सन् १९८५ : कोन्स्ट्यानटिन चेर्नेन्कोको मृत्युपछि ५४ वर्षीय मिखाइल गोर्बाचेभ सोभियत संघको सत्तारुढ कम्युनिस्ट पार्टीका महासचिव चुनिए । उनले सोभियत समाज र अर्थतन्त्रमा ठुलो उथलपुथल ल्याउन ल्याएको ‘पेरेस्ट्रोइका (पुनर्संरचना)’ र ‘ग्लास्नोस्ट (खुलापन)’ नीतिले अन्तत: सोभियत संघकै विघटनमा योगदान गरेको आरोप लाग्छ ।
सन् १६६९ : सिसिली (इटाली)मा अवस्थित माउन्ट इट्नामा रेकर्ड राख्ने थालिएयताकै सबैभन्दा ठुलो ज्वालामुखी विस्फोट हुँदा १५ हजारदेखि २० हजार मारिए ।
सन् १७०२ : पहिलो नियमित छापिने अंग्रेजी पत्रिका ‘डेली कुर्यान्ट’को यसै दिनदेखि लन्डनबाट प्रकाशन सुरु भयो ।
सन् १७७९ : अमेरिकी सेनाभित्रको इन्जिनियरहरूको समूह ‘युएस आर्मी कोप्र्स अफ इन्जिनियर’ यसै दिन पहिलोपटक गठन भयो ।
सन् १७८९ : बेन्जामिन बेनेकर र प्रियरे चाल्स एल’ एनफान्टिनोले अमेरिकाको नवघोषित राजधानी वासिंटन डिसीमा बस्ती बसाउन अन्वेषण सुरु गरे ।
सन् १८१० : महारानी जोसेफाइनबाट कुनै सन्तान नभएको भन्दै उत्तराधिकारीकै लागि भनेर सम्राट् नेपोलियन बोनापार्टको यसै दिन अस्ट्रियाकी १८ वर्षीय म्यारी लुईसँग विवाह भयो ।
सन् १८६१ : संयुक्त राज्य अमेरिकाबाट अलग भएको ‘कन्फडरेट स्टेट्स अफ अमेरिका’का प्रतिनिधिले मोन्ट्गोमेरी भेलाबाट नयाँ संविधान अंगिकार गरे ।
सन् १८७२ : जापानको मेइजी सरकारले र्युक्यु अधिराज्यलाई जापानमा गाभेसँगै ओकिनावा जापानको हिस्सा बन्यो ।
सन् १९९० : लिथुआनियाको संसद्ले सोभियत संघबाट अलग भएर स्वतन्त्र भएको घोषणा गर्यो ।
सन् २०११ : जापानको सेन्दाईबाट १३० किमि पूर्व समुद्रमा केन्द्रबिन्दु बनाएर आएको नौ रेक्टर स्केलको भूकम्प र त्यसले निम्त्याएको सुनामीले ठुलो क्षति पुर्यायो । झन्डै १८ हजार मारिए भने फुकुसिमा दाइची आणविक केन्द्रमा असर गर्दा आणविक विकिरण चुहियो ।
सन् २०२५ : ‘इन्टरनेसनल क्रिमिनल कोर्ट’को वारेन्टमा फिलिपिन्सका पूर्वराष्ट्रपति रोद्रिगो दुतेर्ते मनिलामा पक्राउ परे ।
सन् २०२५ : डा. एडवर्ड अस्टोन नेतृत्वको वैज्ञानिक टोलीले शनि ग्रहका १२८ नयाँ उपग्रह पत्ता लागेको समाचार बाहिर ल्याए । यससँग सो ग्रहको उपग्रहको संख्या २७४ पुगेको छ ।