- २१ फागुनको निर्वाचन परिणामले मतदाता दलका कारिन्दा होइनन्, सार्वभौम मालिक हुन् भन्ने प्रस्ट सन्देश दिएको छ
नेपालमा भर्खरै सकिएको चुनावले दीर्घकालीन सन्देश दिएको छ । नेपाली जनतामा वर्षौंदेखिको आक्रोश चुनावमा पोखिएको छ । ठुला र स्थापित भनिएका दललाई यस निर्वाचनले गतिलो झट्का दिएको छ । यसपटकको निर्वाचन परिणाम पूर्वसत्ताको अन्यायको फलमाथि उभिएको छ । वर्षौंदेखि सिलौटामा पिसिएका जनताको आक्रोशको झल्को हो यो चुनावको परिणाम । चुनावले मतदाता दलका कारिन्दा होइनन्, असली सार्वभौम मालिक हुन् भन्ने प्रस्ट सन्देश दिएको छ । दलहरूले जहाँ भन्छन्, जनताले त्यहीँ स्वस्तिक छाप लाउँदा रहेनछन्, आफ्नो विवेक प्रयोग गर्दा रहेछन् भन्ने प्रस्ट सन्देश यसपटकको मौन विद्रोहले दिएको छ ।
जनता समाजका ठालु भनाउँदाहरूका पिछलग्गु होइनन्, आफैँ निर्णायक शक्ति रहेछन् भन्ने पनि यस निर्वाचनले देखाइदिएको छ । जनताले वर्षौंदेखिका गढ र कोर एरियाबाट माथि उठेर भूगोलको राजनीतिमा सीमित नभई राष्ट्रिय राजनीतिमा आफ्नो सशक्त भूमिका खोज्दा रहेछन् । वास्तवमा जनतालाई कसैले झुक्याउन सक्दो रहेनछ, उल्टै जनताले नै दलहरूलाई झुक्याइदिँदा रहेछन् भन्ने पनि यो चुनावले प्रस्ट पारेको छ । यो चुनावले देखायो नेताका ‘गणेश प्रवृत्ति’का उम्मेदवारको हविगत के हुने रहेछ ।
यहाँ बहुमत पाउने दल र उसका उम्मेदवार पूरै ठिक भन्न खोजिएको होइन । उनीहरूको परीक्षण त समयले गरि नै हाल्छ । प्रश्न त मत परिवर्तनको पो हो । चाहे त्यो रिस थियो या परिवर्तनको हुटहुटी, मत परिवर्तनचाहिँ भयो । मत परिवर्तनका लागि कसैको सिन्डिकेटले रोक्दो रहेनछ । मत परिवर्तनका लागि न पारिवारिक विरासत, न अमुक दलको छाया, न आफ्नै जाति, न धर्म, न भूगोल, त्यसका लागि जनताको अन्तरात्मा नै काफी हुँदो रहेछ । त्यो मत सहीलाई दिए वा गलतलाई, त्यो त समयले बताउला तर प्रमुख मुद्दा त मत परिवर्तन रहेछ । सधैँ एउटै ठेकेदारलाई मतको ठेक्का दिने रहेनछन् ।
अब पुराना दलले के सन्देश लिने भन्ने विषयमा चर्चा गरौँ । सर्वप्रथम कांग्रेसले के सन्देश लिने ? एउटा प्रश्नचाहिँ विशेष महाधिवेशनको सन्देश जनतामा पुर्याउन नसक्नु र त्यसबाट कार्यकर्ताबाहेक आमजनताले के पाए भन्ने प्रश्नको जवाफ नपाउनु हो । अब फेरि त्यही दलभित्र एउटा पक्ष बडो जोडतोडले विशेष महाधिवेशनको औचित्य समाप्त भयो भन्दै झ्याली पिट्दै हिँडेको देखिन्छ । समयमै यिनको सद्बुद्धि आओस् । विशेष महाधिवेशनले नै कांग्रेसको यतिको उपस्थिति बनाएको हो, अन्यथा एमालेभन्दा गतिले अवस्था देखिने थिएन । यतिखेर सभापतिको राजीनामा, राजीनामा फिर्ता, पूर्वसंस्थापनको बैठक आदिको दोहोरी अन्त्य गरी नियमित महाधिवेशनबाट व्यापक युवा जनशक्ति कांग्रेसमा समाहित हुन आवश्यक छ । टाउको परिवर्तन मात्र होइन, व्यापक संरचनागत सुधार आवश्यक छ । अनि अनुहारमा कालो दाग हुँदा ऐना पुछ्ने प्रवृत्ति हट्नुपर्छ । कांग्रेसभित्रको गुटगत राजनीति र दाइ प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । सडक र सदन दुवैमा उसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ ।
हुन त एमालेमा सुझाव लिनेभन्दा सुझाव दिने धेरै छन् । पिएचडी गर्नुलाई फगत कागजको खोस्टो न हो भन्दिने पनि त्यहीँ छन् । यसको संगठनात्मक दर्शनको मूल मर्म जनवादी केन्द्रीयता अहिलेको अवस्थामा त छ तर जनवादी छैन । यसलाई जनवादी केन्द्रीयता नै व्यवहारत: पालना गर्नुपर्छ । विवादित नेतृत्वलाई बहिष्कार गर्नुपर्छ । हुन त कोर टिमभित्रैबाट नेतृत्व परिवर्तनको मसिनो स्वर सुनिन्छ । तर, त्यसलाई सशक्त रूपमा कार्यान्वयन गर्नुपर्छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि ‘सुप्रिमो’ नेतृत्व होइन, कार्यकर्ता र जनता ‘सुप्रिमो’ हुन् भन्ने मानक स्थापित गर्नुपर्नेछ । यहाँ पनि नेतृत्व परिवर्तन अपरिहार्य छ । सत्ताको चुम्बक हानिकारक छ भन्ने सन्देश लिनुपर्छ अनि आफ्नो विचारको धुरी मान्ने माओको भनाइ ‘जनताको सेवा गर’लाई व्यवहारत: पालना गर्नुपर्छ । जंगलमा सिंह निस्केसी के हुन्छ होइन, सिंह बुढो भएपछि के हुन्छ, त्यता सोच्नुपर्ने देखिन्छ । मधेशवादी दलहरूले पनि भूगोल र क्षेत्रीयता केवल सत्ता स्वार्थको पुल होइन, त्यो त जनताको पहिचान हो भन्ने मानकलाई पुन: आत्मसात् गर्नुपर्छ ।
यस निर्वाचनमा पुराना दलका आस्थावान् कार्यकर्ताको मत मात्र परिवर्तन भएको हो, विचार होइन । विचार यथावत् रहेको यो चुनावले ठुलो सन्देश दिएको छ । ठुलो जनसमर्थन अझै पनि पुराना दलसँगै छ । भनिन्छ नि, सदनभन्दा सडक बलियो सडकभन्दा राजनीतिक मुद्दामा जेलभित्र रहेको नेता सशक्त हुन्छ । यही मानक यी दलले स्थापित गर्नुपर्नेछ । त्यसैले, सडक र सदनबाट जनताको आवाज सुन्ने र जुरुक्क उठाउने काम अपरिहार्य छ । अन्यथा, कार्यकर्ताले मत परिवर्तन गरेजसरी दल नै परिवर्तन गर्ने स्थिति आउन धेरै टाढा छैन । आशा गरौँ, त्यो दिन नआओस् ।
दुईतिहाइनिकट बहुमत ल्याउने दललाई सत्ताको उन्माद नलागोस् । जनमतले सत्ताको उन्माद सहनेछैन दुईतिहाइ फगत सत्ता सञ्चालनका लागि हो । इतिहासमा दुईतिहाइ पाएका उदाहरण नेपालमा पनि छ । शक्तिशाली सरकार बनेका उदाहरण पनि छन् । विगतमा ती कसरी पतनोन्मुख भए, त्यसबाट सिकेर नयाँ दल त्यसैको नयाँ ‘भेरिएन्ट’ नबनोस्, शुभकामना छ ।