चालू आवको दोस्रो त्रैमासमा ४.०५ प्रतिशतको आर्थिक वृद्धिले के संकेत गर्छ ?
अघिल्लो आवको सोही अवधिको वृद्धि ३.८ प्रतिशत रहेको हुनाले मात्र अहिले वृद्धि देखिएको हो । फेरि यो अवधि भनेको कृषि उत्पादनको समय भएकाले पनि यो वृद्धिमा नगदे तथा खाद्यान्न बालीको योगदान हुन सक्छ । जेन–जी आन्दोलनमा सरकारी र निजी क्षेत्रको सम्पत्तिमा व्यापक क्षति भएको र निजी क्षेत्रको मनोबल गिरेको समयमा व्यापक आर्थिक वृद्धि हुन कठिन नै थियो । अहिले कृषि उत्पादन र केही बढेको निर्यात व्यापारले गर्दा थोरै नै भए पनि वृद्धि देखिएको हुन सक्छ । अर्थतन्त्रका अन्य सूचक भने नकारात्मक नै देखिन्छन् ।
हाम्रो आर्थिक वृद्धि जहिल्यै न्यून देखिनुको कारण के हो ?
आर्थिक वृद्धिमा गुणात्मक पक्ष महŒवपूर्ण हुन्छ । आन्तरिक उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, उत्पादनको लाभ बहुसंख्यक जनतामा पर्ने वृद्धि मात्र टिकाउ हुन्छ । उपभोगमा आधारित वृद्धि जहिल्यै चुनौतीपूर्ण हुन्छ । त्यसैले पनि हाम्रो अर्थतन्त्रमा गुणात्मक वृद्धि नदेखिएको हो ।
यसमा सुधार ल्याएर उच्च आर्थिक वृद्धि हासिल गर्न के गर्नुपर्ला ?
रास्वपाको वाचापत्रमा आगामी पाँच वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको छ । यसका लागि नीति, संरचना र संस्थागत परिपाटीमा व्यापक सुधार नगरी हुँदैन । बजेटमा व्यापक सुधारको पनि खाँचो छ । बजेटसँग मौद्रिक नीति र वित्तनीतिको समन्वय गरी अगाडि बढ्नुपर्छ । अनुत्पादक क्षेत्रमा भइरहेको लगानीमा व्यापक कटौती गर्नुपर्छ । कमजोर देखिएका सूचकमा साहसिक र ठोस सुधार गरेर जान सके अर्थतन्त्रले छलाङ मार्न सक्छ । यसका लागि औद्योगिक, व्यापारिक र लगानी नीतिमा व्यापक सुधारसँगै निजी क्षेत्रको विश्वास र क्षमता वृद्धि गरी सरकार र निजी क्षेत्रले हातेमालो गरेर अघि बढ्नुपर्छ ।