कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई ३ प्रश्न

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

वर्तमान नेतृत्वले के गर्यो र तपाईंहरू वडा अधिवेशनमा होमिनुभयो ?
हामी पहिल्यैदेखि कांग्रेसमै थियौँ, छौँ र रहनेछौँ । विगतमा पार्टीकै टिकट लिएर निर्वाचनमा गयौँ । निर्वाचनपछि जसरी भए पनि पार्टीका नेताहरूलाई मिलाउनुपर्छ भन्ने राष्ट्रिय अभियान अघि बढायौँ । यसैबिच पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता शेखर कोइरालाले पाँचबुँदे र आठबुँदे प्रस्तावहरू अघि बढाउनुभयो । सभापति गगन थापाले कार्यसम्पादन समितिबाट पारित गराएर पार्टीका तर्फबाट त्यसलाई अपनत्व लिइसकेपछि अब विवाद गरिरहनुपर्ने अवस्था रहेन । त्यसैले हामी १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी भएका हौँ ।  

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले त पार्टी फुटको डिलमा पुग्यो भन्नुभएको छ नि ?
एउटै पार्टीका दुई बेग्लाबेग्लै महाधिवेशन प्रक्रिया अघि बढेको अवस्थामा अब कांग्रेस फुटको डिलमा होइन, त्योभन्दा पनि धेरै अघि बढिसक्यो भन्दा हुन्छ । मूल कांग्रेसको वडा अधिवेशन सुरु भई समाप्त पनि भइसक्यो । अर्को समूहले पनि १५ असोजदेखि सोही प्रक्रियालाई अघि बढाउने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा पार्टी कसरी एकढिक्का रहन सक्ला र? कांग्रेसको यो फुटमा अदालतले पनि मलजल गरेको छ । एउटा निर्णय दिइसकेको अदालतले निस्सा नदिएको भए कांग्रेस एकै ठाउँमा रहने थियो । निस्सा दिइसकेपछि त्यसलाई अग्राधिकार दिएर टुंग्याइदिएको भए पनि कांग्रेसले एउटा अलग बाटो समात्ने थियो । देशकै सबैभन्दा ठुलो र पुरानो लोकतान्त्रिक दल विभाजित हुनु स्वयं कांग्रेसका लागि मात्र नभई सिंगो देशकै लागि पनि दुर्भाग्य हो । 

एउटै पार्टीको दुइटा महाधिवेशनपछि पनि पार्टी एकढिक्का रहने कुनै ‘स्पेस’ बाँकी रहला त ?
‘मिराकल’ भयो भने ‘कोमा’मा गइसकेको बिरामी पनि सद्दे भएर फर्किन सक्छ । अहिले कांग्रेसमा जे भइरहेको छ, त्यो दुर्भाग्यपूर्ण छ । पार्टीसभापति र पूर्वसभापतिबिच संवाद हुन सक्यो भने कांग्रेस एकढिक्का रहन असम्भव छैन । तर, अहिलेको अवस्थालाई हेर्दा कांग्रेसमा मिल्ने ‘स्पेस’ निकै साँघुरो देखिएको छ । 

सुझावित समाचार