पार्टी अध्यक्ष हिरासतमा रहेको वेला एमालेभित्र पार्टी पुनर्गठनको मुद्दामा बहस उठ्न थाल्नुले के संकेत गर्छ ?
यो बहस धेरै पहिले नै उठ्नुपर्थ्यो, ढिलो भयो । राजनीतिक रूपमा पार्टीले ऐतिहासिक पराजय भोगिसकेपछि नेतृत्वले नै बुझ्नुपर्थ्यो । नेतृत्वले नबुझेपछि नै यो बहस उठेको हो । यसमा जति ढिलो हुन्छ, पार्टीलाई त्यति नै बढी हानि हुन्छ । गम्भीर रोग लागेको रोगीलाई उपचारमा लान जति ढिलो गरिन्छ, उसको बाँच्ने सम्भावना त्यति नै कम हुन्छ । एमालेमा पनि गम्भीर रोग लागेको पहिल्यै थाहा थियो । उसको ‘मल्टी अर्गान फेलियर’ भइसकेको छ । यस्तोमा रोगको सही उपचार सुरु गर्ने कि धुपबत्ती बालेर भजनकीर्तन गरिरहने, निर्णय गर्न ढिलो गर्नुहुँदैन ।
केन्द्रमा नेतृत्व परिवर्तन हुनासाथ होला त एमालेको रूपान्तरण ?
रूपान्तरणको सुरुवात केन्द्रीय नेतृत्वबाटै हुनुपर्छ । एमालेभित्र ०७८ यता सुरु भएको एकतन्त्रीय नेतृत्वशैलीका कारण मात्र पाँच लाखभन्दा बढी भोटर घटेका छन् । नेतृत्वको कार्यशैलीकै कारण पार्टी छाडेर हिँडेका नेता, कार्यकर्ता पार्टीको रूपान्तरण सुरु हुनासाथ जिम्मेवारीमा फर्किन्छन् । त्यसले ठुलो पंक्तिमा आशाको सञ्चार गराउनेछ । माथि बिग्रेको हुनाले त्यहाँ सुधार भयो भने तल बिस्तारै आफैँ ‘करेक्सन’ हुँदै जान्छ ।
एमालेले पहिलेकै जस्तो शक्ति आर्जन गर्न के गर्नुपर्ला त ?
यसका लागि सबैभन्दा पहिले नेतृत्वमा रूपान्तरण हुनुपर्यो । कार्यशैलीमा व्यापक सुधार महसुस हुनुपर्यो । नेतृत्वले समाजको गति बुझ्न सक्नुपर्यो । अहिले एमालेमा नेतृत्वकै कारण उसका ‘क्याडर’ उत्पादन गर्ने ‘कारखाना’ (विद्यार्थी, जनवर्गीय संगठन) बन्द छन् । त्यसैले, नयाँ पुस्तामा विश्वास सिर्जना गर्न सक्ने नेतृत्व आउनुपर्यो । उसले आफ्नो नाम र झन्डा फेर्ने तथा मार्क्सवाद र समाजवाद माने पनि युरोपतिर जस्तै ‘कम्युनिस्ट’ नाम नराख्ने पार्टी बनाउनुपर्ने अवस्था पनि आउन सक्छ ।