रिकेट प्रशिक्षक टमाटा, रग्बी संघका संघका बोर्ड सदस्य मेहता, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)को तर्फबाट खड्का, नेपाल तेक्वान्दो संघबाट घिसिङ र उद्योग वाणिज्य महासंघको सिफारिसमा प्रयास कार्कीलाई बोर्ड सदस्यका रूपमा नियुक्त दिएका थिए । 

आधा बोर्ड सदस्य रिक्त
पदाधिकारीको पदमुक्त भएसँगै राखेपको आधाभन्दा बढी बोर्ड रिक्त हुन भएको छ । सरकारले रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको मन्त्रालयले जनाएको छ । सरकारले सम्बन्धित कार्यालयमा भएको रिक्तता अर्को नियुक्ति नभएसम्म कार्यालयका वरिष्ठ कर्मचारीले कायममुकायम भएर काम गर्ने जनाएको छ । राष्ट्रिय खेलकुद ऐन २०७७ मा भएको व्यवस्थाअनुसार सदस्यसचिवले कुनै निर्णय गर्नुपर्दा कार्यकारी बोर्डबाट पारित गराउनुपर्ने हुन्छ । कार्यकारी समितिमा सातजना सदस्य रहने गर्छन् । भानबहादुर चन्द, कमल भट्टराई, रञ्जना श्रेष्ठ र सुवर्ण श्रेष्ठ गरी चारजना पदमुक्त भएपछि अब बोर्डमा तीन सदस्य मात्र बाँकी छन् । 

राखेप सदस्यसचिवको नेतृत्वमा रहने टोलीमा राखेप प्रशासन विभागका प्रमुख समितिको सदस्यसचिव हुने प्रावधान छ । खेलकुद मन्त्रालयको खेलकुद महाशाखाका प्रमुख सदस्य रहेका छन् । कार्यकारी समितिका चारजना पदमुक्त भएपछि राखेप सदस्यसचिव मेहता एक्लिएका छन् । यद्यपि, उनले रिक्त रहेको पदमा चाँडोभन्दा चाँडो पदपूर्ति गर्ने बताएका छन् । अब राखेप बोर्डमा सदस्यसचिव, मन्त्रालयका प्रतिनिधि, सात प्रदेशका सदस्यसचिव, तीन विभागका प्रतिनिधि मात्र छन् । राखेपको अध्यक्ष युवा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ । 

See More On

सुझावित समाचार