सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिनको खेल समाप्तिमा बुधबार भुवन नगरकोटीले ६ स्ट्रोकको अग्रता लिएका छन् । उनले उपाधि जित्ने सम्भावना मजबुत पारेका पारेका छन् । मिथिला नगरी आर्मी गल्फ क्लबमा भुवनले समग्रमा ७ अन्डर १३७ को स्कोर गरे । उनले दोस्रो स्थानमा संयुक्त रूपमा रहेका टंकबहादुर कार्की र भुवनकुमार रोकालाई ६ स्ट्रोकले पछि पारे । कार्की र रोकाले समग्रमा १ अन्डर १४३ स्कोर बनाए । सुमन परियार इभन पार १४४ स्कोरका साथ चौथो स्थानमा छन् । नेपालका नम्बर एक प्रोफेसनल गल्फर नीरज तामाङ १ ओभर १४५ स्कोरका साथ पाँचौँ स्थानमा रहे ।
पाँचौँ स्थानमा सुमन राई (७४) र धनबहादुर थापा (७४) छन । प्रोफेसनल गल्फर जयराम श्रेष्ठ र दिनेश प्रजापतिले ३ ओभर १४७ स्कोरसहित संयुक्त नवौँ स्थान बाँडे । जयरामले दिनकै उत्कृष्ट ३ अन्डर ६९ र दिनेशले २ ओभर ७४ खेले ।
८ ओभर १५२ को स्कोरमा कट लागू भएको थियो । जसमा १८ प्रोफेसनल र दुई एमेच्योर अन्तिम राउन्डमा प्रवेश गरेका छन् । प्रोफेसनलमा कुमार कामी, रवि खडका, रमेश अधिकारी, प्रदीपकुमार लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई, सविन सापकोटा र दीपक मगरले कट पार गरे । एमेच्योरतर्फ प्रकृत तामाङ ३ ओभर १४७ सहित शीर्ष स्थानमा छन् । उनी समग्रमा नवौँ स्थानमा छन् ।
नगरकोटीले फ्रन्ट नाइन २ अन्डर ३४ र ब्याक नाइनमा सबै नौ होलमा पार सेभ गर्दै इभन पार ३६ खेले । उनले पहिलो प्रतियोगितामा ५ अन्डर ६७ स्कोर गर्दै कोर्स रेकर्ड बनाएका थिए । कार्कीले फ्रन्ट नाइन १ अन्डर ३५ र ब्याक नाइन इभन पार ३६ स्कोर गरे । रोकाले दोस्रो र सातौँ होलमा बोगी खेलेपछि आठौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १ ओभर ३७ मा सकाए ।