आज (बिहीबार) साँझ पश्चिम नेपाल भएर भित्रिने पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारभन्दा शुक्रबार झन् धेरै ठाउँमा वर्षा हुने र खासगरी पश्चिम क्षेत्रमा ठुलो पानी पर्ने आकलन गरिएको छ ।
विभागका मौसमविद् सरोज पुडासैनीले प्रि–मनसुन भएकाले मेघगर्जन, चट्याङसहित असिनापानीको सम्भावना रहेको बताए । ‘सबैतिर एकैनासको पानी पर्नेभन्दा पनि कतै कम, कतै धेरै हुन्छ, बादल मडारिएर वर्षा हुन्छ,’ पुडासैनीले भने, ‘चट्याङ र असिनाको पनि सम्भावना छ ।’ प्रि–मनसुनमा पश्चिमी र स्थानीय वायु कायमै रहने भए पनि न्यूनचापीय प्रणाली मिसिन थालेको हो ।
मौसम विभागका अनुसार आज (बिहीबार) दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी र हिमाली भूभागका केही स्थान, लुम्बिनी र गण्डकीका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा पानी पर्ने देखिन्छ । त्यस्तै, कोशी र बागमतीका पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम तराईका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा हुने देखिन्छ ।
विभागका अनुसार भोलि (शुक्रबार) कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका धेरै ठाउँमा पानी पर्ने देखिन्छ । केही ठाउँमा ठुलो पानी पर्ने आकलन गरिएको छ । त्यस्तै गण्डकी, लुम्बिनीसँगै सुदूरपश्चिमका तराईमा पनि पानी पर्ने देखिन्छ । कोशी, मधेश र बागमतीका भने थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित पानी पर्ने आकलन गरिएको छ । शुक्रबार राति पनि कोशी, मधेश, बागमतीमा पानी पर्ने आकलन गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा पनि पनि पर्नेछ । यो प्रणालीका कारण शनिबार पनि वर्षा हुने देखिन्छ ।