सन् १२६० : ग्रेट खान मोङ्केका मृत्युपछि उनका दुई भाइबिच उत्पन्न उत्तराधिकारीको विवादबिच ‘कुरुलताई(मंगोल महासभा)’ बोलाइयो । सभाले मोङ्केका भाइ कुब्लाई खानलाई नयाँ सम्राट (ग्रेट खान) नियुक्त गरेसँगै उनका पनि भाइ एरिक बोकेले विद्रोह गरे । चार वर्ष लामो गृहयुद्धपछि अन्ततः एरिक पराजित भएका थिए ।
सन् १४५० : ‘फेर्मिङ्नीको युद्ध’मा फ्रान्सको निर्णायक जितसँगै बेलायत सयवर्षे युद्धमा हार्ने स्थितिमा पुग्यो ।
सन् १५०२ : उत्तर अमेरिकामा स्पेनिस उपनिवेश ‘हिस्पानियोला’मा क्रिस्टोफर कोलम्बसले खराब शासन गरिरहेको गुनासोबिच स्पेनका राजाद्वारा नयाँ गभर्नरका रूपमा पठाइएका ‘निकोलस द ओभान्डो वाई कासेरेस’ यसै दिन सो टापु आइपुगे ।
सन् १६५८ : मुगल सम्राट् शाहजहाँको मृत्युपछि उनका दुई छोराबिच उत्तराधिकारीका लागि सुरु भएको संघर्षका क्रममा यो दिन ‘दरमतको युद्ध’ भयो । युद्धमा भाइ औरङ्जेवको फौजले दाइ दारा सिकोहको सेनाविरुद्ध निर्णायक जित हासिल गर्यो ।
सन् १७८३ : अमेरिकी संसद्ले ब्रिटेनविरुद्ध चलिरहेको ‘अमेरिकी स्वतन्त्र संग्राम’ अन्त्य गर्नेसम्बन्धी एक सम्झौताको खाका पारित गर्यो । यही खाकाअनुसार सोही वर्ष सेप्टेम्बर ३ मा पेरिसमा औपचारिक सम्झौता भएको थियो ।
सन् १९२३ : भर्खरै परीक्षण पूरा भएको मधुमेहको औषधि ‘इन्सुलिन’ आमरूपमा उपलब्ध हुन थाल्यो ।
सन् १९४८ : भारतमा स्वतन्त्रताअघि ससाना ३० राज्य रहेको भागलाई जोडेर ‘हिमाचल प्रदेश’ गठन गरियो । सुरुमा प्रशासनिक निकाय मात्र रहेको यो भेग सन् १९५६ मा ‘युनियन टेरिटोरी’ र सन् १९७१ मा पूर्ण राज्य घोषित भयो ।
सन् १९७० : लिबियाली नेता मुअम्मर गद्दाफीले देशको सामाजिक स्थिति फेर्न ‘सांस्कृतिक क्रान्ति’ घोषणा गरे ।