वर्षौँ पुराना सवारीसाधनले गिज्याइरहेको सहर

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण
  • राजधानी ढाकाबाट हटाउने भनिएका सवारीसाधनले उल्टै क्षमताभन्दा बढी यात्रु ओसारेर सरकारको प्रतिबद्धताकै खिल्ली उडाइरहेका छन्

विगत डेढ दशकमा राजनीतिक नेतृत्वमा व्यापक परिवर्तन भए पनि राजधानी ढाकाका पुराना र अयोग्य बस विनाकुनै अवरोधका साथ सडकमा सञ्चालन भइरहनु अत्यन्तै निराशाजनक विषय हो । बंगलादेश सडक यातायात प्राधिकरण (बिआरटिए) का अनुसार राजधानीमा हाल सञ्चालनमा रहेका लगभग ३० प्रतिशत बस र मिनीबस २० वर्षभन्दा बढी पुराना छन् । यो तिनीहरूको आर्थिक र सञ्चालन आयुभन्दा धेरै बढी हो । प्रायः राजस्व वृद्धि गर्न यी सवारीसाधनमा थप सिट परिमार्जन गरिन्छ । तिनको यान्त्रिक अवस्था बिग्रँदै जान्छ, जसले यात्रु सुरक्षा, आराम र वातावरणीय प्रभावबारे गम्भीर चिन्ता खडा गर्छ । आफूअनुकूल सिट परिमार्जन गरिँदा सवारीसंहिताको उल्लंघन मात्र होइन, विद्यमान कानुनलाई नै चुनौती दिएको पाइन्छ । अत्यधिक इन्धन खपत गर्ने पुराना सवारीसाधन सडक दुर्घटनाको बारम्बारका कारण पनि हुन् ।

राजधानी ढाका सहरमा एक त वर्षौं पुराना सवारी गुडिरहेका छन् भने अर्कातर्फ बस तथा मिनिबसले क्षमताभन्दा बढी यात्रु बोकेको पाइन्छ, जसका कारण सवारीजन्य दुर्घनामा तीव्र वृद्धि भइरहेको छ । पछिल्ला वर्षमा भएका सवारी दुर्घटनामा चालकको लापरबाहीका अतिरिक्त सार्वजनिक बसको अवस्थालाई पनि जिम्मेवार मानिएको छ । २०१० देखि गठन भएका निर्वाचित सरकारले ढाकाका सडकबाट अयोग्य र पुराना सवारीसाधन हटाउन पहल गर्ने घोषणा गरेका छन् । तर, ती प्रयास निरर्थक साबित भएका छन् । कमजोर कार्यान्वयन, राजनीतिक इच्छाशक्तिको अभाव र यातायात मालिक तथा मजदुर संघको निरन्तर प्रतिरोधका कारण यी प्रयास बारम्बार अवरुद्ध भएका छन् । सन् २०२४ को अगस्टमा भएको राजनीतिक संक्रमणपछि यातायात संघको नेतृत्व तत्कालीन प्रधानमन्त्री सेख हसिना वाजेदको पार्टी अवामी लिग–सम्बद्ध व्यक्तिबाट बंगलादेश नेसनल पार्टी (बिएनपी) सम्बद्ध नेतामा सरेको छ । धेरैले यो परिवर्तनले केही उल्लेखनीय सुधार आउने अपेक्षा गरेका थिए भने कतिपय व्यक्ति सुधार हुने भयो भनेर फुरुंग भएका थिए ।

तर, दुःखको कुरा, यो परिवर्तनले यातायात क्षेत्रमा कुनै अर्थपूर्ण सुधार ल्याउन सकेको छैन । पदभार ग्रहण गरेपछि अन्तरिम सरकारले पुराना सवारीसाधन हटाउन ६ महिनाको समयसीमा तोकेको थियो र नयाँ खरिदका लागि सहयोग गर्ने वाचा गरेको थियो, तर कुनै पहल भएन । हटाउने भनिएका सवारीसाधनले अहिले सडकमा क्षमताभन्दा बढी यात्रु ओसारिरहेका छन्, जुन कार्यले सरकारको प्रतिबद्धतालाई नै खिल्ली उडाएको छ ।

रिपोर्टअनुसार, ढाकामा लगभग तीन सय  कम्पनी र कम्तीमा चार हजार मालिकद्वारा सञ्चालित लगभग सात हजार स्वीकृत बस छन्, तर धेरैजसो वैध फिटनेस प्रमाणपत्र वा रुट परमिटविनै चल्छन् । प्रहरी कारबाहीबाट बच्न मालिकहरूले प्रायः आफ्ना सवारीसाधनलाई प्रभावशाली व्यक्तित्वसँग सम्बन्धित कम्पनीमा आबद्ध गर्छन्  । फलस्वरूप, नियमको व्यापक बेवास्ता गर्दै समग्र यातायात प्रणालीले अनौपचारिक रूपमा कानुन उल्लंघन गर्छ । यातायात विज्ञहरू भन्छन् कि यो विकृत प्रणालीले धेरै तहमा ठुलो मात्रामा अनौपचारिक कमाइ र जबर्जस्ती गर्न सक्षम बनाउँछ । तसर्थ, नयाँ सरकारले दण्डहीनता अन्त्य गरी यातायात प्रणालीमा तत्काल सुधार गर्नुपर्ने देखिन्छ ।

मार्च २०२४ मा प्रकाशित ट्रान्सपरेन्सी इन्टरनेसनल बंगलादेश (टिआइबी) को अध्ययनले निजी स्वामित्वमा रहेका बसबाट वार्षिक रूपमा लगभग एक हजार उनन्साठी करोड टाका (बंगलादेशी मुद्रा) जबर्जस्ती असुली हुने गरेको पत्ता लगाएको छ । यस्तो सन्दर्भमा, व्यवस्था र नियमनतर्फको कुनै पनि कदमले स्थापित वित्तीय हितलाई प्रत्यक्ष रूपमा खतरामा पार्छ, जसले गर्दा सुधारको प्रतिरोध उत्पन्न हुन सक्छ । तर, जसरी भए पनि यो चक्र तोड्नुपर्छ । र, यस्तो दण्डहीनता अन्त्य गर्न सरकारले तत्कालै पहल गर्नुपर्छ ।

यातायात क्षेत्रमा निरन्तरको अराजकता अन्त्य गर्न नयाँ सरकारले तत्काल र प्रभावकारी कदम चाल्नुपर्छ । बस सेवा सञ्चालनलाई नियमन गरी जवाफदेही ढाँचाअन्तर्गत ल्याउन वैज्ञानिक बस रुट वा फ्रेन्चाइजमा आधारित प्रणाली लागू गरिनुपर्छ ।

साथै, फिटनेस मापदण्डको कडाइसाथ कार्यान्वयन, म्याद सकिएका सवारीसाधनलाई चरणबद्ध तर समयसीमा तोकेर हटाउने र पुराना बस प्रतिस्थापनका लागि पारदर्शी वित्तपोषण संयन्त्र सुनिश्चित गरिनुपर्छ । थोत्रा र बिग्रिएका बसलाई आधुनिक सवारीसाधनले प्रतिस्थापन गर्नाले सहरी वायु गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ, यातायात ऊर्जाको माग घट्नेछ र ऊर्जा संकटको समयमा इन्धन र विदेशी मुद्रासमेत बचत हुनेछ ।

(बंगलादेशको द डेली स्टारको सम्पादकीयबाट)

सुझावित समाचार