- युएईका मोहमद अर्फानलार्ई आउट गर्दै अफगानिस्तानका रासिद खान टी–२० फम्र्याटमा सात सय विकेट लिने पहिलो बलर
अफगानिस्तानका कप्तान रासिद खानले टी–२० फर्म्याटमा सात सय विकेट लिएका छन् । रासिदले आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सोमबार समूह ‘डी’मा युएईका मोहमद अर्फानलाई आउट गरेसँगै रासिद यस विधामा सात सय विकेट लिने पहिलो बलर बनेका हुन् । नयाँदिल्लीमा भएको प्रतिस्पर्धामा अफगानिस्तानले युएईमाथि पाँच विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको युएईले नौ विकेट गुमाएर एक सय ६९ रनको योगफल खडा गरेको थियो ।
प्रत्युत्तरमा अफगानिस्तानले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन जोड्दै जित निकाल्यो । जितसँगै आफगानिस्तानले पनि यस समूहबाट सुपर एटको आशा जीवितै बनाएको छ । अफगानिस्तानले एक खेल खेल्न बाँकी छ । न्युजिल्यान्ड चार अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ अंकका साथ सुपर एटमा पुगिसकेको छ । अफगानिस्तानका अलराउन्डरसमेत रहेका रासिदले टी–२० फर्म्याटमा नयाँ इतिहास रच्ने क्रममा पाँच सय १८ खेलेका छन् । उनले पाँच सय १३ इनिङ्स बलिङ गरी सात सय विकेट हात पारेका हुन् । दोस्रो स्थानमा वेस्ट इन्डिजका डवाने ब्राभो छन् । ब्राभोले आफ्नो टी–२० करिअरमा पाँच सय ८२ खेल खेल्दै ६ सय ३१ विकेट लिएका छन् । ब्राभोले सन् २००६ देखि ०२४ सम्म वेस्ट इन्डिजको टोलीमा रहँदै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरेका थिए । वेस्ट इन्डिजका पूर्वखेलाडी सुनील नारिन टी–२० फर्म्याटमा धेरै विकेट लिने बलरको सूचीको तेस्रो स्थानमा छन् । उनले ५८३ टी–२० खेलमा ६ सय १३ विकेट लिएका छन् । सुनील अहिले पनि टी–२० फ्रेन्चाइजमा सक्रिय छन् । सन् २०११ देखि अन्तर्राष्ट्रिय करिअर सुरु गरेका उनले ५७३ टी–२० खेलमा बलिङ गरेका छन् ।
टी–२० फर्म्याटकै अनुभवी अलराउन्डर
समग्र टी–२० फर्म्याटकै अनुभवी अलराउन्डरका रूपमा रासिदलाई लिने गरिन्छ । विश्वकै नाम चलेका टी–२० फ्रेन्चाइजमा उनको उपस्थिति रहेको छ । उनले अहिलेसम्म टी–२० आईमा एक सय १४ खेलमै बलिङ गरी एक सय ९१ विकेट लिएका छन् । टी–२० आईमा उनले दुईपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । उनले नौपटक चार विकेट लिएका छन् । समग्र टी–२० खेलको समीक्षा गर्दा रासिदले १८ पटक चार विकेट र चारपटक पाँच विकेट लिएको रेकर्ड छ । उनको इकोनोमी ६.५९ रहेको छ । यसैगरी, ब्याटिङका क्रममा उनले ५१८ टी–२० खेलमा दुई हजार आठ सय ७३ रन बनाएका छन् । यस विधामा उनले पाँचपटक अर्धशतकीय इनिङ्स खेले ।
आइपिएलदेखि क्यारेबियन लिगसम्म
रासिदले आफ्नो करिअरमा विश्वकै चर्चित फ्रेन्चाइज लिगमा आबद्ध हुँदै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । लेग ब्रेक स्पिनर बलिङ गर्ने रासिद सन् २०१७ मा इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादमा आबद्ध भएका थिए । आइपिएल खेल्ने उनी पहिलो अफगानी खेलाडी हुन् । सनराइजर्समा उनले पाँच सिजन बिताए । उनले एकपटक सनराइजर्सलाई आइपिएल ट्रफीसमेत दिलाएका छन् । सन् २०२३ देखि रासिद गुजरात टाइटन्सबाट खेलिरहेका छन् । सन् २०२३ को सिजनमा उनी आइपिएलकै सर्वाधिक विकेट लिने दोस्रो बलर बनेका थिए । त्यसवेला उनले २७ विकेट हात पारेका थिए । आइपिएलमा उनले २२औँ ह्याट्रिक पूरा गरेका थिए । यसैगरी, उनले सिजन ब्रेक भएको समयमा वेस्ट इन्डिजमा हुने क्यारेबियन लिगमा खेल्न पुग्छन् ।