राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

राजनीतिक दलहरू किन फुट्छन् ?
जब कुनै दलमा आन्तरिक लोकतन्त्रको कमी हुन्छ, तब सम्बन्धित दल फुट्छ । दलपतिहरूले शक्ति बाँडफाँडमा पार्टीका अन्य पक्षलाई भेदभाव गर्न थालेपछि पनि दलहरूमा टुटफुट आउन सक्छ । पार्टीका स्रोतको बाँडफाँडमा हुने एकलौटी निर्णयले पनि दलहरूमा विवाद बढाउँछ र फुट हुन सक्छ । भूराजनीतिक कारण पनि दलको फुटमा जिम्मेवार हुन सक्छ । मुलुकको आन्तरिक सत्तासितको सम्बन्धले पनि दलको फुटमा मलजल गर्न सक्छ । दलीय संरचना समावेशी नहुँदा पनि दलहरूमा टुटफुट आउन सक्छ । 

नेपाली कांग्रेसको फुटलाई कसरी हेर्नुभएको छ ?
कांग्रेसको आन्तरिक जीवनमा विवाद र बहस जसरी बढ्दै थियो, त्यसले पार्टीभित्र कुनै न कुनै दुर्घटनाको संकेत गरिरहेको थियो । पछिल्ला दिनमा कांग्रेसले आफ्नो मध्यमार्गी चरित्रलाई छोडिरहेको थियो । वामपन्थीहरूसितको गठजोडसँगै पार्टीभित्र आन्तरिक ध्रुवीकरण तीव्र हुँदै थियो । यस्तो परिस्थितिमा कांग्रेस फुटको डिलमा पुगिसकेको थियो । कांग्रेस नेताहरूका निकट विगतका गतिविधिले फुट अवश्यंभावी देखिँदै थियो । अन्तत: त्यो परिदृश्य सार्वजनिक भइछाड्यो । 

यो फुटले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला ?
जेन–जी आन्दोलनपछि पश्चगामी शक्तिहरू हौसिरहेका थिए भने राष्ट्रिय राजनीतिका शक्तिहरू आफैँमा छिन्नभिन्न भइरहेका थिए । नेपाली कांग्रेस राष्ट्रिय संरचना भएको शक्ति हो । उसमा आएको फुटका कारण राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र चुनावी प्रतिस्पर्धा कमजोर हुने देखिन्छ । यसले आगामी संसद्को गणित र भावी सरकारको स्वरूपमा समेत प्रभाव पर्न सक्छ । कांग्रेसको फुट उसको आन्तरिक मामिला या राजनीतिमा मात्र सीमित नरही यसले अन्य पार्टीबिचको सम्बन्ध या एक–अर्का दललाई हेर्ने दृष्टिकोणमै समेत प्रभाव पार्न सक्छ । 

सुझावित समाचार