यो हप्ता, इजरायलको संसद्ले प्यालेस्टिनीलाई मात्र मृत्युदण्ड दिने एउटा कानुन पारित गर्यो । योसँगै अब इजरायली अदालतबाट ‘घातक आक्रमणको दोषी ठहरिएका’ प्यालेस्टिनीलाई स्वतः मृत्युदण्डको सजाय हुनेछ । पहिले नै प्यालेस्टिनीहरूलाई निसाना बनाउने, उनीहरूको अधिकार खोस्ने, व्यवस्थित रूपमा दुव्र्यवहार गर्ने न्यायिक प्रणाली थप विस्तार भएको छ । यो सबै प्यालेस्टिनीविरुद्ध अपराध गर्ने इजरायली अपराधीलाई जवाफदेहिताबाट जोगाउन डिजाइन गरिएको प्रणालीको हिस्सा हो ।
उसो त नयाँ कानुनले पूर्ण रूपमा नयाँ वास्तविकता सिर्जना गर्दैन । तर, यसले प्यालेस्टिनीविरुद्ध घातक बल प्रयोग गर्ने लामो समयदेखिको इजरायली नीतिलाई कानुनमा समावेश गरेर दमनको चिन्ताजनक चरणको सुरुवात गरेको छ । धेरैले ख्याल गर्नुपर्ने कुरा हाल कानुन बनेको वास्तविकता इजरायलमा पहिले नै सामान्यीकृत भइसकेको कुरा हो । यो कानुन आउनुभन्दा धेरै अघिदेखि नै प्यालेस्टिनीको हत्यालाई अत्यन्त व्यवस्थित रूप दिइसकेको छ ।
गाजामा ‘युद्धविराम’को घोषणापछि पनि सामूहिक हत्या जारी छ । पश्चिम किनारमा इजरायली सेनाले लगभग दैनिक रूपमा प्यालेस्टिनीहरू मारिइरहेका छन् । यस्तो हत्या छापामारीको नाममा, बमबारीमार्फत र हिंसात्मक ‘सेट्लर’( अनधिकृत आवास बनाउने) इजरायली मिलिसियाद्वारा प्यालेस्टिनीलाई तिनै भूमि र समुदायबाट धपाउने प्रयासमा हुने गरेको छ । केही समयदेखि, इजरायली सैनिक र सेट्लर इजरायलीले लगभग पूर्ण दण्डहीनताका साथ यस्तो काम गरिरहेका छन् ।
इजरायलको जेल सञ्जालमा प्यालेस्टिनीमाथि उस्तै वास्तविकता स्पष्ट रूपमा देखिँदै आएको छ । अक्टोबर २०२३ पछि इजरायलले आफ्नो कारागारमा प्यालेस्टिनीहरूको संख्या १० हजारभन्दा बढी पुर्याएको छ । पक्राउ परेकामध्ये धेरैमाथि मुद्दा नचलाई थुनामा राखिएको छ । न त उनीहरूलाई आफ्नो प्रतिरक्षाको कुनै अर्थपूर्ण अवसर नै दिइएको छ । अधिकांश कैदीलाई राखिएको अवस्था हेर्दा इजरायलको जेल प्रणाली यातना शिविरको सञ्जालजस्तो बनेको छ । प्यालेस्टिनीलाई व्यवस्थित रूपमा हिंसा, दुव्र्यवहार र नियतवश भोकमरीको सिकार बनाइँदै छ ।
कारागारमा गरिएको दुव्र्यवहार, अमानवीय अवस्था र आवश्यक उपचार सेवाबाट गरिएको वञ्चितिले यस अवधिमा ८० भन्दा बढी प्यालेस्टिनीको इजरायली हिरासतमा मृत्यु भएको छ । नयाँ कानुन यस प्रणालीबाट अलग्गिएको छैन, यसले दमनलाई विस्तार गर्छ । अर्थात्, विगतमा कानुनविना भइरहेको कामलाई अहिले कानुनी ढाँचामा ल्याएर त्यसलाई थप गहन बनाइनेछ । अर्थात्, अब थप धेरै प्यालेस्टिनी हिरासतमा मर्नेछन् ।
यो कानुन एक यस्तो राजनीतिक नेतृत्वको शासनमा आएको छ, जसले खुलेआम हिंसा र अमानवीकरणलाई अँगालेको देखिएको छ । वर्तमान सरकारका वरिष्ठ मन्त्रीहरूले प्यालेस्टिनीविरुद्धको आक्रमणलाई थप वृद्धि गर्ने वा सामान्यीकरण गर्ने कुराबाट राजनीतिक शक्ति आर्जन गरेका हुन् । कानुन पारित भएपछि मन्त्रीहरूले हत्याको महिमागान गर्ने खालको हाउभाउ तथा अभिव्यक्ति दिए । त्यस्तै कानुनबारे इजरायली मिडियामा भएको बहसमा मृत्युदण्डलाई अत्यन्त स्पष्ट देखाउने गरी वा विचलित पार्ने खालको निर्दयी वर्णन भएको देखियो । यसले कतै इजरायली समाजमा देखिएको व्यापक सामाजिक परिवर्तनलाई त प्रतिबिम्बित गर्दैन, जसमा प्यालेस्टिनीको जीवनलाई बिस्तारै जे गर्दा पनि हुन्छ ठान्न थालेको देखिन्छ ।
‘इजरायली इन्फर्मेसन सेन्टर अफ ह्युमन राइट्स इन द अकुपाइड टेरिटोरिज (बि’त्सेलेम)’ले सन् २०२५ मा सार्वजनिक गरेको नरसंहार रिपोर्टले देखाएझैँ प्यालेस्टिनीको अमानवीकरण एक दीर्घकालीन प्रक्रिया हो । त्यही प्रक्रियाले हाल ल्याइएको कानुन कसरी इजरायली समाजको ठुलो भागका लागि स्वीकार्य हुन्छ भन्ने कुराको व्याख्या गर्न मद्दत गर्छ । कानुनले लगभग कुनै राजनीतिक विरोधको सामना नगर्नुले इजरायलमा सार्वजनिक बहस हुनुपर्छ ।
विश्वव्यापी रूपमा लोकतान्त्रिक राज्य मृत्युदण्डबाट टाढिँदै गएको देखिन्छ । देशभित्र र बाहिर जहाँ भए पनि यो निर्मम सजाय मौलिक मानव अधिकारको उल्लंघन भएको धारणा बढ्दै छ । अन्तर्राष्ट्रिय कानुन आफैँमा बढ्दो आक्रमणको चपेटामा परेको अहिलेको समयमा इजरायल यस प्रवृत्तिको अपवाद नभएर केन्द्रीय चालक बनेको छ । यही भएर उसले प्यालेस्टिनीविरुद्धको प्राणघातक हिंसा र दमनको प्रणाली कायम राख्ने र दमनलाई आफ्नो कानुनी ढाँचाभित्र गहिरो रूपमा सम्मिलित गरिरहेको छ ।
इजरायल अझै पनि आफूलाई लोकतान्त्रिक राज्यको रूपमा प्रस्तुत गर्छ । तर, जुन राज्यले आफ्नो कब्जामा रहेको भूमि (गाजा र पश्चिम किनारा)मा बसोवास गर्ने विशाल जनसंख्याको मृत्युदण्डलाई संस्थागत गर्छ भने त्यो लोकतान्त्रिक हुन सक्दैन । प्रणालीगत हिंसा र भेदभावलाई संस्थागत गर्ने राज्य घातक नियन्त्रणको प्रणाली हो । र, यो कुरा पहिलेदेखि खुला र स्पष्ट छ । बहस तथ्य के हो भन्ने भन्दा पनि इजरायललाई के भनेर मान्यता दिनेबारे केन्द्रित छ, अर्थात् इजरायल यस्तो राज्य हो, जसले प्रणालीगत रूपमा प्यालेस्टिनीलाई एकदम दण्डहीनताका साथ मार्छ र अन्तर्राष्ट्रिय कानुन र आधारभूत नैतिक मान्यतालाई क्षय गर्छ ।
प्यालेस्टिनीमाथि जे भइरहेको छ, त्यसले यसअघि नै अमेरिकासहित प्यालेस्टाइनभन्दा बृहत्तर राजनीतिक र नैतिक सीमालाई पुनः आकार दिइरहेको छ । अन्यायलाई सहन थालियो भने त्यो थप फैलिन्छ । जब कतै अन्तर्राष्ट्रिय कानुन र मानवजीवनको आधारभूत सुरक्षाको विघटनलाई एकपटक स्विकारिन्छ, अन्यत्र उस्तै कामको औचित्य दिन धेरै सजिलो हुन्छ ।
(द गार्जियनबाट )