चुनावी प्रतिस्पर्धामा कलाकार

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

२१ फागुनको निर्वाचनमा दलहरूले गायक–गायिका, अभिनेता–अभिनेत्री, मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोताहरूलाई पनि प्रतिस्पर्धामा उतारेका छन् । तीनजना प्रत्यक्षतर्फ नै उम्मेदवार छन् भने केहीको नाम दलहरूको समानुपातिक बन्दसूचीमा छ । अभिनेत्री निशा अधिकारी काठमाडौं ५ बाट चुनावी मैदानमा उत्रिएकी छिन् ।

गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी उनको चुनाव चिह्न ब्याट्री हो । चलचित्र ‘मिसन पैसा’बाट सिने क्षेत्रमा लागेकी उनले ‘अपवाद’, ‘नैना रेशम’ ‘पल’, ‘फस्र्ट लभ’, ‘आभाष’, ‘मिसन पैसा– २’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । अधिकारी सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्रीसमेत हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो घोषणापत्र सार्वजनिक गरेकी उनले रोजगारी, महिला अधिकार, विकास तथा पूर्वाधार, खेलकुद र ज्येष्ठ नागरिकलगायतका विषय प्रमुख एजेन्डा रहेको बताएकी छिन् । 

जनवादी गायिका सिन्धु जलेशा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पश्चिम नवलपरासी १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन् । उनले ‘मातृभूमि नेपाल हो...’, ‘चाहँदैमा सबै कुरा...’लगायत दर्जनौँ गीतमा स्वर दिएकी छिन् । उनका ‘हाम्री हजुरआमा...’, ‘तिजै आयो...’लगायतका तिजगीत चर्चित छन् । विगतमा उनले एमालेको जनसांस्कृतिक महासंघको कोषाध्यक्षका रूपमा पनि काम गरेकी थिइन् । 

एमालेले जनवादी गायक अस्मिन घिमिरेलाई चितवन २ बाट उम्मेदवार बनाएको छ । उनी गायनसँगै अनेरास्ववियुको राजनीतिमा लागेका थिए । उनको ‘आयो आयो अखिल...’ बोलको गीत निकै चर्चित छ । 

दलहरूले कलाकारहरूलाई समानुपातिक उम्मेदवार पनि बनाएका छन् । रास्वपाले चर्चित गायक प्रकाश सपुत, अभिनेत्री रिमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र कलाकार रूपक घिमिरेलाई समेटेको छ । दलित पुरुषतर्फको क्लस्टरमा सपुत पहिलो र घिमिरे तेस्रो नम्बरमा छन् । त्यस्तै, रिमा दलित महिला क्लस्टरको पहिलो नम्बरमा र अनुष्का आदिवासी जनजाति महिला क्लस्टरमा छिन् । उनीहरू सबैले आफ्नो पार्टीको पक्षमा मत बटुल्न चुनावी अभियान थालिसकेका छन् । 

अर्की अभिनेत्री तथा मोडल एलिजा गौतमलाई आम जनता पार्टीले समानुपातिक उम्मेदवार बनाएको छ । उनी खस–आर्य महिला क्लस्टरको पहिलो नम्बरमा छिन् । यस्तै, एमालेले गायिका कोमल वलीलाई समानुपातिक सूचीमा खस–आर्य महिला क्लस्टरतर्फ चौथो नम्बरमा राखेको छ । एमाले नेतृसमेत रहेकी उनी पार्टीको पक्षमा मत बटुल्न सक्रिय छिन् । 

सुझावित समाचार