सन् १७८९ : संयुक्त राज्य अमेरिकाको कंग्रेसको पहिलो बैठक न्युयोर्कस्थित फेडरल हलमा बस्यो । योसँगै देशको संविधान कार्यान्वनमा आएको घोषित गरियो ।
सन् १७९० : फ्रान्सले देशलाई ८३ डिपार्टमेन्टमा विभाजित गर्यो, जसले देशलाई एक गर्न भूमिका खेलेको थियो ।
सन् १७९१ : भरमोन्ट अमेरिकाको १४औँ राज्य बन्यो । यो ब्रिटिस शासनविरुद्ध लडेर स्वतन्त्र भएर ‘संयुक्त राज्य अमेरिका’ बनेका प्रारम्भिक १३ राज्यपछि संघमा जोडिने पहिलो नयाँ राज्य थियो ।
सन् १८०१ : अमेरिकाका तेस्रा राष्ट्रपति थोमस जेफरसनले पहिलोपटक नवघोषित राजधानी वासिङटन डिसीमा शपथ लिए । उनीअघिका दुई राष्ट्रपतिले फिलाडेल्फियामा शपथ लिएका थिए ।
सन् १८६१ : ‘युनाइटेड स्टेट्स अफ अमेरिका(युएसए)’बाट अलग भएको ‘कन्फडरेट स्टेट्स अफ अमेरिका(सिएसए)’ले अलग राष्ट्रिय झन्डा अंगीकार गर्यो ।
सन् १९२९ : मेक्सिकोमा एकअर्कासँग लडिरहेका नेतालाई मिलाउँदै ‘नेसनल रिभोलुस्नरी पार्टी(पिएनआर)’ स्थापना भयो, जुन पार्टी लगातार सन् २००० सम्म ७१ वर्ष सत्तामा रह्यो ।
सन् १९५७ : स्वतन्त्रताको दुई दिनअघि ब्रिटिस उपनिवेश ‘गोल्ड कोस्ट’ले आफ्नो नाम घानामा बदल्यो ।
सन् १९७९ : अमेरिकी अन्तरिक्षयान ‘भोयाजर प्रथम’ले वृहस्पतिको विशाल घेराको पहिलो फोटो खिच्यो ।
सन् १९८७ : इरानमा बन्धक बनाइएका नागरिक रिहा गर्न हतियार दिने सम्झौताको खुलासा भएपछि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले राष्ट्रको नाममा सम्बोधन गर्दै यस प्रकरणमा सरकारको संलग्नता स्वीकार गरे ।
सन् २००७ : इस्टोनियाले संसदीय निर्वाचनमा इलोक्ट्रोनिक भोटिङ प्रणाली प्रयोगमा ल्याउने पहिलो देश बन्यो ।
सन् २००९ : इन्टरनेसनल क्रिमिनल कोर्टले सुडानका राष्ट्रपति ओमर अल–बसिरविरुद्ध पक्राउ पुर्जी जारी गर्यो, जुन सत्तासीन राष्ट्रप्रमुखविरुद्ध जारी यस्तो पहिलो पक्राउ पुर्जी थियो ।
सन् २०२४ : फ्रान्स गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता प्रदान गर्ने विश्वको पहिलो देश बन्यो ।