इरानको सुरक्षा प्रमुख लारिजानी मारिएको इजरायलको दाबी

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र आन्तरिक सुरक्षा बल बासिज मिलिसियाका कमान्डर घोलामरेजा सुलेमानीको हत्या गरेको दाबी गरेको छ । तथापि, इरानले मंगलबार रातिसम्म यसको कुनै पुष्टि वा खण्डन गरेको छैन । इजरायलका रक्षामन्त्री इजरायल काट्ज आफैँले मंगलबार लारिजानी मारिएको बताएका थिए । 

यदि लारिजानी मारिएको पुष्टि भयो भने उनी फेब्रुअरी २८ को पहिलो दिन आक्रमणमा पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उनको परिवारका धेरै सदस्यको मृत्युपछिको सबैभन्दा उच्चस्तरको हत्या हुनेछ । लारिजानीलाई अन्तिमपटक शुक्रबार सार्वजनिक रूपमा देखिएका थिए, जब उनी राष्ट्रपति मसुद पेजेस्कियानसँगै तेहरानमा प्यालेस्टिनीहरूको समर्थनमा आयोजना गरिएको अल–कुद्स दिवसको र्`यालीमा सहभागी भएका थिए । वर्षौंदेखि प्रमुख इरानी राजनीतिज्ञ रहेका लारिजानीले कुनै समय पश्चिमसँग भएको आणविक वार्ताको इरान पक्षको नेतृत्व गरेका थिए । उनी लामो समय संसद्को सभामुख भए ।

इजरायली सेनाले मंगलबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सको आन्तरिक सुरक्षा मिलिसिया बासिजका कमान्डर घोलामरेजा सुलेमानी पनि मारेको दाबी गरेको छ । इरानले यसको पनि पुष्टि गरेको छैन । रिभोलुस्नरी गार्डअन्तर्गतको स्वयंसेवी अर्धसैनिक बल बासिज सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थापना भएको थियो । देशव्यापी रूपमा आन्तरिक सुरक्षा लागू गर्ने जिम्मेवारी दिइएको यस निकायको देशभरका सदहरमा स्थानीय शाखा सञ्चालन गर्छ । यो सुरक्षा बल प्रायः विरोध प्रदर्शन दबाउन प्रयोग हुने गरेको आरोप लाग्छ । 

सुझावित समाचार