सबैलाई रहस्यमयी कथा मन पर्छ । केही दिनअघि भारतका सेवानिवृत्त सशस्त्र बलका ८४ जना अधिकारी, चार वरिष्ठ वकिल र केही सेवानिवृत्त कर्मचारी तथा कूटनीतिज्ञले कंग्रेस नेता राहुल गान्धीविरुद्ध एउटा याचिकामा हस्ताक्षर गरेका थिए । याचिकाअनुसार राहुलले ‘आफ्ना हर्कतमार्फत सार्वजनिक वहस र शिष्टाचारको स्तर घटाएरहेका छन् ।’ यसबाहेक उनको व्यवहारमा अहंकार र अधिकारको मनोवृत्ति देखिन्छ रे । कुरा गम्भीर हो । अहंकारी राहुलले कसरी वहसको स्तर घटाए?
खैर, निवेदनमा भनिएको छ कि ‘राहुल गान्धीले अन्य केही संसद्सँगसँगै देशको व्यवस्थापिका भवनको सिँढीमा चिया र बिस्कुट खाइरहेका देखिए, जुन देशको सर्वोच्च व्यवस्थापिका सदस्यका लागि पूर्णतया अनुचित हो ।’ दुःखको कुरा निवेदनमा उचित तरिकाले चिया र बिस्कुट खानु भनेको के हो भनेर खुलाइएको छैन ।
याचिकामा राहुलले शिष्टाचार अनुचित गरेका अन्य उल्लेख गरिएका छैन । निवेदकको आक्रोश बिस्कुटबाट उत्पन्न हुन्छ, र त्यसमै सकिन्छ ।
सिँढीमा बसेर बिस्कुट खाँदैमा यति धेरै आक्रोश उत्पन्न हुनु औचित्यपूर्ण हो कि होइन भन्नेबारे आफ्नै तर्क गर्न सकिन्छ । तर, खासमा रहस्यको प्राथमिक अंश त्यो होइन । केही समयअगाडि एक भाजपा सांसदले राहुलको लोकसभा सदस्यता रद्द गर्न र उनलाई चुनाव लड्न आजीवन प्रतिबन्ध लगाउन माग गर्दै प्रस्ताव पेस गरेका थिए । यो कदम असंवैधानिक हुन सक्छ, तर प्रस्तावलाई धेरै भाजपा सांसदको समर्थन देखियो ।
राहुल सधैँ निसानामा
भाजपाले लामो समयदेखि राहुललाई एक ‘जोकर’ र प्रभावहीन व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । केही भाजपा समर्थकले अझ अगाडि बढेर राहुल जति लामो समय विपक्षी नेता रहन्छन्, भाजपाका लागि त्यति नै फाइदा हुने बताउँछन् । उनीहरूको विचारमा राहुल यति खराब नेता हुन् कि उनको नेतृत्वमा कंग्रेस निरन्तर सड्दै गएको छ र यसले भाजपालाई फाइदा गरेको छ ।
यदि राहुल यति बेकार छन्, भाजपा सरकारका लागि फाईदाजनक र विपक्षका लागि बोझ हुन् भने पुरा भाजपा उनैकै पछि किन लाग्छ ? बिस्कुट खाएको विषयमासम्बन्धी याचिका यति हतास छ कि धेरैलाई यसले हाँसो मात्र उठाउँन सक्छ । जब सदनमा उनको उपस्थितिले (बिस्कुटसहित वा बिना) भाजपा सरकारलाई फाइदामा गर्छ र उनको पार्टीलाई हानी गर्छ भने उनलाई संसद्बाट निकाल्ने प्रयास किन ? मैले यी प्रश्नको एउटै पनि भरपर्दो उत्तर पाउन सकेको छैन । यसबाहेक, मैलेजस्तै तपाईंले पहिले यस्तो केही प्रयास गरिसक्नुभएको छ र त्यो नराम्रोसँग असफल भएको छ यसको कारण बुझ्नका तपाईं सर्लक होम्स हुनु आवश्यक छैन ।
राहुल गान्धी जति लामो समय विपक्षी नेता रहन्छन्, भाजपाका लागि त्यति नै फाइदा हुने भाजपा समर्थक बताउँछन् । तर, सदनमा उनको उपस्थितिले भाजपा सरकारलाई फाइदा गर्छ र उनको पार्टीलाई हानि गर्छ भने पटक–पटक उनलाई संसद्बाट निकाल्ने प्रयास किन ?
सन् २०२३ मा सुरतको एक अदालतका न्यायाधीशले राहुल गान्धीलाई मानहानिको दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाए । लगतै उनको संसद पद गयो । तर यस फैसलाले पनि राहुललाई निरुत्साहित गरेजस्तो देखिएन । उनले देशभर भाजपाको विरोध गरिरहे । त्यसको केही महिनापछि सर्वोच्च अदालतले फेरि राहुलको पुरानो सजाय उल्टाउदै उनको पक्षमा फैसला सुनायो र उनी संसद्मा पुनस्र्थापित भए ।
त्यसो भए यति उल्लेखनीय असफलतापछि फेरि किन उही पुरानै काम गर्ने ? राहुलका बारेमा किन यति धेरै आक्रोशितहुने ? सार्वजनिक बहस र संसदीय मर्यादाका लागि खतराको रूपमा उनलाई चित्रण गर्न किन यतिधेरै प्रयास गर्ने ? किन उनलाई बेवास्ता नगर्ने ? कंग्रेसको आफ्नै व्याख्या छ । कंगे्रसको दाबी छ कि भाजपा राहुलको बढ्दो लोकप्रियताबाट यति अत्तालिएको छ कि उनको बाटोमा बाधा पुर्याउन खोजिरहेको छ । प्राय यथार्थवादी कंग्रेसीजनले मन पराएको दोस्रो व्याख्या भने सरकार गान्धी परिवार र विशेषगरी राहुलप्रतिको घृणाले यति अन्धो भएको छ कि उसले विवेकहीन ढंगले काम गर्न थालेको छ । म दुवै व्याख्या स्वीकार गर्दिनँ । भारतीय राजनीतिमा केही चलाख रणनीतिकारद्वारा भाजपा सञ्चालित छ, जो विरलै यसरी सोचविचार नगरी काम गर्ने गर्छ । त्यसैले, स्पष्ट रूपमा यसका पछाडि केही रणनीति छ । तर, यसबारे कसैलाई थाहा छैन ।
राहुलविरुद्ध कथा बुन्दै भाजपा
मलाई शंका छ कि भाजपाको गुरुयोजनामा राहुललाई राजनीतिबाट बाहिर निकाल्ने कुरा समावेश छ । तिनीहरू सफल भए पनि तिनीहरूले प्राप्त गर्ने भनेको प्रियंकालाई कंग्रेसको नेतृत्वका लागि धकेल्नु मात्र हो । अर्को चुनावमा युद्धले थाकेका राहुलभन्दा नयाँ अनुहारले बढी चुनौती दिन सक्छ । यसबाहेक, राहुलमा यति धेरै ध्यान केन्द्रित गरेर भाजपाले उनलाई विपक्षको सबैभन्दा महत्वपूर्ण नेताजस्तो देखाउने जोखिम उठाएको छ, जुन कुरा विपक्षीलाई कत्ति मन परेको छैन ।
यसको एउटा मात्र व्याख्या छ, जुन केही अर्थपूर्ण छ । भाजपालाई थाहा छ कि अर्को चरणको विधानसभा चुनाव सकिएपछि प्रमुख निर्वाचन आयुक्तकेन्द्रित आलोचना हुनेछ (मानौँ कि उनले विपक्षीले अपेक्षा गरेजस्तै व्यवहार गर्छन्) । राष्ट्रपतिको अपमान भएको भनिएको आरोपमा हालै भएको हंगामालाई विचार गर्नुहोस् । यो मुद्दा कहिल्यै अगाडि बढेन । तर, प्रधानमन्त्री र उनको सम्पूर्ण मन्त्रिपरिषद्ले राष्ट्रपतिको कार्यालयजस्ता संस्थाप्रति सम्मानको कमीका बारेमा पोस्ट गरे । अब, राहुल र उनको बिस्कुटमाथि संसद्प्रति सम्मानको कमीको आरोप लगाइएको छ ।
के यो भाजपाको विषय बन्नेछ ? के यसले निरन्तर भनिरहनेछ कि विपक्षीलाई भारतका संस्थाहरू, चाहे त्यो राष्ट्रपतिको कार्यालय होस् वा संसद्प्रति कुनै सम्मान छैन ? यसरी, जब विपक्षीले मुख्य निर्वाचन आयुक्तका बारेमा गुनासो गर्छ, भाजपाले भन्न सक्छ कि यो भारतीय लोकतन्त्रका संस्थामाथिको ठुलो आक्रमणको अंश हो । यसले औँल्याउनेछ कि यो भाजपाको मात्र दृष्टिकोण होइन । राष्ट्रपति आफैँले गुनासो गरेका छन् । नागरिक समाजका प्रतिष्ठित सदस्यहरू (बिस्कुट डेकोरमका मानिसहरू) ले पनि संस्थाहरूप्रति सम्मानको कमीमा दुःख व्यक्त गरेका छन् ।
मलाई लाग्दैन कि यो कथाको रूपमा काम गर्नेछ । हामी सबैले उनीप्रति गरेको सम्मानका बाबजुद राष्ट्रपतिको बैठकस्थल वा बाथरुममा पानीको अभावबारे भएका गुनासाबारे कसैले पनि धेरै वास्ता गरेन । बिस्कुटको याचिकालाई मजाकको रूपमा खारेज गरिएको छ । तर, कथा यसरी नै निर्माण हुन्छ । तपाईं बारम्बार एउटै कुरा भनिरहनुहुन्छ, जबसम्म तपाईंले वास्तवमै बचाउन चाहनुभएको व्यक्तिको बचाउ गर्ने समय आउँदैन ।
के राहुलमाथिको आक्रमणको रहस्यको समाधान यही हो ? यस चरणमा भन्न गाह्रो छ । तर, हेरौँ विधानसभा चुनाव कसरी जान्छ र निर्वाचन आयोगले विपक्षीले भनेजस्तै व्यवहार गर्छ कि गर्दैन । यदि त्यसो भयो भने संस्थाहरूप्रति सम्मानको कमीको कथा अन्ततः अर्थपूर्ण हुनेछ । र, राहुलमाथिको आक्रमण ठुलो ढाँचामा फिट हुनेछ ।
(द प्रिन्टबाट)