हरेक निर्वाचनमा औसत चार लाख २१ हजार मत किन बदर हुन्छ ?
निर्वाचनमा मत बदर हुनुमा विभिन्न कारण जिम्मेवार हुन्छन् । हामीकहाँ मतदाता साक्षरताको स्थिति कमजोर छ । यसले गर्दा पनि मत बदर हुन्छ । मतपत्रको आकार र यसको डिजाइनले पनि मतदाता अलमलिन सक्छन् । मतपत्रमा चिह्नका कोठा र निर्वाचन चिह्नका कारण पनि मत बदर हुन्छ । उस्तैउस्तै निर्वाचन चिह्न भएमा मतदाताले झुक्किएर दुवैतिर छाप लगाउन सक्छन् । स्वस्तिक छाप र त्यसमा प्रयोग हुने मसीको गुणस्तरले पनि मत बदर हुने जोखिम हुन्छ । मतदान गर्ने कोठाको प्रकाशको अवस्थाले फरक पार्छ । छाप लगाउन मतपत्र राख्ने टेबल हल्लिने अवस्थामा भएमा पनि मत बदर हुन सक्छ । वृद्ध र अशक्त मतदाताले मत दिँदा पनि बदर हुने सम्भावना हुन्छ । कतिपय निर्वाचनमा बहिष्कार गर्ने दलहरूले निर्वाचनमा सहभागी हुने तर मत बदर गराउने अभियान चलाउनाले पनि बदर मतको प्रतिशत उच्च हुन सक्छ ।
के गरेमा मतदाता शिक्षा प्रभावकारी हुन सक्ला त ?
हरेक निर्वाचनमा पुराना र अनुभवी मतदाता मात्र हुँदैनन् । नयाँ मतदाताका लागि मतदान नौलो हुन्छ र उनीहरूबाट मत बदर हुने जोखिम रहन्छ । फेरि प्रत्येक निर्वाचनमा मतपत्रको डिजाइन र साइज फेरिएको हुन्छ । त्यसले पनि मतदातालाई अलमल्याउँछ । त्यसैले, त्यस्तो अलमल नहोस् भनेर निर्वाचन आयोगले ‘डोर टु डोर’ अभियानमार्फत मतदातालाई शिक्षित गराउने अभियान चलाउँछ । तर, त्यतिले मात्र पुग्दैन । राजनीतिक दल र उम्मेदवारका तर्फबाट पनि नमुना मतपत्र लगेर मतदातालाई बुझाउन सक्नुपर्छ । गैरसरकारी संस्थाहरूले पनि यसमा सघाउनुपर्छ ।
बदर मत घटाउने अन्य उपाय के–के हुन सक्छन् ?
यसको सबैभन्दा प्रभावकारी उपाय भनेको इलेक्ट्रोनिक भोटिङ मेसिन (इबिएम) को प्रयोग हो । अन्यथा, कागजी मतपत्र हुन्जेल बदर मतको संख्या तलमाथि भए पनि शून्यमा झार्न सकिन्न ।