रणनीति स्पष्ट नहुँदा इरान युद्धमा फस्दै अमेरिका

इरानमा ट्रम्प प्रशासनको गलत गणनाले उसले विगतका भियतनाम, अफगानिस्तान र युक्रेनबाट उचित पाठ सिकेको थिएन भन्ने पुष्टि हुन्छ

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

युद्ध खासमा युद्धभूमिमा भन्दा पहिले अन्य मोर्चामा हारिइसकेको हुन्छ । अर्थात् युद्धभूमिअघि नै नेताहरूको दिमागमा युद्धको हारजितको निक्र्याेल भइसकेको हुन्छ । विशेषतः जब नेताहरूले आफ्ना र विरोधी राम्ररी बुझ्न सक्दैनन् र जब अघिल्लो युद्धले पछिल्लो युद्धको बुझाइमै असर गरिदिन्छ, तब यस्तो अवस्था आउँछ । यस्तोमा इरानलाई लिएर ट्रम्प प्रशासनको गलत गणना एकल घटना होइन । यो अन्तर्राष्ट्रिय राजनीतिको सबैभन्दा पुरानो र घातक परम्परामध्ये एकको पछिल्लो घटना मात्र हो, जहाँ नेताहरूले वास्तविकताबारे गर्ने आकलन र युद्धले निम्त्याउन सक्ने वास्तविकताबिच विनाशकारी खाडल हुन्छ । 

बेवास्ता गरिएका चिन्ता
इरान, इजरायल र अमेरिकासँगको द्वन्द्वअघि अमेरिकाका ऊर्जामन्त्री क्रिस राइटले युद्धले तेल बजारमा अवरोध सिर्जना गर्न सक्ने चिन्तालाई खारेज गरेका थिए । जुन २०२५ मा इजरायल र इरानबिच भएको १२ दिने युद्धको समयमा तेलको मूल्यमा खासै प्रभाव नपरेका आधारमा उनले फेरि पनि उस्तै अवस्था हुने सोचेका हुन सक्छन् । अन्य वरिष्ठ अमेरिकी अधिकारीले पनि राइटकै विचारमा सहमति जनाए ।

युद्ध सुरु भएपछि इरानले मध्यपूर्व क्षेत्रका अमेरिकी आधार, ती आधार रहेका अरब देशका राजधानी र इजरायली घना सहरमाथि मिसाइल र ड्रोन हान्यो । त्यसपछि इरानले स्टे«ट अफ हर्मुज लगभग प्रभावकारी रूपमा बन्द गरिदियो । विश्वको लगभग २० प्रतिशत तेल आपूर्ति हुने यो साँघुरो समुद्री मार्ग बन्द गर्न इरानको नौसेना, समुद्री बारुदी माइन वा सामूहिक रूपमा राखिएको एन्टी–सिप मिसाइल होइन, सस्तो ड्रोन नै पर्याप्त भयो । जब यो समुद्री मार्गवरपर केही हमला ग¥यो, बिमाकर्ताले जहाजको भुक्तानी बढाए र ढुवानी कम्पनीले तेल ढुवानी असुरक्षित भएको निर्णय गर्दै जहाज पठाउन बन्द गरे । त्यसपछि जहाजको बहाब झन्डै शून्यमा झ¥यो, भलै इरानको इच्छा हुँदा कहिलेकाहीँ केही जहाजलाई हालै त्यो भाग पार गर्न दिइएको छ । हर्मुज बन्द भएसँगै विश्लेषकहरूले तेल बजारमा अहिले सन् १९७० को तेल प्रतिबन्धपछिको सबैभन्दा ठुलो ऊर्जा संकट सिर्जना भएको बताएका छन् ।

जुन २०२५ मा इजरायल र इरानबिच भएको १२ दिने युद्धको समयमा तेलको मूल्यमा खासै प्रभाव नपरेका आधारमा अमेरिकाका ऊर्जामन्त्री क्रिस राइटले फेरि पनि असामान्य अवस्था उत्पन्न नहुने आकलन गरेका हुन सक्छन्
 

इरान युद्धबारे अमेरिकी सांसदलाई गरिएको गोप्य ब्रिफिङपछि बोल्दै कनेक्टिकट राज्यका डेमोक्य्राट अमेरिकी सिनेटर क्रिस मर्फीले अहिलेको प्रशासनसँग स्ट्रेट अफ हर्मुजबारे कुनै योजना नै रहेको बताए । सन् १९७९ देखि तेहरानमा कुनै दूतावास नभएका कारण अमेरिकाले इरानभित्र के भइरहेको छ भन्ने कुरा जान्न धेरै हदसम्म सिआइएको गुप्तचर सञ्जाल र इजरायलमा निर्भर भइरहेको छ । इजरायलले आफ्नै देशको हितलाई ध्यानमा राख्छ, जुन अमेरिकी हितसँग नमिल्न सक्छ । उता गुप्तचर जानकारी सधै सटिक नहुन सक्छ । सटीक जानकारीको अभावमा अमेरिकाले जुन २०२५ देखि इरानले महŒवपूर्ण सैन्य क्षमता पुनर्निर्माण गरेको जानकारी पाउनैसकेको रहेनछ । न त इरानले उत्तरी छिमेकी अजरबैजानसहित क्षेत्रभरका छिमेकीमा आक्रमण गर्नेछ भन्ने अमेरिकी अनुमान थियो, जसले द्वन्द्वलाई फारसी खाडीभन्दा बाहिर फराकिलो पारेको छ ।

अझ युद्ध फैलिएर हिन्द महासागरमा पुगेको छ, जहाँ एक अमेरिकी पनडुब्बीले श्रीलंकाको तटबाट दुई हजार माइल टाढा इरानी फ्रिगेट (युद्ध जहाज) डुबाइदियो । आक्रमणमा परेको जहाज खासमा अमेरिकासहित ७४ राष्ट्र सम्मिलित भारतीय नौसेना अभ्यासमा भाग लिएर फर्किँदै थियो । यस आक्रमणले भारतसँग वासिङटनको सम्बन्धमा कूटनीतिक क्षति पुग्यो । यस्तो अवस्था आउन सक्ने कुरा पूर्ण रूपमा पहिले नै अनुमान गर्न सकिन्थ्यो । वासिङटनले भारत र श्रीलंका दुवै देशलाई कठिन अवस्थामा पारिदियो । भारतले आफ्ना जहाजहरूका लागि समुद्रीमार्ग सुरक्षित गर्न इरानसँग कूटनीति रोज्न बाध्य भयो भने श्रीलंकाले आफ्नो तटस्थता कायम राख्ने विकल्प रोजेको छ । तर, अमेरिकी योजनाकारले यो अवस्थाबारे कुनै पनि पूर्वानुमान गरेका थिएनन् ।

भेनेजुएलाबाट गलत पाठ
जनवरी २०२६ मा भेनेजुएलामा अमेरिकाले गरेको द्रुत सैन्य हस्तक्षेपले न्यूनतम प्रहारबाटै द्रुत परिणाम निम्त्याएपछि अमेरिकी सरकारमा यस्तै खालको कारबाहीमा प्रशासनको विश्वास बढ्यो । तर, यस्तो सटिक जित खासमा खतरनाक शिक्षक हुन्छन् । खासमा जब नेतृत्वले आफ्नो शक्ति बढाइचढाइ गर्छ र विरोधीको क्षमता कम आकलन गर्छन् तब विपत्ति आउने सम्भावना बढ्छ । राजनीतिक वैज्ञानिक रोबर्ट जर्बिसले दशकौँअघि नै गलत अवधारणा अन्तर्राष्ट्रिय सम्बन्धमा अनियमित नभएर नियमित ढाँचा भएको बताएका थिए । खासमा नेताहरूले आफ्नो नाफा–घाटाको तर्कलाई विपक्षीहरूमाथि आरोपित गर्छन् । साथमा नेतृत्व ‘उपलब्धता पूर्वाग्रह’मा पनि पर्छन्, जसले गर्दा भर्खरै सम्पन्न भएको सैन्य अप्रेसनका आधारमा आगामी अप्रेसनको रूपरेखा बनाइन सक्छ । अहंकार÷विनम्रता सूचकांक जति उच्च हुन्छ, त्यति नै विपक्षीको रणनीतिको अनुमान गर्ने सम्भावना कम हुन्छ, अर्थात् युद्धको अवस्थामा तेहरानले कसरी सोच्छ ? 

भियतनाममा असफल
भियतनाम युद्धअघि अमेरिकी युद्ध योजनाकारले आफूहरूको भौतिक श्रेष्ठताले हनोईका कम्युनिस्टलाई आत्मसमर्पण गर्न बाध्य पार्ने विश्वास गरेका थिए । तर, त्यसो भएन । अमेरिकी सैन्य श्रेष्ठताले भियतनामीलाई पराजित गर्न सकेन भने राजनीतिक नियन्त्रण त परको कुरा भयो । सन् १९६८ मा भएको टेट सैन्य अभियानमा उत्तर भियतनामी र भियतनामका सेनाले दक्षिण भियतनामभर समन्वित आक्रमण सुरु गर्दा युद्ध लगभग जित्ने अवस्थामा पुगेको अमेरिकी विश्वास चकनाचुर भयो । उसो त त्यस अभियानलाई अमेरिकी र दक्षिण भियतनामी सेनाले अन्ततः विफल पार्न सके । तर, आमभियतनामी नागरिक भने यो आक्रमणमा उत्तरका कम्युनिस्टले गरेको आक्रमणको विशालता देखेर आश्चर्यमा परे । 

भियतनाममा अमेरिकी हार एउटै युद्धमा भएको थिएन, बरु कैयौँ रणनीतिक र राजनीतिक उल्झनबाट भएको थियो । अत्यधिक सैन्य श्रेष्ठताका बाबजुद, वासिङटन एकातर्फ स्थिर, वैध दक्षिण भियतनामी सरकार निर्माण गर्न असफल भयो । उता उसले प्रतिद्वन्द्वी उत्तर भियतनामी सेनाको धैर्य र लचिलोपनलाई पहिचान गर्न असमर्थ भयो । अन्ततः बढ्दो हताहत र यता देशमा ठुलो विरोध प्रदर्शनबिच अमेरिकी सेना पछि हटे । सन् १९७५ मा उत्तर भियतनामी सेनालाई साइगनको नियन्त्रण सुम्पियो । अमेरिकी विश्लेषकले युद्धबारे आफ्नो विपक्षीको दृष्टिकोण चिन्न नसक्दा यो अवस्था आएको थियो । 

अनावश्यक लम्बिएको अफगान युद्ध
सन् १९७९ मा अफगानिस्तानमा सोभियत संघ र सन् २००१ पछि फेरि संयुक्त राज्य अमेरिकाले दुई फरक युद्ध गरे । तर, यी दुवै बाह्य शक्तिको एउटै घातक धारणा थियो– अति खण्डित समाजमा सहजै बाह्य सैन्य शक्तिले द्रुत रूपमा राजनीतिक व्यवस्था लागू गर्न सक्छ । दुवै अवस्थामा, ती ठुला शक्तिले आफ्नो विशाल क्षमताले स्थानीय जटिलतालाई जित्नेछ भन्ने ठानेका थिए । दुवै अवस्थामा, युद्ध छिटो विकराल बन्यो र युद्ध उनीहरूको रणनीतिले धान्न सक्नेभन्दा धेरै लामो समयसम्म लम्बियो ।

रुस, युक्रेन र हर्मुजको जलमार्ग 
खासमा धेरै पुरानो नभए पनि भर्खरैको युक्रेन युद्धले वासिङटनलाई सतर्क गर्नुपर्ने थियो । युक्रेनले प्रदर्शन गर्यो कि भौतिक रूपमा कमजोर शक्तिले पनि युद्धभूमिमा नयाँ शैली अवलम्बन गरेर बलियो आक्रमणकारीलाई ठुलो मूल्य चुकाउने अवस्था निम्त्याउन सक्छ । युक्रेनले सस्तो ड्रोन, विकेन्द्रीकृत अनुकूलन, एआईको प्रयोग र असमान युद्ध रणनीतिको सफल प्रयोग गर्यो । खास अमेरिकाले चार वर्षदेखि यो युद्धमा नजर राखेको थियो, किनकि ऊ आफँै युक्रेनलाई क्षमता बढाउन संलग्न पनि रहेको थियो । तर, युक्रेनमाथि नजर अमेरिकाको मात्र थिएन, यसलाई इरानले पनि हेरिरहेको थियो । जसबाट पाठ सिकेर नै उसले हर्मुजको नाकाबन्दी गरेजस्तो देखिन्छ । 

इरानलाई विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा चेकपोइन्ट हर्मुज बन्द गर्न नौसेनाको आवश्यकता थिएन । यसलाई मात्र ड्रोन भए पुग्ने थियो । युक्रेनले युद्धमा प्रयोग गरिरहेजस्तै सस्तो । युक्रेनमा त्यो खेल जित्न सघाउने वासिङटनले स्पष्ट रूपमा आफैँलाई चाहिँ कहिल्यै यो स्पष्ट प्रश्न सोधेनछ, खासमा यो कुरा ठम्याउन नसक्नु रणनीतिक कल्पनाको असफलता हो ।

इरानलाई परम्परागत रूपमा अमेरिकालाई पराजित गर्न आवश्यक छैन । यसले त महँगी बढाउने गरी समुद्री चेकपोइन्टको फाइदा उठाउने र त्यसपछि अमेरिकाका सहयोगी देशसँग तथा देशकै राजनीतिक विरोधबिचमा दरार ल्याउने अवस्था पर्खिने रणनीति अपनाएको छ । यसो भए अमेरिकाले कुनै नक्कली विजय घोषणा गरेर वास्तविकतामा भने युद्धबाट फिर्ता गर्न बाध्य पार्न सक्छ । उल्लेखनीय रूपमा, इरानले टर्की, भारतीय र साउदी जहाजका लागि छनोट रूपमा जलमार्ग खुला राखेको छ । यो युद्धमा तटस्थ रहेका देशलाई पुरस्कृत गर्ने र अमेरिकी सहयोगीलाई दण्डित गर्ने रणनीति हो, जसले अन्ततः अमेरिकी गठबन्धनमा झन् बढी फाटो ल्याउँछ । 
– द कन्भर्सेसनबाट

सुझावित समाचार