विद्यालयनजिकै सुर्तीजन्य पदार्थको बिक्रीले विद्यार्थीमा पार्छ यस्तो प्रभाव

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

साना बालबालिकालाई लक्षित गरेर भविष्यमा धूम्रपान गर्नेलाई आकर्षित गर्नु विश्वव्यापी रूपमा सुर्ती उत्पादकहरूको लामो समयदेखिको रणनीति हो । यसो गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको गैरकानुनी रूपमा विद्यालयनजिकै चुरोट र अन्य सुर्तीजन्य उत्पादनको बिक्री सुनिश्चित गर्नु हो, जसले गर्दा बालबालिकाहरू बारम्बार सुर्तीजन्य ब्रान्डिङ र चित्रको सम्पर्कमा आऊन् । विद्यालयनजिक हुने यस्ता गतिविधिले धूम्रपान परिचित, सामान्य र पहुँचयोग्य देखिन्छ ।

बंगलादेशले सुर्तीजन्य पदार्थका कारण ठुलो मूल्य चुकाइरहेको छ । देशको राष्ट्रिय हृदय रोग प्रतिष्ठानका अनुसार प्रत्येक वर्ष कम्तीमा एक लाख ६१ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थका कारण हुने गर्दछ । ढाका विश्वविद्यालयको इकोनोमिक्स फर हेल्थ र इन्स्टिच्युट अफ हेल्थ इकोनोमिक्सले गरेको एक अध्ययनले सुर्तीजन्य पदार्थको प्रयोगको कुल आर्थिक लागत ८७,५४४ करोड टाका रहेको पत्ता लगाएको छ, जुन सरकारले सुर्तीजन्य कर राजस्वबाट कमाउने रकमको झन्डै दोब्बर हो ।

यद्यपि, यो बोझ मृत्यु र आर्थिक क्षतिमा मात्र प्रतिबिम्बित हुँदैन, यो नयाँ पुस्तालाई सुर्तीजन्य उत्पादनमा निरन्तर एक्सपोजरसँग पनि सम्बन्धित छ । विशेषगरी किशोर–किशोरीमा धूम्रपान प्रायः विद्रोह, वयस्कता र स्मार्ट देखिने कुरासँग सम्बन्धित छ । बालबालिका र किशोर–किशोरीहरू दृश्य संकेत, ब्रान्डिङ, र उत्पादन प्लेसमेन्टका लागि बढी संवेदनशील हुन्छन् । यही कारणले विद्यालयवरपर बिक्री हुने क्षेत्रको वातावरण यति महत्वपूर्ण हुन्छ ।

बंगलादेशको राष्ट्रिय हृदय रोग प्रतिष्ठानका अनुसार सुर्तीजन्य पदार्थका कारण  प्रत्येक वर्ष कम्तीमा एक लाख ६१ हजार मानिसको मृत्यु हुन्छ 

ऐतिहासिक रूपमा बंगलादेशी विद्यालयको वास्तविक अवस्थाका बारेमा धेरै सीमित सार्वजनिक तथ्यांक छ । विद्यमान प्रमाणले लामो समयदेखि गम्भीर समस्यालाई औँल्याएका छन् । जोन्स हप्किन्सको ब्लुम्बर्ग स्कुल अफ पब्लिक हेल्थले २०१६ मा गरेको एक अध्ययनले ढाकाका ११० विद्यालयहरूको १०० मिटरको दायराभित्रका लगभग ९० प्रतिशत बिक्री क्षेत्रले सुर्तीजन्य पदार्थ बेचेको पत्ता लगाएको थियो । सन् २०१८ मा ढाका अहसानिया मिसनले देशभरका १५७ विद्यालय र २३ खेल मैदानमा एक अध्ययन गरेको थियो । अध्ययनका क्रममा लगभग ९०.५ प्रतिशतनजिकैका विक्रेताहरूले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ बेचिरहेका थिए । यीमध्ये धेरैजसो विक्रेताले सुर्तीजन्य पदार्थको विज्ञापन गर्नुका साथै र खुद्रा चुरोट पनि बेचिरहेका थिए, जसले गर्दा सुर्तीजन्य पदार्थहरू अझ बढी पहुँचयोग्य बनेका थिए ।

हालै नोभेम्बर २०२५ मा चार डिभिजनका १२१ विद्यालय र त्यस वरपरको क्षेत्रमा गरिएको पावर एन्ड पार्टिसिपेसन रिसर्च सेन्टरको अध्ययनले ६६६ सुर्तीजन्य पदार्थ बिक्री स्थल फेला पारेको थियो । जसअनुसार प्रत्येक विद्यालयको १०० मिटरभित्र औसत ५.५ पसल थिए । ग्रामीण क्षेत्रहरूको तुलनामा सहरी क्षेत्रमा घनत्व अलि बढी थियो । चुरोट लगभग चौतर्फी रूपमा उपलब्ध भएको पाइयो । सर्वेक्षण गरिएका सबै आउटलेटहरूको ९९.१ प्रतिशतमा चुरोट बेचिन्थ्यो । विद्यालय वरपरका ८४.४ प्रतिशत बिक्री स्थलमा ‘स्वादयुक्त चुरोट’ उपलब्ध थिए, सहरी क्षेत्रहरूमा अलि बढी उपलब्धता थियो ।

समस्या सुर्तीजन्य पदार्थ बिक्री भइरहेको मात्र होइन, बरु यसलाई कसरी बालबालिकाले देखिने गरी र आकर्षक बनाइँदै छ भन्ने पनि हो । समग्रमा ७१ प्रतिशत पसलले खुला रूपमा सुर्तीजन्य पदार्थहरू प्रदर्शन गर्छन, जसलाई बालबालिकाले सहजै देख्छन् । क्यान्डी, मिठाई, वा खेलौनानजिकै समेत चुरोट व्यापक रूपमा भेटिन्छ । अनुसन्धानका क्रममा केही आउटलेटले ग्राहकलाई चुरोट प्याकहरू आफैँ लिन अनुमति दिएको पाइयो । डमी वा खाली चुरोट प्याकहरू सबैभन्दा सामान्य विज्ञापन सामग्री थिए, त्यसपछि स्टिकर, पोस्टर र ब्रान्डेड मूल्य सूचीहरू थिए ।

बंगलादेश विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी फ्रेमवर्क कन्भेन्सन (महासन्धि)को पक्षधर हो र सुर्तीजन्य पदार्थको प्रयोग, बजारीकरण र उपभोगलाई नियमन गर्न धेरै कानुनी कदम चालेको छ । देशले धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणसम्बन्धी ऐन, २००५ लागू ग¥यो र पछि २०१३ मा यसलाई संशोधन ग¥यो ताकि सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्धहरू सुदृढ गर्न सकियोस्, धूम्रपानमुक्त सार्वजनिक स्थलहरू विस्तार गर्न सकियोस् र ठुला चित्रमय स्वास्थ्य चेतावनी लागू गर्न सकियोस् । डिसेम्बर ३० मा अन्तरिम सरकारले जारी गरेको नयाँ संशोधन लागू भयो । संशोधित अध्यादेशले कुनै पनि व्यक्तिलाई विद्यालय र कलेजजस्ता शैक्षिक संस्थाहरूको १०० मिटरको दायराभित्र सुर्तीजन्य पदार्थ बेच्न वा बिक्री गर्नबाट स्पष्ट रूपमा निषेध गर्दछ । यसले सबै सार्वजनिक स्थान यातायातमा धूम्रपान र ई–चुरोटमा प्रतिबन्धसहित व्यापक धूम्रपानमुक्त प्रावधान प्रस्तुत गर्दै सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा सशक्त प्रतिबन्ध लगाएको छ ।

मार्च १२ मा, अध्यादेश संसद्मा पेस गरियो । अब यसलाई कानुनमा पारित गर्ने र त्यसपछि यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी नयाँ सरकारको हो । यदि हामी हाम्रा बालबालिकाको सुरक्षाको बारेमा गम्भीर छौँ भने, हामी विद्यालयहरूलाई सुर्तीजन्य पदार्थको ब्रान्डिङले घेरिएको अवस्थामा रहन दिन सक्दैनौँ ।
– बंगलादेशको द डेली स्टारबाट

सुझावित समाचार