मुख्यमन्त्री हुनुअघि सम्राटले दिएका थिए नेपालबारे विवादित अभिव्यक्ति

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

गत अप्रिल १५ मा भारतको पूर्वीराज्य विहारका मुख्यमन्त्री बनेका सम्राट चौधरीले झन्डै साढे सात महिनाअघि  नेपालबारे विवादास्पद टिप्पणी गरेका थिए । टिप्पणीका कारण उनलाई भारतीय जनता पार्टी (भाजपा)ले सचेतसमेत गराएको थियो । नेपालमा भदौ २३ र २४ को जेन जी आन्दोलनले भारतमा पनि धेरैको ध्यान तानेको थियो । आन्दोलन सकिएको भोलिपल्ट भदौ २५ (सेप्टेम्बर १०) का दिन नेपालबारे सम्राटको टिप्पणी थियो, ‘अराजकता हुनुको कारण तत्कालीन कंग्रेस सरकार (भारतीय कंग्रेस) ले नेपाललाई हिन्दुस्तानबाट अलग राख्नु हो । नेपाल आज भारतको अंग हुन्थ्यो भने त्यहाँ शान्ति कायम हुन्थ्यो । खुसियाली पनि हुन्थ्यो ।’ भारतका नाम चलेका युट्युब च्यानलमा अझै सम्राटको यो भनाइ हेर्न र सुन्न सकिन्छ ।

उनी त्यतिमै रोकिँदैनन् । अझ पाकिस्तानको कुरा पनि जोड्छन् । उनी अगाडि भन्छन्, ‘यदि पाकिस्तान भारतको हिस्सा हुन्थ्यो भने ऊ पनि भारतसँगसँगै समृद्ध हुन्थ्यो । म त स्पष्ट भनिरहेको छु । यो कंग्रेसको भूल हो, जसको कारणले हामीले यो झेल्नुपरिरहेको छ ।’ 

नेपालबारे यस्तो थियो सम्राटको टिप्पणी
कंग्रेसले केही देशलाई अलग राख्यो । नेपाल यदि आज भारतको अंग हुन्थ्यो भने त्यहाँ शान्ति पनि हुन्थ्यो । नेपालमा खुसियाली पनि हुन्थ्यो । हेर्नुहोस् मानिसमा असन्तुष्टि हुन्छ, तर अराजकता हुन भएन । म भन्छु कि यदि आज ऊ (नेपाल) भारतको अंग हुन्थ्यो भने आज नेपाल पनि समृद्ध हुन्थ्यो । म त स्पष्ट भनिरहेको छु । यो कंग्रेसको भुल हो, जसका कारण हामीले यो झेल्नुपरिरहेको छ । अराजकता हुनुको कारण तत्कालीन कंग्रेस सरकारले तिनलाई हिन्दुस्तानबाट अलग राख्नु हो ।

भाजपाको कडा निर्देशन
सम्राटको विवादास्पद टिप्पणी मिडियामा आएपछि भाजपाले केन्द्रबाट आफ्ना नेता, कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपालबारे कुनै टिप्पणी नगर्न कडा निर्देशन दिएको थियो । निर्देशन विशेषतः पार्टीका मन्त्री, सांसद र विभिन्न पदमा रहेका सदस्यलाई विशेषतः लागू हुने भाजपा स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले त्यतिवेला लेखेको थियो । नेपालमा तीव्र रूपम विकसित घटनाबिच दिइने टिप्पणीले नेपाल–भारत सम्बन्धमा असर गर्न सक्ने भन्दै निर्देशन दिइएको त्यतिवेला भाजपाले बताएको थियो । विहारमा झन्डै दुई दशक शासन गरेका जनता दल युनाइटेड (जेडियू)का प्रमुख नीतीश कुमारको बहिर्गमनपछि सम्राट अहिले मुख्यमन्त्री बनेका छन् । पद सम्हालेसँगै उनले विहारमा भाजपाको पहिलो मुख्यमन्त्रीको रेकर्डसमेत बनाए । हिन्दीभाषीको बाहुल्य रहेको राज्यमा जेडियूले मुख्यमन्त्री पाउँदा विहारमा भने बनाउन सकेको थिएन । 

सुझावित समाचार